बुधबार, माघ २३, २०८१

कांग्रेस क्रियाशील सदस्यताको काम अधुरै : धर्मशालामा खाना खर्च मात्रै ६० लाख

मेरोन्यूज २०७८ साउन १५ गते १६:२५

Advertisement

काठमाडौँ। नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले मिलाउन नसकेको विवाद मिलाउन शीर्ष नेताहरुले ५ दिन समय लिएका छन् । समितिलाई बुधबार २४ घण्टे समय दिएर विवाद मिलाउन कांग्रेस पदाधिकारी बैठकले जिम्मेवारी दिएको थियो । समितिले विवाद थाती राखेरै प्रतिवेदन बुझाएपछि शीर्ष नेताहरुले बिहिीबार आफै विवाद मिलाउन समय लिएका हुन् ।

छानबिन समितिको प्रतिवेदनअनुसार अझै चार जिल्लाको क्रियाशील सदस्यता विवाद कायमै छ । उक्त समितिको संयोजक रमेश लेखक हुन् ।
गत फागुन ६ गते बसेको केन्द्रीय समिति बैठकबाट लेखकको संयोजकत्वमा आनन्द प्रसाद ढुंगाना, जीवन परियार, श्यामकुमार घिमिरे, प्रदीप पौडेल, कल्याण कुमार गुरुङ र योगेन्द्र चौधरी सदस्य रहेको समिति बनाइएको थियो । ८ लाख ५२ हजार ७११ जना क्रियाशील सदस्य रहेको कांग्रेसको यो विवाद टुंग्याउन पटक-पटक म्याद थप गर्दा केही जिल्लामा क्रियाशील सदस्यता टुंगो लगाउन सकेको छैन ।


उक्त समितिले अन्तिम म्याद असार २० गते दिएको समयमा काम नसकेको भन्दै पुन: असार मसान्तसम्मको समय माग गरेको थियो । तर उक्त समयमा पनि काम नसक्दा साउन १२ गते मात्र छानबिन समितिले सभापतिलाई प्रतिवेदन बुझाएको थियो ।


सो समितिले कामै नसकी प्रतिवेदन बुझाएको भन्दै सोही समितिका सदस्य कल्याण गुरुङले ‘नोट अफ डिसेन्ट’ जनाएका थिए । बुधबारको पदाधिकारी बैठकले पुन: क्रियाशील विवाद मिलाउन २४ घण्टाको समय दिएर छानबिन समितिलाई नै उक्त प्रतिवेदन फिर्ता पठाएको थियो । उक्त समितिले थप १० जिल्लाको समस्या समाधान गरेर सभापति देउवालाई प्रतिवेदन बुझाएको छ ।


उक्त प्रतिवेदनमा अझै चार जिल्ला, एक सयभन्दा बढी वडाको क्रियाशील विवादको समाधान गर्न शीर्ष नेतालाई छानबिन समितिले जिम्मा दिएको समितिका प्रवक्ता प्रदीप पौडेलले बताए ।

किन रोजे संयोजकले धर्मशाला नै ?


तिलगंगास्थित नेपाल भारत मैत्री धर्मशालामा उक्त छानबिन समिति गत असार ४ गतेबाट बस्दै आएको थियो । समितिका संयोजक लेखकका भाइ दीपक लेखक उक्त होटलका म्यानेजर हुन् । लेखकका भाइलाई कमिसन आउने भएकाले पनि समितिको काम धर्मशालामा राखेको स्रोतले बताएको छ । स्रोतका अनुसार हालसम्मको खाना खर्च मात्रै ६० लाख उठेको छ ।


उक्त रकम भुक्तान गर्न बाँकी रहेको छ । यसअघि लेखकले समितिका लागि आवश्यक पर्ने सामग्री खरिद गर्न ४० लाख पेश्की माग गरेका थिए । त्यसअघि नै पार्टीले पेश्की स्वरुप समितिलाई १५ लाख रुपैयाँ बुझाएको थियो । स्रोतले भन्यो, “उक्त ६० लाख भुक्तानी हुन बाँकी छ ।”


१५ लाख रुपैयाँ गत असार १२ गते पार्टी सचिवमार्फत कांग्रेस केन्द्रीय कार्यालयले पठाएको थियो । छानबिन समितिका संयोजक लेखकले पार्टी कार्यालयमा काम गर्ने वातावरण नभएको भन्दै तिलगंगास्थित नेपाल भारत मैत्री धर्मशालामा बसेका थिए । समितिकै केही सदस्यहरुले बैठक पार्टी कार्यालयमा बस्नु पर्ने बताउँदै खर्च कम हुने बताएका थिए ।


उक्त होटल भारतीय व्यापारी आएर बस्नका लागि बनाइएको हुँदा अन्य होटलको तुलनामा खाना, खाजा र चिया महंगो छ । अहिले क्रियाशील छानबिनको काम भइरहेकाले कति खर्च लाग्यो काम सकिएपछि सकिने पार्टीका मुख्य सचिव कृष्ण पौडेलले बताए ।

प्रतिक्रिया