अस्मिता धामी हत्याको ४२ दिन, कहाँ पुग्यो अनुसन्धान ?
काठमाडौं । डडेलधुरा जिल्लाको परशुराम नगरपालिका–८स्थित जमरानी आधारभूत स्वास्थ्य सेवा केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी अस्मिता देवी धामीको हत्या पुष्टि भएको ४२ दिन हुँदा पनि प्रहरीले अभियुक्त फेला पार्न सकेको छैन ।
उनको २ असारमा हत्या भएको थियो भने प्रहरीले ६ असारमा मृत अवस्थामा फेला पारेको थियो । उनको हत्याको पुष्टि भएको आज ४२ दिन भएको छ । तर प्रहरीले यस घटनामा संलग्न कुनै अभियुक्तलाई कारवाहीको दायरामा ल्याउन सकेको छैन ।
घटना घटेको झण्डै डेड महिना पुग्दासमेत उनको स्वास्थ्यको रिपोर्ट नआउँदा अनुसन्धानमा ठोस उपलब्धी हुन नसकेको प्रहरीले जनाएको छ । अनुसन्धान जारी रहेको बताउदै जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरिक्षक (इन्सपेक्टर) यज्ञराज भट्टले स्वास्थ्य रिपोर्ट आए अनुसन्धानमा थप मद्दत पुग्ने बताएका छन् ।
उनले भने, ‘हामीले विभिन्न दायराहरु छुट्याएर विभिन्न तवर र तरिकाबाट अनुसन्धानमा निरन्तरता दिएका छौं । तर, स्वस्थ्य रिपोर्ट नआउँदा, मोबाइल फोनबाट पनि कुनै कुरा पत्ता नलाग्दा प्रविधिक पक्षबाट अनुसन्धान गर्दा कुनै प्रमाण फेला पार्न सकिएको छैन । अब म्यानुअल पद्धतिबाट अनुसन्धान गर्ने छौं ।’
‘अनुसन्धानमा रहँदा एक पुरुषलाई हामीले शंकाको घेरामा राखेका थियौ, तर सोही पुरुषले केही दिनमै आत्महत्या गरेपछि अनुसन्धान झन जटिलता तर्फ मोडिएको छ । मोबाईलबारे बुझ्दा समेत आत्महत्या गर्ने पुरुषसँग पनि कुनै मेल खाएको देखिदैन । प्रहरी तादरुक्ताका साथ अनुसन्धानमा खटिएको छ । अब अनुसन्धानको दायरा थोरै साघुँरिएको छ,’ उनले भने ।
संघर्ष समिति गठन
अस्मिता मृत अवस्थामा फेला परेको डेड महिना पुग्दा समेत प्रहरीले कुनै अभियुक्त सार्वजनिक गर्न नसकेपछि जनस्तरबाटै संघर्ष समिति गठन गरिएको छ । प्रहरीको ढिलासुस्ती र प्रहरीलाई तिव्र रुपमा काम गराउन संघर्ष समिति गठन गरिएको जनाइएको छ । साथै घटनाको निष्पक्ष छानविन गर्न सहयोग पुर्याउन विभिन्न राजनिति दल र स्थानिय जनप्रतिनिधिसहित ५ सय जनाको संघर्ष समिति गठन गरिएको जमरानी आधारभूत स्वास्थ्य सेवा केन्द्रका ईन्चार्ज रमेश बोहेराले मेरोन्युजलाई बताएका छन् ।
उनले भने, ‘घटना घटेको ४२ दिन पुग्यो । तर, प्रहरीले घटनाको उचित छानविन गर्न नसकेको र प्रहरी प्रशासनको ढीलासुस्तिलाई घचघच्याँउन विभिन्न राजनिती दल र जनप्रतिनिधिसहित ५ सय जनाको संघर्ष समिति गठन गरेको छ । संघर्ष समिति र प्रहरी प्रशासनसँग बुधबार वार्ता भएको थियो । अब छिटै अभियुक्त कारवाहीको दायरामा आउने कुरो गरेका छन् ।’
अस्मिता देवी धामीको घटनालाई विशेष ध्यानमा राखेर अनुसन्धान निरन्तरता दिएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ट उपरिक्षक (एसएसपी) विक्रम बहादुर चन्दले मेरोन्युजलाई जानकारी दिए ।
एसएसपी चन्दले मेरोन्युजसँग भने, हामी अनुसन्धान गरिरहेका छौं । प्रदेश प्रहरी टोली र जिल्ला प्रहरी कार्यालयको संयुक्त सहकार्यमा अनुसन्धान भइरहेको छ । अनुसन्धानको दायरा साँघुरिएको छ । अब छिटै अभियुक्त पत्ता लाग्ने कुरामा पनि विश्वस्त छौं । प्रहरीले आफ्नो पक्षबाट गर्नुपर्ने कार्य निष्पक्षका साथ गर्दै आएको छ ।’
गत असार २ गतेदेखि हराईरहेकी धामीको शव असार ६ गते परशुराम नगरपालिका–९को हट्वानी सामुदायिक जंगलमा फेला परेको थियो ।
शवको पोष्टमार्टम रिर्पोटमा धामीको हत्या गरिएको पुष्टि भएको थियो । तर, उनको हत्यामा संलग्न अभियुक्त प्रहरीले फेला पार्न सकेको छैन । घटनाको अनुसन्धान गर्न संघीय प्रहरी इकाई कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीको नेतृत्वमा टोली खटाइएको थियो । घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी)को टोली समेत खटिइएको छ ।
दया दुदराज
मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।
प्रतिक्रिया