सोमबार, चैत ९, २०८२

नेकपा (एमाले)

मुख्यमन्त्री भट्टकाे विपक्षमा मतदान गर्ने ओलीका ७ सांसदले बुझाए स्पष्टीकरण, नेपाल पक्षले कारवाही गर्ला ?

मेरोन्यूज २०७८ जेठ २६ गते १८:५९

काठमाडाैं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टकाे विपक्षममा मतदान गरेकाे नेकपा (एमाले)का ओली पक्षका ७ सांसदले स्पष्टीकरण बुझाएका छन् । उनीहरूले प्रदेश संसदीय दलमा स्पष्टीकरण बुझाएका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

स्पष्टीकरण साेधिएका सातै जनाले पार्टीको निर्देशन अनुसार नै मुख्यमन्त्रीविरुद्ध मतदान गरिएकाे व्यहाेराकाे जवाफ पेश गरेका छन् । संसदीय दलका नेता प्रकाशबहादुर शाहले प्रदेश संसदीय दलकाे ह्वीप उल्लंघन गरेर मुख्यमन्त्रीकाे विपक्षमा मतदान गरेकाे भन्दै उनीहरूलाई २४ घण्टे स्पष्टीकरण साेधेका थिए ।

प्रदेशसभा सदस्यहरु पठानसिंह बोहरा, लिलाधार भट्ट, रतन थापा, माया तामाङ, ग्याल्बु बोहरा, नेपालु चौधरी र बलदेव रेग्मीलाई स्पष्टीकरण सोधिएको हो । उनीहरूलाई आज अपराह्नसम्म स्पष्टीकरण पेश गर्न निर्देशन दिइएकाे थियाे । स्पष्टीकरण चित्तबुझ्दाे नभए राजनीतिक दलसम्बन्धी ऐन तथा पार्टी विधानअनुसार कारवाही हुने दलका नेता शाहले चेतावनी दिएका थिए ।

‘एमाले सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कमरेड कर्णबहादुर थापा र सचिव कमरेड राजेन्द्र रावलले जारी गरेको पत्रअनुसार प्रदेशसभा सदस्यहरुको अनिवार्य उपस्थिति गराइ मुख्यमन्त्री त्रिलोचन भट्टको विश्वासको मत लिने प्रस्तावको विरुद्धमा मतदान गर्न केन्द्रको निर्देशन अनुसार ह्वीपको पालना गरी मैले पार्टी विधि, विधान, सिद्धान्त र निर्णय अनुसार नै मुख्यमन्त्री त्रिलोचन भट्टको सरकारविरुद्ध मतदान गरेको व्यहोरा जानकारी गराउन चाहन्छु,’ स्पष्टीकरण पत्रमा भनिएकाे छ ।

एमालेभित्र एकले अर्कालाई कारवाही गर्ने श्रृंखला चलेका बेला सुदूरपश्चिममा नेपाल पक्षले ओली पक्षका सांसदमाथि कस्ताे कारवाही गर्ला भनेर चासाेका साथ हेरिएकाे छ । एमाले ओली पक्षले वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, भीमरावलसहित नेतालाई कारवाही गरिसकेकाे छ ।

प्रतिक्रिया