माधव नेपाल र बाबुराम भट्टराईबीच भेटवार्ता
नेपाल निवास कोटेश्वर विपक्षी गठवन्धनका नेताहरुको वन्न थाल्यो भेटघाटको थलो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विरोधी मोर्चा बनाएका नेताहरुको केही अगाडिसम्म कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठ भेटवार्ता हुन्थे । देउवाका निवासमा नेताहरु ओहोर–दोहोर बाक्लो हुन्थ्यो ।
तर केही दिन यता भने एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधव नेपालको निवासमा जमघट शुरु हुन थालेका छन् ।
नेपाल निवासमा दुई दिन अगाडि कांग्रेस सभापति देउवा, महामन्त्री पूर्णबहादुर खड्का र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेता नेपालसँग सामूहिक भेटवार्ता गरेका थिए ।
समसामायिक विषयमा छलफल गदैं विपक्षी मोर्चालाई थप कसिलो बनाउने र प्रदेश तहसम्ममै गठबन्धन बलियो बनाउँदै लैजाने निष्कर्ष नेताहरुले निकालेका थिए ।
बुधबार भने जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई नेपाल निवास पुगेका छन् । एमाले वरिष्ठ नेता नेपालको कोटेश्वरस्थित निवासमा अहिले नेपाल र डा भट्टराईका बीचमा संवाद भइरहेको छ ।
केही बेर अगाडिबाट जारी भेटवार्ता मुलुकको राजनीतिक अवस्था, उत्पन्न संकटलगायत विषयमा केन्द्रित रहेर भइरहेको बताइएको छ ।
नेपाल एमालेको ओलीकै विरुद्धमा विपक्षी कांग्रेस-माओवादी र जसपाको उपेन्द्र–बाबुरामको संयुक्त मोर्चाबन्दीमा छन् ।
केही समययता नेता भट्टराईले व्यवस्था उल्टाउन ठूला चलखेल भएको र त्यसबाट मुलुकलाई बचाउन र गणतन्त्रको रक्षाकै लागि पनि ओलीको वर्हिगमन गर्नुपर्ने बताउँदै आइरहेका छन् । यस्तो बेला भट्टराई नेपाललाई भेट्न एक्लै नेपाल निवास कोटेश्वर पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
प्रतिक्रिया