एमाले एकता प्रयास
कति थेग्लान् माधव नेपालले आफ्नै समुहभित्रको ‘प्रेसर’ ?
केपी ओलीले माधव नेपालसामु दुई अध्यक्षको प्रस्ताव पठाएका छन् । तर नेपाल ओलीको प्रस्तावमा विश्वस्त बन्न सकिरहेका छैनन्

‘अनन्तकालसम्म पार्टीभित्रको विवाद किन लम्बाइरहने ? पार्टीको आन्तरिक विवाद यसरी लम्बिरहँदा क्षति पार्टीलाई नै छ कमरेड ! अब विवाद टुंग्गाएर जाऔं । कार्यदलको १० बुँदे प्रस्तावमा धेरै कुरा हामीले उठाएका विषय सम्बोधन भएर आएको छ । त्यसमाथि सम्मानजनक एकताका लागि ‘पावर सेयरिङ’को प्रस्ताव आएकै छ, अनि अझ किन अल्झिरहने ? अब पार्टी विवाद मिलाएर जाऔँ !’
बुद्ध नगरको ‘क्वालिटी ब्याङ्केट’ मा सोमबार माधव नेपाल पक्षको स्थायी कमिटी बैठकमा भीम रावलले माधव नेपाललाई सम्झाउँदै थिए ।
गत साउन ७ गते बिहीबार बराबरी हैसियतको दुई अध्यक्षसहितको व्यवस्था गर्ने गरी एमाले विवादमा पावर सेयरिङको प्रस्ताव बोकेर उपमहासचिव विष्णु पौडेल र सुवास नेम्वाङ माधव नेपाल भेट्न नेपाल निवास कोटेश्वर पुगेका थिए ।
ओलीका तर्फबाट दूत बनेर पुगेका पौडेल र नेम्वाङले राखेको प्रस्तावमा माधव नेपालले खास थप प्रतिक्रिया दिएका थिएनन् । ‘साथीहरूसँग तपाईहरूको यस्तो प्रस्तावमा थप छलफल गर्छु’ भन्दै उनले नेम्वाङ र पौडेललाई निवासबाट बिदा गरेका थिए ।
त्यही दिन च्यासलको तुल्सीलाल स्मृति प्रतिष्ठानमा केपी ओलीले बोलाएको एमालेको केन्द्रीय कमिटीको समापन बैठक बस्दै थियो । ४ साउनदेखि शुरु केन्द्रीय कमिटी बैठकको सुरुवातमै ओलीले कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिएको भन्दै नेपालसहित २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय लिएका थिए । यस विषयमा अब औपचारिक निर्णय लिने अघिल्लो दिन (६ साउनमा) नै ओलीले बताइसकेका थिए ।
नेपालसामु दुई अध्यक्षको प्रस्ताव पठाएर ७ साउनको पुष्पलाल स्मृति दिवसको कार्यक्रममा ओलीले माधव नेपाल समूहलाई आममाफी दिने कुरा गरे । ‘बाटो बिराएका र भड्किएका साथीहरूलाई पनि आग्रह गर्न चाहन्छु, यस पार्टी र आन्दोलनको एकताका लागि पुष्पलाललाई सम्झिएर भन्न चाहन्छु, सबैलाई एम्नेष्टी इज ग्रान्टेड, आउनुहोस् मिलेर काम गरौँ,’ ओलीले त्यसदिन सार्वजनिक मञ्चबाट बोलेका थिए । त्यसपछि त माधव नेपाल झन आक्रोशित भए ।
एकातिर सम्मानजनक एकताका लागि बराबरी हैसियतका दुई अध्यक्षको प्रस्ताव बोकेर नेताहरु पठाउने र अर्काेतिर फेरि अपराधी झै आममाफी दिने घोषणा गर्ने काम भएपछि माधव नेपाल थप बिच्किए । तर, त्यसै दिन ओलीले पार्टीमा नेपाल समूहलाई सोधेको स्पष्टीकरण फिर्ता लिनेदेखि पार्टी एकताको जिम्मा आफैले लिने निर्णय लिए ।
तर, ओली र नेपाल अझै भेटवार्ताको तय भएको छैन । ओलीको प्रस्तावमा न माधव नेपालले आफू निटकका स्थायी कमिटी सदस्यसँग परामर्श गरे, न कसरी जाने भन्नेमा थप छलफल गर्न चाहे । उनले आफ्नै समूहका स्थायी कमिटी सदस्यसमेत अब ओलीतिरै मिल्न जान सक्ने ठानी नेपाल चुपचाप आफ्नै योजनामा लागिरहेका थिए ।
स्थायी कमिटीमा छलफलका लागि नेपालमाथि नेताहरुको दबाब बढ्दो थियो । तर नेपालले छलफल डाँकिरहेका थिएनन् । शनिबार सत्ता गठबन्धनको बैठकमै माधव नेपाल सहभागी हुन बालुवाटार पसेपछि भने उनको समूहका नेताहरुको धेरै नै दबाब नेपालमाथि पर्यो । त्यसपछि भने उनले आइतबार र सोमबार क्वालिटी ब्याङ्केटमा बैठक बोलाएका हुन् ।
त्यही बैठकमा नेपाललाई उनकै समूहका नेताहरुले ओलीसँग सम्वाद गर्न र पार्टीभित्रको विवाद अब धेरै नतन्काउन सुझाएका हुन् । शनिबार सत्ता गठबन्धनको बैठकका लागि बालुवाटार पुगेका माधव नेपालको त्यस कार्यको आलोचना गर्दै एकताका लागि बन्दै गरेको वातावरण नभत्काउन नेपालसँग आग्रह गरेको एक स्थायी कमिटी सदस्यले मेरोन्यूजलाई बताए ।
पार्टी मिलाउन ओलीले शुरुमा नेपाललाई दोस्रो अध्यक्ष दिन तयार रहेको सन्देश पठाएका थिए । तर, पछि पहिलो र दोस्रो भन्ने भन्दा पनि बराबरी हैसियतका दुई अध्यक्ष, निर्णय प्रक्रियामा दुवै अध्यक्षको हस्ताक्षरसम्मको अधिकार र निकट दिनमै विधान महाधिवेशन गरेर त्यसको व्यवस्था गर्नेसम्मको प्रस्ताव ओलीका तर्फबाट नेम्वाङ र पौडेलले नेपालसामु राखेका थिए ।
तर, नेपाल ओलीका तर्फबाट आएको प्रस्तावमा अझै विश्वस्त हुन सकेका छैनन् । नेपाललाई आफ्नो समूहका नेता–कार्यकर्ताको व्यवस्थापन, सम्मानजनक एकता र आउने चुनावमा समानुपातिक टिकट वितरणका लागि पनि पावर सेयरिङ नमिल्दासम्म ओलीसँग मिल्न जान नहुने दबाब कार्यकर्ता तहमा थियो ।
त्यही कारण नेपाल सम्मानजनक एकताको पक्षमा मात्रै चट्टानी अडान दोहोराइरहेका थिए । दुवै पक्षका कार्यदलका नेताहरुले असार २३ मा ओली र नेपालबीच भेट गराउँदा नेपालको चासो सम्बोधन हुने गरी ओलीले नयाँ ठोस प्रस्ताव राख्ने सन्देश पहिले पठाएका थिए । त्यसपछि मात्रै मेरियट होटलमा ओलीसँग भेट्न नेपाल तयार भएका थिए । तर, त्यो भेटमा नेपालले सन्देश पाए झै ओलीका तर्फबाट कुनै ठोस प्रस्ताव पाएनन् ।
माधव नेपाललाई लागेको छ, ‘अहिले नेम्वाङ र पौडेलले ल्याएको प्रस्ताव ठोस रुपमा आएकै होइन । ओलीले झुक्याउने, अलमलाउने मेसोको रुपमा मात्र अनेक फण्डा चालेको बुझाईमा नेपाल छन् । आफूलाई पदलोलुप देखाउन मात्रै अहिले अध्यक्ष दिने खालको प्रस्ताव ओलीको तर्फबाट पठाइएको नेपालमा परेको छ । त्यही कारण पनि उनी सितिमिति ओलीसँग सम्झौता गर्ने पक्षमा देखिएका छैनन् ।
आइतबार र सोमबार उनी निकट स्थायी कमिटीमा पनि उनले ओलीप्रति विश्वास भावमा कुरा राखेका छैनन् । ‘ओलीलाई तपाईहरूले के चिन्नु भएको छ, जति महिले चिनेको छु, उनलाई बेइमानीमा कसैले उछिन्नै सक्दैन,’ नेपालले आफूनिकट स्थायी कमिटी नेताहरुसँगको छलफलमा त्यही धारणा दोहोराएका थिए ।
नेपाल अहिले आफू निकट स्थायी कमिटीमै अप्ठायारोमा छन् । आफैले बढी विश्वास गरेका भीम रावल सबैभन्दा बढी एकता पक्षधर देखिएर वकालत गरिरहेका छन् । तर, नेपाल ओली र उनका पक्षका नेताहरुले ल्याउने प्रस्ताव, कार्यदलमा रहेर आफ्नै समूहका नेताहरुले खेलेको भूमिका लगायतमा समेत विश्वस्त हुन सकेका छैनन् ।
कार्यदलमा रहेका नेताहरु सक्दा सम्मानजनक, नभए पनि १० बुँदेमा टेकेर एकताबाहेक अर्को विकल्पमा छलफल हुन नसक्ने अडानमा देखिन थालेका छन् । अब पनि पार्टी एकता नेपालले माने पनि नमाने पनि हुने बताउन थालिसकेका छन् । स्थायी कमिटीकै युवराज ज्ञवाली, अमृत बोहोरा, अष्टलष्मी शाक्यलगायत नेताहरु सम्मानजनक एकता हुँदा एकतामा जाऔँ माधव कमरेड भन्न थालिसकेका छन् ।
नेपालको विश्वासमा काम गर्नुपर्ने र पूर्ण विश्वास नहुँदासम्म अझै हत्तारिनु नहुनेमा वेदुराम भुषाल र मुकुन्द न्यौपाने देखिएका छन् । तर, भुषाल र न्यौपानेले अर्काे दल गठनभन्दा एकतामै जोड छोडेका छैनन् । तर, तेस्रो पुस्ताका नेताहरु जगन्नाथ खतिवडा, विरोध खतिवडा, राजेन्द्र राई, मेटमणि चौधरी, डा. विजय पौडेललगायत नेताहरू भने माधव नेपाल जत्तिकै चट्टानी अडानमा छन् । ओलीले अध्यक्ष नछोडेसम्म एकता सोच्नै नसकिने उनीहरूको अडान देखिन्छ ।
तर नेपालमाथी नेताहरुले एकतामै जोड गरेपछि नेपालले फेरि एकपटक विष्णु पौडेल र सुवास नेम्वाडसँग पहिले सम्वाद गर्ने र त्यसपछि मात्र ओलीसँग वार्ता गर्ने मुड देखाउका छन् ।
‘मलाई त अझै विश्वास छैन ओलीको, तैपनि तपाईहरूको त्यही कुरा छ भने अझै म एकचरण विष्णु पौडेल र सुवास नेम्वाडसँग छलफल गर्छु । त्यसपछि ओलीसँग सम्वाद गरौँला’, नेपालले सोमबार स्थायी कमिटी बैठक समापन गर्दै भनेका थिए, ‘त्यसका लागि रावल कमरेडले वातावरण बनाउनुस् ।’










नबिल बैंकद्वारा मास्टरकार्ड डेविट कार्ड जारी, ग्राहकले प्रिमियम सुविधा पाउने
९५७ ग्राम खैरो हिरोइनसहित चार जना पक्राउ
एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत, सेना परिचालन गर्न रक्षा मन्त्रालयलाई पत्र
शेयर बजार र घरजग्गा कारोबार चलायमान बनाउन आवश्यक: अर्थमन्त्री खनाल
निर्वाचन आयोगमा नयाँ दल दर्ता र खारेजीको क्रम जारी
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
सन्तोष परियारले छाडे रास्वपा
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
एनपीएलको टिकट बुकिङ खुला, मूल्य ५ सयदेखि २ हजारसम्म
प्रतिक्रिया