आइतबार, पुष ६, २०८२

सुर्तिजन्य पदार्थको सेवन गर्नेमा नसर्ने रोगको जोखिम बढी

मेरोन्यूज २०७८ असार २२ गते १८:४१


काठमाडौं । सुर्तिजन्य पदार्थको सेवन गर्नेमा अन्यमा भन्दा बढी नसर्ने रोगको जोखिम हुने चिकित्सकहरुले बताएका छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र स्वास्थ्य पत्रकार मञ्च नेपालको सयुक्तं आयोजनामा नसर्ने रोग र कोभिड १९ को असर सम्बन्धी भएको अन्र्तक्रिया कार्यक्रम सुर्तिजन्य पदार्थको सेवन गर्नेमा शिरदेखि पाउँ सम्मका रोगहरु लाग्ने चिकित्सकहरुले बताएका हुन् ।

स्वास्थ्य अनुसन्धान परिषदका अनुसन्धान अधिकृत मेघनाथ धिमालले एक व्यक्तिले एक महिनामा एक हजार ५० रुपैयाँ सुर्तीजन्य पदार्थको सेवनमा खर्च गर्ने पाइएको जानकारी दिए ।

सन् २०१३ मा भएको सर्वेक्षणमा ३० दशमलव ८ प्रतिशतले सुर्तिजन्य पदार्थ सेवन गर्ने गरेको पाइएको थियो । जसमा पुरुष ४८ दशमलव १ प्रतिशत थिए भने, महिला १२ दशमलव १ प्रतिशत थिए । सन् २०१३ र २०१९ को तथ्यांकलाई हेर्दा सुर्तिजन्य पदार्थ सेवन गर्ने पुरुष बढेको देखिन्छ भने महिलाहरु घटेका परिषदको तथ्याकंले देखाएको छ । नेपालमा पहिला २१ वर्षमा सुर्तिजन्य पदार्थको सेवन गर्थे भने अहिले १७ वर्षमै सेवन गरेको देखिएको परिषदले जनाएको छ ।

यसैगरी, सुर्तिजन्य पदार्थको सेवनमा ढाड दुख्ने समस्या बढी देखिने गरेको स्वास्थ्य अनुसन्धान परिषदका उपाध्यक्ष एवम् स्पाईन सर्जन डा. गौरव ढकालले बताए ।
उनका अनुसार चुरोट तथा सुर्तिजन्य पदार्थ सेवन गर्ने व्यक्तिको शल्यक्रिया गर्नुभन्दा ६ हप्ताअघिबाट नै छोड्न लगाएर मात्र शल्यक्रिया गरिन्छ ।
यसैगरी, यदि सुर्तिजन्य पदार्थ सेवन गर्ने हात खुट्टा वा शरिरका कुनै पनि भागको हड्डी भाचिएमा जोडिन पनि लामो समय लाग्ने वा कतिपयको जोडिनै नजोडिने समेत समस्या आउने उनले जानकारी दिए । “धुम्रपान सेवन गर्नेमा यदि चोटपटक लागेर घाउँ भएमा पाक्ने समस्या बढाउने हुन्छ,” उनले भने, “सुर्तिजन्य पदार्थले शरिरलाई फाईदा गदैगदैन् जति चाँडो त्याग्नु नै पर्छ ।”
एक्सन नेपालका अध्यक्ष आनन्द बहादुर चन्दका अनुसार सुर्तिजन्य पदार्थको सेवन रोकथामका लागि राम्रो कानुन बनेको तर कार्यान्वयनमा आएन् ।
राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक डा.राधिका थपलियाले सूर्तिजन्य पदार्थ सम्बन्धि ऐनलाई कडाइका साथ कार्यान्वयनमा ल्याउन सके त्यसबाट हुने हानीलाई घटाउन सकिने बताईन् । सूर्तिजन्य पदार्थबाट मानिसमा क्यान्सर, दम, मुटू रोग लगायतको समस्या निम्तिनका साथै स्वास्थ्यमा गम्भीर असर गर्छ भन्ने जनचेतना तल्लो स्तरसम्म पु¥याउनुपर्ने जरुरी रहेको उनले जानकारी दिईन् । विश्वमा वार्षिक ८० लाख मानिसको मृत्यु धूमपानबाटै भइरहेको छ ।
मधुमेह रोग विशेषज्ञ डा.ज्योति भट्टराईले सुर्तिजन्य पदार्थको सेवन पहिलो चरणमा बन्द गर्नुपर्ने बताईन् । उनका अनुसार यदि तपाई सुर्तिजन्य पदार्थको सेवन गर्ने बानी त्यागेर दाल चिनि खानुहोस् ।
नेपाल क्यान्सर अस्पतालका डा. सुदिप श्रेष्ठले सुर्तिजन्य पदार्थको सेवन गर्नेमा क्यान्सरको उच्च जोखिम रहने बताए ।
सरकारले कानुन त बनायो तर कार्यान्वयनको पाटो फित्तलो भएको उनको भनाई छ । उनका अनुसार सुर्तिजन्य पदार्थको नियन्त्रणका लागि एउटा छुटै कार्यालय स्थापना गरी टिम नै बनाएर कार्यान्वयनमा लाग्नुपर्ने हो । उनलेभने “सुर्तिजन्य पदार्थको सेवन गर्नेमा लङ क्यान्सर मात्र हैन कि हेड्यान क्यान्सर पनि गराउँछ ।”
स्वास्थ्य पत्रकार मञ्च नेपालकी पुर्व अध्यक्ष कल्पना आर्चायका अनुसार सुर्तिजन्य पदार्थ रोकथामका लागि स्वास्थ्य पत्रकार पनि फिल्डमा उभिएका छन् । सुर्तीजन्य पदार्थ सेवन गर्ने व्यक्ति कोभिड–१९ सङ्क्रमणको उच्च जोखिममा हुने विज्ञहरुले बताएका छन् । सुर्तीजन्य पदार्थको सेवनले फोक्सो, मुटुमा असर गर्ने र सङ्क्रमणले पनि फोक्सो र मुटुलाई बढी असर गर्ने भएकाले जोखिम रहेको विज्ञहरुको भनाई छ ।

प्रतिक्रिया