शुक्रबार, जेठ २, २०८२

बेलायती महारानीसमक्ष ओहोदाको प्रमाणपत्र पेश

मेरोन्यूज २०७८ जेठ २७ गते ७:०२

लण्डन । बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले बेलायती महारानीसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।

महारानी एलिजावेथ द्वितीयसमक्ष बकिङ्घम प्यालेसमा बुधबार आयोजित विशेष समारोहमा राजदूत रेग्मीले ओहोदाको प्रमाणपत्र पेश गरेको बेलायतस्थित नेपाली राजदूतावासले जनाएको छ ।

भर्चुअलरूपमा सम्पन्न उक्त समारोहमा प्रमाणपत्र बुझाएपछि राजदूत रेग्मीले महारानीसमक्ष नेपालका राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश पनि सुनाएका थिए ।

सन्देशमा राष्ट्रपति र प्रधानमन्त्रीले महारानीको सुस्वास्थ्यका साथै बेलायतको प्रगति र बेलायती जनताको समृद्धिको कामना गरेको दूतावासले उल्लेख गरेको छ ।

ओहोदाको प्रमाणपत्र ग्रहण गर्दै महारानीले राजदूत रेग्मीलाई सफल कार्यकालका लागि शुभकामना दिएकी थिइन् । साथै उनले बेलायत र नेपालबीच विशेष सम्बन्ध रहेको तथा नेपालको विकास प्रयासमा सहयोग गर्नु बेलायतको प्राथमिकता रहेको बताइन् ।

महारानीले आफ्नो दुईवटा ऐतिहासिक नेपाल भ्रमणको स्मरण गर्दै अहिले कोभिड–१९ का कारण नेपालको अवस्था र खोपबारे चासो व्यक्त गरेको राजदूत रेग्मीले बताए ।

राजदूत रेग्मीले बेलायत र नेपालबीच दुई शताब्दी लामो सम्बन्धको चर्चा गर्दै बेलायतले नेपाललाई सामाजिक तथा आर्थिक विकासमा पुर्‍याएको सहयोग तथा हालै कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा पुर्‍याएको सहयोगका लागि धन्यवाद दिएका थिए ।

रेग्मी बेलायतका लागि २१औं राजदुतका रूपमा हालै नियुक्त भएका हुन् ।

प्रतिक्रिया