शनिबार, फागुन १६, २०८२

काठमाडौँ महानगरद्वारा १८ अर्वभन्दा बढीको बजेट विनियोजन

मेरोन्यूज २०७८ असार १० गते १३:४१

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि बजेट विनियोजन गरेको छ । महानगरले आगामि आर्थिक वर्षका लागि १८ अर्व ९५ करोड ७७ लाख १२ हजार रुपैयाँको बजेट विनियोजन गरेका छ ।

Advertisement
nepal life insurencenepal life insurence

काठमाडौं महानगरपालिकाको नगरसभाको नवौं अधिवेशनमा उपप्रमुख हरिप्रभा खड्गीले बजेट प्रस्तुत गरेकी हुन् । बजेटमा ‘साँस्कृतिक शहर, काठमाडौं महानगर’को नारा लगाएको छ ।

महानगरले चालुगत तर्फ ३ अर्ब ७५ करोड ७७ लाख, आर्थिक विकासतर्फ ५५ करोड, सामाजिक विकासतर्फ २ अर्ब ७० करोड, पूर्वाधार विकासतर्फ १० अर्ब ८० करोड र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १ अर्ब १५ करोड विनियोजन गरेको छ ।

बजेटमा कोभिड(१९ महामारी, विकास, महानगरवासीबाट प्राप्त सुझावहरू, विगतमा बजेट कार्यान्वयनमा देखिएका समस्याको सम्बोधन गरिएको उपप्रमुख खड्गीले बताइन् ।

बजेटमा कोभिड(१९ को रोकथाम, नियन्त्रण तथा उपचार, भौतिक पूर्वाधार विकास, फोहोरमैला व्यवस्थापन, लैङ्गकि समानता र सामाजिक समावेशीकरण, भाषा, संस्कृति तथा सम्पदा संरक्षण र प्रवर्द्धन जस्ता विषयलाई प्राथमिकतामा राखिएको छ ।

बजेटमा ज्येष्ठ नागरिकका लागि महानगर विशेष अस्पताल सञ्चालन गर्ने व्यवस्था गरिएको छ । महानगरपालिकाले महानगरवासीका लागि नेपाल सरकारको स्वास्थ्य विमा कार्यक्रममा ५० प्रतिशत विमा शुल्क व्यहोर्न बजेट विनियोजन गरेको छ । मेयर उज्यालो कार्यक्रम, प्रत्येक वडामा कम्तिमा एउटा सार्वजनिक शौचालय, प्रत्येक वडामा एक नमुना विद्यालय, प्रत्येक वडामा न्यूनतम एउटा पार्क निमार्ण गर्ने बजेटमा व्यवस्था गरिएको उप प्रमुख खड्गीले जानकारी गराइन् ।

त्यस्तै महानगरपालिकाले ज्येष्ठ नागरिक मिलन केन्द्र, मेलमिलापबाट स्थानीय विवाद समाधानलाई प्राथमिकता, अपाङ्गता भएका महानगरवासीहरुका लागि सहयोग, मानवअधिकार प्रवर्द्धन, लैङ्गकि समानता तथा सामाजिक समावेशीकरण, आधारभूत शहरी भौतिक पूर्वाधार, संस्कृति तथा सम्पदा संरक्षण, स्थानीय भाषाको संरक्षण र प्रवर्द्धन, उद्यमशिलता प्रवर्द्धन, विद्युतीय शासनको प्रवर्द्धन, युवासँग मेयर, पौरखी मेला, खेलकूदको विकास, जीवन निर्वाहका लागि पारिश्रमिक लगायतका कार्यक्रमका लागि पनि बजेट विनियोजन गरेको छ ।

बजेट विनियोज गर्दै उनले भनिन्, ‘२०७८ असार ६ गते पारित काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम, नेपालको संविधानर स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले तोकेका जिम्मेवारीहरू, पन्ध्रौं योजनाले निर्दिष्ट गरेका शहरी विकास एवम् अन्य विषयगत क्षेत्रका नीति, रणनीति र कार्यनीतिहरू, नेपाल सरकारको आर्थिक वर्ष २०७८र७९ को नीति तथा कार्यक्रम र बागमती प्रदेश सरकारका नीतिहरूलाई मध्यनजर गरी आगामी आर्थिक वर्ष २०७८र७९ को बजेट तथा कार्यक्रम तर्जुमा गरिएको छ ।’

प्रतिक्रिया