शुक्रबार, माघ २, २०८२

कास्कीमा खहरेखोलाले बगाउँदा महिलाको मृत्यु

मेरोन्यूज २०७८ असार २ गते ७:५३

कास्की । अविरल वर्षापछि बढेको खहरेखोलाले बगाउँदा कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ मा एक महिलाको मृत्यु भएको छ ।

गएराति करिब ८ः३० बजेको समयमा टुसे बस्ने ४० वर्षीया लिलादेवी परियारलाई खहरेखोलाले बगाएको वडाध्यक्ष वीरेन्द्र गुरुङले जानकारी दिए । महिलाको शव घटनास्थलदेखि २५ मिटर तल स्थानीय र प्रहरीले फेला पारेका थिए ।

प्रहरी चौकी घाचोकबाट गएको प्रहरी टोलीले महिलाको शव खोलाबाट बाहिर निकालेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

केही दिनदेखिको लगातारको अविरल वर्षाले जिल्लाका विभिन्न नदीमा पानीको सतह बढेको छ । पहिरोका कारण ग्रामीण सडकहरु अवरुद्ध बनेका छन् ।

जिल्ला प्रशासन कार्यालयले पनि हिजो साँझ सूचना जारी गरी जिल्लाका सेती, मर्दी, मादी, सार्दी, विजयपुर, हर्पनलगायतका नदीमा पानीको बहाव उच्च हुनसक्ने भएकाले नदी किनारमा बाढी, डुबान हुने तथा भिरालो र जोखिमयुक्त क्षेत्रमा पहिरो जान सक्ने हुँदा सचेत र सतर्क रहन अनुरोध गरेको छ ।

प्रतिक्रिया