शनिबार, मंसिर ६, २०८२

मन्त्री छान्न तीन दलभित्रै कसरत, सकसमा देउवा र प्रचण्ड

मेरोन्यूज २०७८ असार २९ गते १७:२६

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले अहिले साँझ ६ बजे प्रधानमन्त्रीको शपथ लिँदैछन् । सर्वाेच्च अदालतले केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनको मुद्दामा सोमबार फैसला सुनाउँदै परमादेशबाट शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन भनेपछि देउवाको शपथ हुन लागेको हो ।

राष्ट्रपतिले देउवालाई प्रधानमन्त्री नियुक्त गरिसकेकी छिन् ।

शपथसँगै देउवाले आजै सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी गरेका छन् । यसैका लागि गठबन्धनमा रहेका कांग्रेस, नेकपा (माओवादी केन्द्र) , जसपाको उपेन्द्र पक्ष आन्तरिक तयारीमा जुटेका छन् । माधव नेपाल समूह र राष्ट्रिय जनमोर्चालाई पनि सरकारमा आउन देउवाले आग्रह गरेपनि उनीहरुले अहिले नै सरकारमा सहभागी हुने विषयमा केही बताएका छैनन् ।

सरकार गठनकै विषयमा सिंहदरबारमा दिउँसो देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका बीचमा छलफल भएको थियो । माओवादी केन्द्रले बिहान पार्टी स्थायी समिति बैठकमा यस विषयमा छलफल गरेका थिए । छलफलपछि प्रधानमन्त्रीकै नेतृतवमा गठबन्धनमा रहेका नेताहरुका शीर्ष नेता रहेको उच्चस्तरीय राजनीतिक संन्यत्र बनाउनुपर्ने गरी देउवासँग प्रस्ताव गर्ने निर्णय माओवादी केन्द्रले गरेको थियो ।

त्यही आधारमा सिंहदरवारमा देउवासँगको भेटमा प्रचण्डले त्यस्तो प्रस्ताव राखिसकेका छन् । देउवाले सकेसम्म कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका दुई -दुइ जना समेटेर आजै ७ सदस्यीय मन्त्रिमण्डल बनाउन चाहेका छन् । त्यसाे हुन नसके पनि उनले कांग्रेस र माओवादीका एक/एक जनालाई समेटेर भएपनि ३ सदस्यीय मन्त्रिमण्डल भने बनाउनेछन् ।

त्यसैका लागि कांग्रेस, माओवादी केन्द्र र जसपाको आन्तरिक छलफल गरिरहेका छन् ।

कांग्रेसमा देउवालाई मन्त्री छान्न सकस छ । उनले बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्की मध्येबाट मन्त्री बनाउन चाहेका छन् । तर पहिलो चरणमै वरिष्ठ नेता रामचन्द्र पौडेलको आग्रहका आधारमा मन्त्रीमा समेटनुपर्ने दबाबमा देउवा छन् । अझ संस्थापन इतरका शेरखर कोइरालाले पनि मन्त्री बनाउने छुट्टै लिष्ट नै फोन गरेर देउवालाइ टिपाएको बताइन्छ । पौडेल पक्षबाट मीनेन्द्र रिजाल र सञ्जय गौतममध्ये एक जनालाई मन्त्री बनाउने गृहकार्य छ। गगन थापालाई स्वास्थ्यमन्त्री बनाउनु पर्ने कुरा पनि उत्तिकै कांग्रेसमा उठेको छ ।

यता माओवादी केन्द्रमा पनि मन्त्रीका आकांक्षी बढी देखिँदा प्रचण्डलाई मन्त्री छान्न सकस परेको छ । पम्फा भुसाल, जर्नादन शर्मा, देवेन्द्र पौडेललगायत नेताहको चर्चा पहिलो चरणमा भइरहेको छ । मन्त्री छनाेटका लागि प्रचण्डले नेताहरुसँग छलफल गरिरहेका छन् ।

उता जसपाको उपेन्द्र पक्षको छलफल बसिरहेको छ । बालकुमारीस्थित पार्टी कार्यालयमा जसपा पनि छलफलमा छ । आजै पहिलो चरणमै सरकारमा जाने या केही दिन पछि भन्नेमा पनि जसपामा बहस छ ।

प्रतिक्रिया