बुधबार, चैत ११, २०८२

कांग्रेसको प्रश्न : जातीय विभेदमा मन्त्रीको भूमिका व्यक्तिगत कि स्वेच्छाचारिता ?

मेरोन्यूज २०७८ असार ११ गते १७:१३

काठमाडौँ । नेपाली कांग्रेसले जातीय विभेद गरेको आरोपमा प्रहरी हिरासतमा रहेकी घरधनीलाई छुटाउन शिक्षामन्त्री सहभागी भएको घटनाले राज्यकै भूमिकामाथि गम्भीर प्रश्न उब्जाएको बताएको छ । आज विज्ञप्ति जारी गर्दै कांग्रेसले रुपा सुनार र सरस्वती प्रधानबीचको जातीय विभेद प्रकरणमा सरकारकै मन्त्रीको भूमिकाले एक पक्षधरताको प्रष्ट सन्देश दिन खोज्नु कानूनी र नैतिक कोणबाट प्रश्न उब्जिएको बताएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘दशक लामो हिंसाको अन्त्य गर्न हामी समर्थ भयौं, तर दलित समुदायमाथि अनेक प्रकृतिको हिंसा अन्त्य भएको छैन । नयाँ संविधान निर्माण गर्न हामी समर्थ भयौं, तर संविधान अनुरुप न्याय र समानताको संस्कार निर्माण गर्न सफलता प्राप्त भएको छैन । यस्तो परिस्थितिमा देश बन्ने/बनाउने परिभाषाभित्र सामाजिक रुपान्तरणको प्रश्नलाई गहन आत्मसात गर्दै नविन राष्ट्रिय विमर्श थालनी गर्न अत्यावश्यक भएको छ । हालैको एक घटनामा तपाईंको मन्त्रिमण्डलका एक मन्त्रीको व्यवहार अनि त्यसप्रति यहाँको मौनताले गम्भीर प्रश्न उठान गरेको छ ।’


शर्माले प्रधानमन्त्रीलाई सोधेका चार प्रश्न

१) घटनाको अनुसन्धान, कारबाही र समाधानको एउटा निश्चित विधि हुन्छ । राज्यवादी रहने मुद्दामा मन्त्रीको भूमिकाले एक पक्षधरताको प्रष्ट सन्देश दिनु कानूनी र नैतिक कुनै कोणबाट तार्किक र न्यायोचित छ प्रधानमन्त्रीज्यू ?

२) निश्चित घटना उजागर भएपछि त्यसको पक्ष–विपक्षमा नागरिक तहबाट धारणा व्यक्त हुंदै गर्दा बहसलाई तार्किक निष्कर्ष र न्यायको पक्षमा मोड्न, न्यायोचित समाधानको विधिमा समाजलाई आश्वस्त तुल्याउन, समाजमा आरोप–प्रत्यारोप एवं द्वन्द्व बढ्न नदिन जिम्मेवार राज्यले बिशेष सतर्कता र गम्भीरता राख्नुपर्दछ । त्यो जिम्मेवार भूमिकाबाट के राज्यलाई विमुख गराउन लागिएको हो प्रधानमन्त्रीज्यू ?

३) द्वन्द्व निरुपण होइन भड्काउलाई बल पुर्याउने मन्त्रीको भूमिका व्यक्तिगत स्वेच्छाचारिता कि राज्यकै प्रतिनिधित्व रु मन्त्रीले राज्यको प्रतिनिधित्व गरेका होइनन् भने अझै किन मन्त्री कायम ?

४) राज्यको भूमिका जिम्मेवारपूर्ण बनाउन सकिन्न भने हिजो गाइएका समानताका गीतहरू र आज संविधानमा लेखिएका न्यायका अक्षरहरूको मुल्य के बाँकी रहन्छ प्रधानमन्त्रीज्यू ?

शर्माले भने, ‘रुपा सुनार र सरस्वती प्रधानबीचको संवाद र विवादको मात्रै होइन, प्रश्न यो प्रकरणले उजागर गरेको हाम्रो समग्र अनुहारको धुलो सफा गर्ने या ऐना पुछ्ने भन्ने हो । हामी कस्तो समाज, कस्तो संस्कार र कस्तो न्याय प्रणाली स्थापित गर्न चाहन्छौं भन्ने प्रश्न हो । सस्तो राजनीति चाहन्छौं कि जिम्मेवार ढंगले विषयको उठान र निदान गर्ने राज्य व्यवस्था चाहन्छौं भन्ने पनि हो ।’

प्रतिक्रिया