झोलुङ्गेपुल बनेपछि एक घण्टाको बाटो २० मिनेटमा छोटियो

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ पाखापानीको घोप्टेखोलामा झोलुङ्गे पुल निर्माण भएपछि एक घण्टाको बाटो २० मिनेटमा छोटिएको छ ।
पूर्वाधार विकास कार्यालय म्याग्दीले पाखापानीको कमनाथ र कोटगाउँको सिमाना भएर बग्ने घोप्टेखोलामाथि २६५ मिटर लामो झोलुङ्गे पुल निर्माण गरेपछि यात्रा अवधि छोटिएको हो ।
कोटगाउँका रोशन पुनले भीर, जङ्गल र खोल्साको घुमाउरो र जोखिमयुक्त बाटोमा यात्रा गर्नुपर्ने समस्या हटेको बताए ।
“पहिले कोटगाउँबाट कमनाथ पुग्न एक घण्टा हिँड्नु पर्दथ्यो”, उनले भने, “पुल बनेपछि २० मिनेटमा पुगिन्छ ।”
पुल निर्माण भएपछि पाखापानीको कमनाथ, कोटगाउँ, रायखोर र मुलपानीका ५०० भन्दा बढी घरधुरी लाभान्वित भएका रघुगङ्गा–६ पाखापानीका वडाध्यक्ष मनकुमार शेरपुञ्जाले बताए ।
कमनाथमा रहेका वडा कार्यालय, स्वास्थ्यचौकी र अमर माविमा आउन जान स्थानीयवासीलाई सहज भएको छ । सबैभन्दा बढी सहज विद्यार्थी र ज्येष्ठ नागरिकलाई भएको छ ।
पुल निर्माणका लागि हिमशिखर÷जयलक्ष्मी जेभीले विसं २०७६ फागुन ९ गते दुई करोड ६२ लाख तीन हजार ४४३ मा ठेक्का सम्झौता गरेको थियो । २०७८ साउन ८ गते पुल निर्माण सम्पन्न गर्ने लक्ष्य थियो ।
निर्माण कम्पनीले लक्ष्यअघिनै पुल निर्माण गरेको पूर्वाधार विकास कार्यालयका प्रमुख नवराज पौडेलले बताए ।
निर्माण कम्पनीका कर्मचारी बाबुराम सापकोटाले कोरोनाको जोखिम, निषेधाज्ञा र बाढी पहिरोको असहज अवस्थामा पनि लक्ष्यअघिनै पुल निर्माण गर्न सफल भएको बताए ।
स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर मजदुर परिचालन र निर्माण सामग्रीको व्यवस्थापन गरेर पुल निर्माणलाई निषेधाज्ञामा निरन्तरता दिएको उनले बताए ।
धौलागिरि सेञ्चुरी पदमार्गमा पर्ने यो पुल पर्यटनका हिसाबले पनि महत्वपूर्ण बन्ने देखिएको छ । लामो दूरीको पुल अवलोकन गर्न पर्यटक आउने सम्भावना छ । यो म्याग्दीको दोस्रो लामो पुल हो । यसअघि रघुगङ्गा–१ बेग र बादुक जोड्ने ३६५ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको थियो ।
यसैबीच जिल्लाको मङ्गला गाउँपालिका–२ सिमलचौर र वडा नं ३ पखेरको सिमाना लुलीयाघाटमा म्याग्दी नदीमाथि पनि झोलुङ्गे पुल निर्माण भएको छ । करिब ९० मिटर लामो पुल निर्माणका लागि हिमशिखर–रामकृष्ण जेभीले २९ लाख २० हजार ७०९ मा ठेक्का लिएको थियो ।
















टस जितेर यूएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल
म्यानमारकी पूर्व नेतृ सुकीलाई नजरबन्दमा राखिने
विश्वकप लिग-२ : आज नेपाल र यूएई भिड्दै
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
७५ वर्षीय वृद्धको हत्या गरी लुटपाट गर्नेलाई सिआइबीले पत्ता लगायो
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
प्रतिक्रिया