आइतबार, चैत १०, २०८१

संस्कृतिविद् जोशीको स्वास्थ्य अवस्थामा सुधार

मेरोन्यूज २०७८ जेठ २८ गते २०:३५

ललितपुर । वाङ्यमय शताब्दी पुरुष सत्यमोहन जोशीको छातीमा समस्या देखिएपछि गत बुधबार साँझबाट ग्वार्काेस्थित किष्ट मेडिकल कलेजमा उपचार भइरहेको छ । छातीमा निमोनिया देखिएपछि जाेशीलाई भर्ना गरिएको कलेजका निर्देशक सुरज बज्राचार्यले बताए ।

उनले भने, “आज उहाँको अवस्था सामान्य भइसकेको छ । साविकसरह खानपिन पनि गर्न थालिसक्नुभयो । कोरोना रिपोर्ट नेगेटिभ आइसक्यो ।” जाेशीका भतिज तथा उद्योग वाणिज्य सङ्घ, ललितपुरका पूर्वाध्यक्ष अजरमान जोशीले शताब्दी पुरुषकाे स्वास्थ्यमा निकै सुधार भएको र आउँदो आइतबार घर फर्काइने सम्भावना रहेको बताए ।

गत वैशाख ३० देखि जोशी एक सय एक वर्ष पुरा गरी एक सय दुई वर्षमा प्रवेश गरेका छन् । मुलुकमा बढ्दै गइरहेको दोस्रो लहरको कोरोना महामारीबीच जोशी निवास बखुम्बहाल पुगेर उनको जन्मोत्सवको अवसरमा ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले सुस्वास्थ्य एवं दिर्घायुको कामना गरेका थिए ।

मदन पुरस्कारप्राप्त जोशीको मुहारअङ्कित रु १० को हुलाक टिकट पनि प्रकाशन भइसकेको छ । जोशीको नाममा नेपाल राष्ट्र बैंक टक्सार महाशाखाबाट उनकाे तस्वीर अङ्कित चाँदीको विभिन्न सिक्का समेत निस्कासन भइसकेको छ ।

प्रतिक्रिया