मंगलबार, फागुन १२, २०८२

स्वस्तिमा र सुरविनको मित्रताले जुरेको समाज सेवा

नरेन्द्र रौले २०७८ असार ५ गते १५:२२

काठमाडौँ । हालैको एक साँझ अनानिक ब्युटी सैलुनका सञ्चालक सुरविन बान्तवा राई हतारमा भेटिए । सिन्धुपाल्चोकका बाढी पीडितका लागि राहत तथा सहयोग सामग्री जुटाउन उनी व्यस्त थिए । त्यही हतारोका बीच नयाँ बानेश्वरको एक क्याफेमा उनले खुलेर गफ गरे ।

Advertisement
nepal life insurencenepal life insurence

समाजसेवा भनेपछि हुरुक्क हुने सुरविन चुप लागेर बस्नै सक्दैनन् । उनलाई केही न केही गरिरहन मन पर्छ । अरुको भलाई र सेवामा समर्पित हुने स्वभाव नै छ । उनलाई साथ दिएकी अहिलेकी चर्चित नायिका स्वस्तिमा खड्काले । उनीहरूले केही दिनअगाडि चलचित्र क्षेत्रका प्राविधिकहरुलाई सहयोग प्रदान गरे । ५५ जनालाई खाद्यान्न वितरण गर्नुका साथै प्रत्येकलाई ६ हजार रुपैयाँ उनीहरुले सहयोग गरे ।

सुरुमा नायिका स्वस्तिमाले चलचित्र क्षेत्रका प्राविधिकहरुलाई सहयोग गर्ने प्रस्ताव राखिन् । उनका मित्र सुरविन तयार भइहाले । दुई जनाको सल्लाह र आफ्नो नेटवर्कको सहयोगले छोटो अवधिमै ४ लाख ७६ हजार रुपैयाँ जुटाउन सफल भए, उनीहरू ।

‘जागिर हुनेको केही पैसा होला । तर, दैनिक कामको भरमा गुजारा गर्नेलाई कति गाह्रो होला,’ स्वस्तिमाले भनिन्, ‘कतिले भाडा तिर्न समस्या भयो भनेर दुखेसो पोखेका छन् ।’

उनीहरूले गरेको सहयोगलाई स्वस्तिमाले राहत भन्न चाहिनन् । आफू र आफ्नो नेटवर्कका तर्फबाट सानो सहयोग मात्र भन्न रुचाइन् । यसमा उनले आफ्नोतर्फबाट २० हजार रुपैयाँ र सुरविनले ३० हजार रुपैयाँ सहयोग गरेका थिए । त्यसबाहेक विभिन्न कम्पनी र व्यक्तिहरुले सहयोग गरेका थिए ।

जब, कतै आपत र विपत्तिका खबर आउँछन्, त्यो बेला अनानिक ब्युटी सैलुनका सुरविन र नायिका स्वस्तिमा एक ठाउँमा उभिन्छन् । सकेको सेवा गर्न तम्सिहाल्छन् । सिन्धुपाल्चोकको बाढीले बितण्डा मच्चाएको खबर सुन्नासाथ उनीहरू सहयोगका लागि जुटे । छोटो समयमा भएको छलफलमा केही सहयोग जुटाउन उनीहरू सफल भए । संकलित रकमले ब्लांकेट, डसना, टेन्ट र खाद्य सामग्री किनेर शनिबार सिन्धुपाल्चोकतर्फको यात्रा तय गरे । यात्रामा कलाकार दीपाश्री निरौला पनि सामेल भइन् ।

स्वस्तिमाको दोस्ती सुरविन

सुरविन र स्वस्तिमाको दोस्ती गज्जबको छ । प्रायः हरेक काम उनीहरू मिलेर गर्छन् । मिलेर काम गर्दा सफल भइन्छ भन्नेमा ढुक्क छन्, उनीहरू । उनले स्वस्तिमासँगको सम्बन्धलाई दाजु–बहिनीभन्दा पनि माथि ‘बेस्ट फ्रेण्ड’ भन्न रुचाए । दुवैबीच राम्रो बोण्डिङ छ ।

चलचित्रमा क्षेत्रमा स्वस्तिमाको नाम स्थापित भइसकेको छ । त्यस्तै सुरविन पनि आफ्नो व्यवसायमा जमिसकेका छन् । नेपालका नामी सेलिब्रिटी, व्यापारी र विभिन्न क्षेत्रका व्यक्तिहरू उनको अनानिक ब्युटी सलोन एण्ड स्पामा आउने गर्छन् ।

अनानिकले नेपालमा ५ वटा ब्राञ्च खोलिसकेको छ । क्यानाडामा यसका दुई ब्राञ्च छन् । भोजपुर, पातलेपानी, बाख्रेम स्थायी घर भएका सुरविनको क्यानाडाको व्यापार दिदी जुनु देवीले सम्हाल्छिन् । जुनु देवीको उपनाम हो, अनानिक । त्यही नामबाट सैलुन खोलिएको हो । जुन अहिले सैलुनहरूको भीडमा आफ्नै ब्राण्ड बनिसकेको छ ।

मित्रता भएको लामो गोरोटो पार गरेका सुरविन र स्वस्तिमाबीच मनमुटावसम्म भएको छैन । बरु, एकअर्कालाई निःस्वार्थ रुपमा सहयोग पुर्याइरहेका छन् । कसलाई कसरी सहयोग गर्ने भन्न पर्दैन । दुवैलाई त्यसको महशुस भइहाल्छ । एक अर्काप्रति विश्वास र बेग्लै सम्मान छ ।

सुरुका दिनमा सुरविनले ट्राभल एजेन्सी चलाएका थिए । दिदीकै कारण सैलुन व्यवसायमा संलग्न भए । अहिले नेपालमा सबै सैलुनका ब्राञ्चहरू उनले नै सम्हालिरहेका छन् । शिक्षक राम बहादुरका छोरा सुरविनले आफ्नै पहिचान बनाइसकेका छन् ।

जसरी चलचित्रमा स्वस्तिमाको संघर्ष छ । त्यस्तै सुरविनको पनि आफ्नै संघर्ष छ । उनले आफ्नो संघर्षको कथा सुनाए ।

नेपालमा सन् २०१३ मा पहिलो पटक नयाँ बानेश्वरमा अनानिक सुरु भएको थियो । ९ जना कर्मचारीका साथ एक करोड रुपैयाँ लगानी भएको थियो । ‘व्यवस्थित, ठूलो र सुविधायुक्त थियो । मानिसहरू आउँदा तर्सिन्थे,’ उनी भन्छन्, ‘सीमित प्रोफेसनल व्यक्तिहरु आउँथे ।’

अनानिकमा अन्य ठाउँभन्दा बढी सुविधा भएकाले बैंकर्स, राजदूत, फाइभ स्टार होटेलका स्टाफ, स्कुल कलेजका सञ्चालक, एनजिओ, आइएनजिओका कर्मचारीको रोजाईमा पर्यो । त्यसबेलादेखि यो सैलुनका आफ्नै ग्राहकहरू छन् ।

अनानिकले पाँच वटा ब्राञ्चबाट अहिले ७० जनालाई रोजगारी दिँदै आएको छ । यो सैलुनले अरुभन्दा फरक तरिकाले जनशक्ति परिचालन गरेको छ । अमेरिका र अस्ट्रेलियामा तालिम लिएर फर्केका चार जना क्रियटिभ स्टाइलिस्ट छन् ।

काठमाडौँमा एरिया म्यानेजर तोकिएको छ । जसले सबै ब्राञ्चको निरीक्षण गर्छ । हरेक सैलुनमा क्रियटिभ स्टाइलिस्ट छन् । ग्राहकहरूको रुप, बनोटअनुसार हेयर स्टाइलको डिजाइन गर्ने काम गर्छन् ।

‘हाम्रो करिअर आफ्नै ठाउँमा छ, हामी समाज सेवामा पनि सक्रिय छौँ,’ सुरविनले सुनाए, ‘दश रुपैयाँ कमाउँदा एक रुपैयाँ समाजलाई नै योगदान दिनुपर्छ भन्ने मान्यता राख्दै आएका छौँ ।’

उता स्वस्तिमा पनि त्यही सोचाई राख्छिन् । कुनै न कुनै हिसाबले समाजलाई योगदान पुर्याउँनु पर्छ भन्ने उनको सोच छ । व्यक्तिगत स्वार्थभन्दा पर उठेर अरुका लागि समर्पित हुने सुरविन र स्वस्तिमाको सम्बन्ध कतिपयका लागि इर्ष्या लाग्दो छ । बेलाबेला अनेक गसिप बन्छन् । तर, यस्ता कुराले उनीहरूलाई कुनै फरक पार्दैन । स्वस्तिमा र सुरविनको सम्बन्ध नमुना नै छ ।

सम्बन्ध त यस्तो पो होस् । कसैले उदाहरण दिँदा निर्धक्क नाम लिन सकियोस् ।

प्रतिक्रिया