मंगलबार, चैत ५, २०८१

वर्षाका कारण सदरमुकाम जोड्ने राजमार्ग अवरुद्ध, विद्युत् आयोजना ठप्प

मेरोन्यूज २०७८ असार १ गते १५:१७

काठमाडौँ । अविरल वर्षाका कारण बाजुरा जिल्लाको सदरमुकाम जोड्ने साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ । राजमार्गका विभिन्न ठाउँहरुमा पहिरो आएपछि यातायात अवरुद्ध बनेको हो ।

राजमार्गको बार्जुगाडदेखि मार्तडीका विभिन्न ठाउँमा पहिरो आएपछि अवरुद्ध बनेको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए । उनका अनुसार बार्जुगाडको खोलादेखि मार्तडीसम्म पहिरो आउने क्रम नरोकिएकाले राजमार्ग अवरुद्ध भएको छ । राजमार्गको अम्कोटमा बढी पहिरो बग्न थालेपछि अन्य क्षेत्रभन्दा जोखिम रहेको छ ।

उनले दिएको जानकारी अनुसार सडक विभागलाई राजमार्गमा आएको पहिरो स्काइभेटर लगाएर पन्छ्याउन लगाएपनि वर्षा नरोकिएकाले बाटो खुलाउन सकिएको छैन ।

बार्जुगाड, बल्दे, अम्कोट, पानीनाउलालगायतका पाँच ठाउँमा पहिरो बग्न नरोकिएकाले राजमार्ग खोल्न तत्काल सम्भव देखिएको छैन । माथिबाट पहिरो खस्ने क्रम जारी रहेकाले तत्काल राजमार्ग खुलाउन कठिनाइ भएको प्रजिअ अधिकारीको भनाइ रहेको छ ।

जिल्लाका लागि धनगढीबाट खाद्यान्न लिएर आएका ट्रक र ट्याक्टरहरु बेतालमाडौंँमा रोकिएका छन् । राजमार्ग अवरुद्ध भएपछि बिरामीलाई जिल्ला बाहिर लैजान थप समस्या हुने भएको छ भने जिल्लामा खाद्यान्न समेत अभाव हुने देखिन्छ ।

यसैगरी जिल्लाको पूर्वी उत्तरी भेग जोड्ने मार्तडी–कोल्टी सडक पनि अवरुद्ध भएको छ । लगातारको वर्षासँगै बाउली खोला र अनै खोलामा पानीको बहाब बढेपछि सडक अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

मार्तडी–कोल्टी सडकका विभिन्न ठाउँहरुमा स–साना पहिरो खस्ने गरेकाले उक्त क्षेत्रको सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिए ।

मार्तडी घटमुना जोड्ने सडक पनि वर्षाका कारण अवरुद्ध बनेको छ । बाउली खोलामा पानीको बहाब बढेको र उक्त सडकको विभिन्न ठाउँमा स—साना पहिरो खस्ने गरेकाले सडक अवरुद्ध बनेको हो । गौमुल गाउँपालिकाको केन्द्र घटमुनासम्म जोडिएको उक्त सडकसँगै जिल्लाका अन्य ग्रामीण सडक समेत अवरुद्ध बनेका छन् ।

यस्तै, जिल्ला सदरमुकाममा रहेको त्रिवेणी साना जल विद्युत केन्द्रबाट हुने विद्युत् उत्पादन अनियमित हुन थालेको छ । विद्युत्को नहरमा बालुवा थुप्रिदै गएपछि विद्युत् सेवा अनियमित भएको जलविद्युत् केन्द्रका व्यवस्थापक दयाराम पण्डितले बताए ।

उनका अनुसार विद्युत् सञ्चालनका लागि ल्याएको बाउली खोलामा पानीको बहाब बढ्दै गएकोले नहरमा बालुवा भरिने गरेकाले विद्युत् अवरुद्ध हुने गरेको छ ।

प्रतिक्रिया