शनिबार, माघ १०, २०८२

असंवैधानिक कदमलाई सच्चाएर कांग्रेस सरकार अघि बढ्छ : नेता सिंह

मेरोन्यूज २०७८ असार २९ गते १३:१६

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले दुई तिहाईको सरकारले विधिलाई मिचेर गरेको असंवैधानिक र अलोकतान्त्रिक कदमलाई सच्चाएर कांग्रेस नेतृत्वको सरकार अगाडि बढ्ने दाबी बताएका छन् ।

आज नेपाली कांग्रेस काठमाडौँ जिल्ला कार्य समितिको विशेष बैठकलाई सम्बोधन गर्दै नेता सिंहले कोरोना महामारीको खोप सबै जनतालाई व्यवस्था गर्ने बताए । कांग्रेस सरकारको प्रभावकारिता जनताले महसुस गर्ने गरी काम गर्ने उनले दाबी गरेका छन् ।

साथै, नेता सिंहले राष्ट्रपति र प्रधानमन्त्रीले गरेको असंवैधानिक कामलाई सर्वोच्च अदालतले सच्चाएको बताउँदै पछिल्लो फैसला देश र जनताको पक्षमा भएकाले अब कसैले संविधानमाथि प्रहार गर्ने हिम्मत गर्न नसक्ने बताएका छन् ।

अर्को प्रसंगमा उनले पार्टीलाई देश र जनताका लागि काम गर्न सक्ने सक्षम नेतृत्वको आवश्यकता रहेको बताएका छन् । १४ औँ महाधिवेशनले पार्टीलाई रुपान्तरण गर्न सक्ने नेतृत्व चयन गर्नु पर्ने उनको भनाई छ ।

उनले भने, ‘कांग्रेसले देशलाई महत्वपूर्ण अवस्थामा संकटबाट उन्मुक्ति गराउँदै आएकाले अबको नेतृत्व समय सुहाउँदो हुनु पर्ने छ ।’

प्रतिक्रिया