लागुऔषधको ‘ट्रान्जिन्ट प्वाइन्ट’ बन्दै सर्लाही, चालु आर्थिक वर्षमै १३० जना प्रहरी नियन्त्रणमा

काठमाडौं । सर्लाहीको नेपाल–भारत सीमा क्षेत्रबाट धमाधम लागुऔषध कारोबारी पक्राउ पर्न थालेका छन् । एक महिनाको अवधिमा दर्जनौँ तस्कर लागुऔषधसहित प्रहरीको फन्दामा परिसकेका छन् ।
नेपालबाट भारततर्फ गाँजा लैजाने तस्कर उताबाट फर्किँदा आफ्नो साथमा डाइजापाम, टेन्टेक्स, फेन्साडिल, कोडेक्सलगायतका प्रतिबन्धित लागुऔषध लिएर नेपाल भित्रिने क्रममा पक्राउ पर्ने गरेका प्रहरीले जनाएको छ ।
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि जारी गरिएको लकडाउनका कारण केही समय सुस्ताएको अवैध लागुऔषधको ओसारपसार फेरि बढेको पाइएको हो ।
पछिल्लो समय जिल्लास्थित नेपाल–भारत सिमानाको यो क्षेत्र लागुऔषध ओसारपसारका लागि ‘ट्रान्जिट प्वाइन्ट’ बन्न थालेको छ ।
छिमेकी जिल्ला सिन्धुली र मकवानपुरमा उत्पादन भएको गाँजा जिल्लाको बागमती, लखन्देही र बाँके नदीको बाटो प्रयोग गरेर तस्करहरुले भारतीय बजारमा पु¥याउने गरेका छन् ।
खोलाको बाटो हुँदै लुकाइछिपाइ लगिएको गाँजा भारतीय सीमामा लगेर महङ्गो मूल्यमा बेच्ने गरेको पक्राउ परेकाहरूले प्रहरीसमक्ष बयान दिएका प्रहरीले जनाएको छ ।
सर्लाहीसँग सीमा जोडिएको सिन्धुलीको मरिण र हरिहरपुरगढी क्षेत्रबाट व्यापक मात्रामा गाँजा ल्याउने गरिएको प्रहरीले बताएको छ ।
ती तस्करलाई गोप्य सूचनाका आधारमा जिल्लाको उत्तरी क्षेत्रमा रहेको लालबन्दी, हरिवन र बागमतीमा प्रहरी युनिटलाई सक्रिय पारेर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाही स्रोतले जनाएको छ ।
गाँजाको ओसारपसार रोक्न सिन्धुलीबाट आउने जिल्लाको उत्तरी भेगका भित्री सडक, नदीको बाटो तथा नेपाल–भारत सीमानाकामा कडाइका साथ निगरानी र जाँच बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए ।
उनका अनुसार चालु आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालय सर्लाहीले जिल्लाका विभिन्न स्थानबाट लागुऔषध ओसारपसार गर्ने १३० जनालाई नियन्त्रणमा लिएको छ ।
त्यस्तै ८८ वटा मुद्दा दर्ता गरी अनुसन्धान कारवाही गरिएको प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी माधवप्रसाद बुढाथोकीले जानकारी दिए । उहाँका अनुसार १२५ पुरुष, एक महिला र चार विदेशी पुरुष रहेका छन् ।
त्यस्तै बरामद भएका लागुऔषधमा नाइट्रोसन र नाइट्राभेट सात हजार ३५३ ट्याब्लेट, नाइट्राभेट एम्पुल एक हजार २६४, कोरेक्स, ओनरेक्स दुई हजार ५७४ बोतल, गाँजा १३५ किलो ७५० ग्राम, इन्जेक्सन १५८ र चरेस ५०० ग्राम रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राठौरले जानकारी दिए ।
भारतको सोनवर्षा, भुतही, सीतामढीबाट ल्याइएका लागुऔषध नेपाल–भारत सीमा हनुमानचोक ९रामनगरा०, कन्हौली भाँडसर र त्रिभुवननगर गाउँ नजिकैको सोनवर्षा बजारमा बसोबास गर्ने स्थानीय व्यक्तिसँग सम्पर्क मिलाएर उनीहरुको घरमा लुकाएर राख्ने र पछि सुरक्षाकर्मीको आँखा छलेर मलङ्गवा, भेल्ही, भाँडसर, पर्सा, नारायणपुर, सङ्ग्रापुर, त्रिभुवननगर हुँदै नेपाल भित्र्याउने गरेको स्रोतले जनाएको छ ।
नेपाल–भारत सीमा नजिकका भारतीय गाउँ तथा बजारमा तस्कर दिनहुँजसो जमघट हुने गरेका छन् । जिल्लाको ५१ किलोमिटर खुला सिमाना रहेको, नेपालीहरुको खेतीपाती भारततिर र भारतीय नागरिकको खेतीपाती नेपालतिर रहेका कारण पनि गैरकानूनी क्रियाकलाप नियन्त्रणमा केही समस्या देखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । रासस















पर्वतमा ८ वर्षमा २०४ किलाेमिटर सडक कालोपत्र
राष्ट्रिय सभा निर्वाचनः अहिलेसम्म कहाँ कति खस्यो मत ?
5 people dead in south India fire incident
डोङफेङद्वारा विश्वकै सबैभन्दा ठूलो १६ हजार टन डाइ–कास्टिङ उत्पादन लाइन सञ्चालनमा
Gold, silver prices set new record
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
सभापति बनेको ८ दिनपछि पार्टी कार्यालय प्रवेश गर्दै गगन थापा, प्रधानमन्त्रीको उम्मेदवार बनाइने
प्रतिक्रिया