कांग्रेसमा क्रियाशीलको लफडा : कसरी होला महाधिवेशन
चार जिल्ला र प्रदेश दुईका निर्वाचन क्षेत्रका विवाद थाती, सय वटा वडामा १३ औँ महाधिवेशनकै मान्यता

काठमाडौँ । नेपाली कांग्रेसको आगामी भदौ १६ देखि १९ गतेसम्मका लागि तय भएको महाधिवेशनको मिति सर्ने निश्चितजस्तै भएको छ । महाधिवेशन प्रयोजनार्थ क्रियाशील सदस्यता छानबिनमा विवाद व्यापक बढेपछि महाधिवेशन नहुने निश्चित छ ।
क्रियाशील सदस्यता छानबिन समितिले मंगलबार बिहान ९ बजे छानबिन प्रतिवेदन बुझाउनलाई प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाको समय मागेको छ । तर, छानबिन समितिले विवाद जिउका तिउ राखेर प्रतिवेदन बुझाउन लागेकाले महाधिवेशनबारे संशय पैदा भएको हो ।
छानबिन समितिका अनुसार चार जिल्लाको विवाद मिलाउन नसकेको भन्दै विवाद सभापतिमार्फत केन्द्रीय समितिमै फिर्ता गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । सप्तरी, बारा, सिन्धुपाल्चोक र रसुवाको विवाद यथावत राखेर केन्द्रीय समितिमा फर्काइएको हो । यस् सबै जिल्लामा अन्य पार्टीबाट पार्टीमा समायोजन भएकाबारे विवाद रहेको छानबिन समितिका प्रवक्ता प्रदीप पौडेलले जानकारी दिए ।
पूर्वनिर्धारित तालिकाभन्दा करिब एक महिनापछि प्रतिवेदन बुझाउन लागेको समितिले देशभर करिब एक सय वडामा १३ औं महाधिवेशनकै क्रियाशील सदस्यतालाई मान्यता दिन सिफारिश गरेको छ । विवाद भएका स्थानमा बाहेक भने सर्वसम्मतिले सदस्यता सिफारिस भएको पौडेलले बताए ।
सबैभन्दा बढी विवादित प्रदेश दुईका सप्तरी र बारा जिल्लाको क्रियाशील सदस्यतामा सहमति जुट्न नसक्दा बारा र सप्तरीमा नयाँ र समायोजनलाई स्थगन गर्न समितिले सिफारिस गरेको छ । ‘यी दुई जिल्लामा निकै समस्या देखियो । विवाद पनि जटिल खालको भएकाले यसपटक नयाँ र समायोजनलाई हामीले स्थगन गर्ने निर्णय गरेका छौं,’ उनले भने ।
समायोजनका विषयमा सिन्धुपाल्चोक र रसुवामा विवाद देखिएको छ । समितिले यी दुई जिल्लाबारे निर्णय गर्न केन्द्रीय पदाधिकारीलाई सिफारिश गरेको हो । बाराका कांग्रेस नेता कार्यकर्ता दुई समूह बनाएर १५ दिनदेखि पार्टी कार्यालय सानेपामा छुट्टाछुट्टै समूहमा धर्ना बसिरहेका छन् ।
प्रवक्ता पौडेलका अनुसार धनुषा क्षेत्र–४ मा १३ औं महाधिवेशनकै क्रियाशील सदस्यतालाई लिएर विवाद कायमै भएकाले नयाँ र समायोजनमा विवाद देखिएको छ । सर्लाही क्षेत्र नं २ मा समायोजनका विषयमा देखिएको विवाद कायमै रहेपछि १३ औं महाधिवेशनकै क्रियाशील सदस्यतालाई मान्यता दिइएको छ । सर्लाही–२ मा तत्कालीन राजपाका नेता जंगीलाल यादव कांग्रेस प्रवेश गरेका थिए । उनलाई दिइएको क्रियाशील सदस्यताका विषयमा अर्को पक्षले असन्तुष्टि जनाएको हो ।
समितिले क्रियाशील सदस्यको संख्या ८ लाख ५३ हजार पुर्याएको छ । करिब १२ हजार नयाँ र समायोजनको सदस्यता स्थगन गरिएको छ । समितिका अनुसार ३५ देखि ४० हजारले सदस्यता नवीकरण गरेनन् ।
क्रियाशील सदस्यताको विवादले १२ साउनका लागि तय भएको वडा अधिवेशन स्थगित भइसकेको छ । अन्य स्थानीय अधिवेशनको पनि कार्यतालिका प्रभावित हुने निश्चित छ । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले क्रिायशील सदस्यता छानबिन समितिले प्रतिवेदन बुझाएपछि आन्तरिक कार्यतालिका परिवर्तन गर्ने गृहकार्य भइरहेको जानकारी दिए ।
















विदेश पठाउने भन्दै २७ लाख ८० हजार ठगी गर्ने तीन जना पक्राउ
प्रतिनिधिसभा सदस्य निर्वाचनः निर्वाचन आचारसंहिता कडाइका साथ पालना गराउन उद्योगीको माग
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना
निर्वाचन ३९ दिन बाँकीः उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक
प्रतिक्रिया