पेड्रो काष्टियो : गाउँको शिक्षकदेखि पेरुको राष्ट्रपतिसम्म
पेड्रो कास्टिलोले पेरुको संविधान ‘जनताको रंग, सुगन्ध र स्वाद’ का साथ बनाउने भन्दै संविधानसभा गठनको प्रस्ताव गरिसकेका छन्

जुन ६ मा राष्ट्रपति निर्वाचन भएको पेरुमा लामो र तनावपूर्ण निर्वाचन प्रक्रियापछि वामपन्थी पेड्रो कास्टियोले राष्ट्रपतिका रुपमा शपथ लिएका छन् । पेरुका राजनीतिमा निकै लामो विरासत बोकेकी अल्बर्टो फुजिमोरीकी छोरी केइके फुजिमोरीलाई हराउँदै एउटा ग्रामीण क्षेत्रको प्राथमिक विद्यालयका शिक्षक रहेका कास्टियो पेरुको सत्तामा पुगेका हुन् ।
राजनीतिक अस्थिरताको सामना गरिरहेको पेरुको समाज यतिबेला गहिरो रुपमा विभाजित छ । र, कोरोना महामारीले निकै प्रभावित र प्रताडित अवस्थामा छ । यही संकटमा किसान परिवारमा जन्मिएर सामान्य विद्यालयको शिक्षकका रुपमा झण्डै २० वर्ष सेवा गरेका कास्टियो राष्ट्रपति बनेकोमा त्यहाँका उच्च राजनीतिक र व्यापारिक वर्ग आश्चर्यमा छन् ।

पेरुको निकै गरिब इलाकाको एउटा सानो गाउँमा जन्मिएका पेड्रो कास्टियोले खेतीपातीमा आफ्ना निरक्षर बाबु आमालाई सघाउँदै हुर्किएका हुन् । बाल्य कालमा उनलाई विद्यालय जान दुई घण्टाभन्दा बढी हिँड्नु पर्दथ्यो । प्राथमिक विद्यालयको शिक्षक भए पनि उनी अहिले खेतीपातीमा संलग्न थिए । पेरुको सत्तामा पुग्ने उनी पहिलो किसान हुन् ।
गत जुनमा राष्ट्रपति निर्वाचनपछि आफ्नै गाउँ काखामार्कामा फर्किएर खेतीपाती गरिरहेका उनी राष्ट्रपतिमा निर्वाचित भएपछि मात्रै राजधानी लिमामा परिवारसहित आएका छन् । शिक्षिका पत्नी लिलिया पोरेदेश र दुई छोराका साथमा अब उनी लिमामा बस्न थालेका हुन् । तेजस्वी नेतृत्व क्षमताका उनी पेरुको राजनीतिक केन्द्रभन्दा बाहिरबाट सत्ताको नेतृत्वमा आइपुगेका छन् ।
उनीसँग यसअघि न त सत्ता चलाएको अनुभव छ न त उनी सत्ताको नजिक नै थिए । तर कास्टियो हुर्किएजस्तै ग्रामीण क्षेत्रका मतदाताले अन्ततः उनलाई अनुमोदन गरेका छन् । उनले चुनावी र्यालीहरूमा ‘एउटा धनी देशमा फेरि कहिल्यै एक जना गरिब मान्छे हुने छैनन्’ भन्ने नारालाई स्थापित गरेका थिए । संघर्षशील पेरुका जनताको अन्तरमनमा गुन्जिएको यही नारा नै उनको चुनाव जित्ने मुख्य हतियार बन्यो ।

ग्रामीण शिक्षकबाट राष्ट्रपतिसम्म
चार वर्षअघिसम्म पेड्रो कास्टियो एन्डिजको एक ग्रामीण विद्यालयका शिक्षक थिए । तर, चार वर्षअघि भएको शिक्षकको आन्दोलनमा अगुवाई गरेपछि उनी चर्चामा आए । ताकाबाम्बा जिल्लाको पुना गाउँमा खेतबारी, त्यही रहेका गरिब ग्रामीण जनताका घर र त्यही बिचमा रहेको स्कुल नै चार वर्ष अघिसम्म उनको कार्यस्थल थियो । यहाँबाट करिब दुई सय किलोमिटर टाढा रहेको क्षेत्रीय राजधानी काजामारका पुग्न पूरै एक दिन लाग्छ ।
सन् १९६९ मा ताकाबाम्बामा जन्मिएका कास्टियो युवा उमेरमा किसानको स्थानीय रोन्डाल क्याम्पेसिनास गस्ती समूहका सदस्य थिए ।
सन् १९८०–९० को दशकमा आन्तरिक संघर्षका क्रममा स्थानीय समूदायलाई गुरिल्लाको हमलाबाट बचाउनका लागि यो गस्ती समूह बनाइएको थियो । यो समयमा सेना र माओवादी लडाकु समूह साइनिङ पाथ र मार्क्सवादी–लेनिनवादी टुपाक अमारु क्रान्तिकारी आन्दोलनमा आपसी टकरावका कारण ग्रामीण क्षेत्र प्रभावित बनेका थिए । सरकारले ग्रामीण क्षेत्रलाई कुनै सहयोग गरेको थिएन । बरु साइनिङ पाथलाई दमन गर्ने सरकारले ग्रामीण क्षेत्रलाई पूर्ण रुपमा उपेक्षा गरेको थियो ।

सन् २००२ मा काष्टियोले काजामार्काको राजधानी आन्गुयाको मेयरमा चुनाव लडेर पराजित भए । सन् २०१७ को राष्ट्रव्यापी शिक्षक हड्तालको नेतृत्व गरेका उनी मार्क्सवादी पार्टी फ्री पेरु पार्टीबाट राष्ट्रपति बन्न सफल भएका छन् । त्यसबेला पेड्रो पाब्लो कुचजिन्स्की राष्ट्रपति थिए । उनले शिक्षकको तलब वृद्धिसहितका माग सम्बोधन गरेका थिए । पेरुमा ६ जुनमा भएको निर्वाचनले पूर्वशासक अल्बर्टो फुजिमोरीकी छोरी केइके फुजिमोरीलाई ४४ हजारभन्दा बढी मतले हराउँदै तिनै शिक्षकलाई राष्ट्रपति चुनेको छ। अल्बर्टो फुजिमोरी यतिबेला पेरुमा जेल जीवन बिताइरहेका छन् ।
जनताको मान्छे

कास्टियोले आफूलाई सधैं जनताको मान्छेका रुपमा प्रस्तुत गर्दै आएका छन् । उनी आफ्नो चुनावी अभियानभरि आफ्नै क्षेत्रको मौलिक सेतो छाते टोपीमा देखिए । राष्ट्रपतिका रुपमा शपथ ग्रहण गर्दा पनि उनी त्यही टोपीमा थिए । यो टोपीले उनको मार्क्सवादी विचारधारा बोक्ने फ्री पेरु पार्टीको संकेत गर्छ । र, उनको शिक्षाको पृष्ठभूमिको प्रतिनिधित्व गर्छ । त्यसैले यो टोपी उनको पहिचान हो । निर्वाचनमा उनले देशका तमाम खानीको विदेशी लगानीलाई कम गर्ने, राष्ट्रियकरण गर्ने, संविधानसभाबाट नयाँ संविधान बनाउने र पेरुमा रहेको गरिबी र असमानता हटाउने बाचा गरेका छन् ।
राष्ट्रपति बनेलगत्तै उनले देशलाई बहुसंख्यकको हित अनुकूल शासन सञ्चालन गर्ने बताएका छन् । गरिबी तथा असमानताको हल गर्न ठूलो परिवर्तन आवश्यक रहेको उनको भनाई छ । उनले भनेका छन्, ‘अब पेरुको समुदायका सबै क्षेत्र मिलेर एउटा समावेशी, निष्पक्ष र स्वतन्त्र पेरु बनाउने बेला आएको छ ।’
निकै भ्रष्ट शासन व्यवस्थाको सिकार बनेको पेरुका जनता यसबाट आजित छन् । जसलाई सम्बोधन गर्ने जिम्मा अब कास्टियोको काँधमा आएको छ ।
यतिबेला पेरु कोरोना महामारीको निकै कठिन क्षणमा छ । विश्वमा नै सबैभन्दा बढी कोभिड–१९ को मृत्युदर पेरुमा देखिएको छ भने आर्थिक संकटले लाखौँलाई गरिबीमा धकेलिदिएको छ । शिक्षा र स्वास्थ्यजस्ता सार्वजनिक सेवालाई रकम जुटाउन खानीकर बढाउने उनको योजना छ । पेरु विश्वमै तामा खानीका लागि प्रसिद्ध छ । तर, यहाँका तामा खानीमा उच्च वर्ग र विदेशीको हाली मुहाली छ ।
कार्यभार सम्हालेसँगै उनले गरिबी घटाउने र कोरोना महामारी नियन्त्रण गर्न जनस्वास्थ्य प्रणालीलाई सुधार गर्ने बाचा गरेका छन् । तर पेरुको सार्वजनिक सेवाको दुरावस्था कोरोना महामारीले छर्लंग पारिदिएको छ । एक वर्षभित्र १० लाखलाई रोजगारी दिने उनको बाचा छ । यी कठिन चुनौती पार लगाउन सहज भने पक्कै हुने छैन ।

वामपन्थीमाथि घृणा फैलाउने कोशिस
जब वामपन्थी लोकतान्त्रिक प्रक्रियामार्फत सत्तामा पुग्छन्, तब उनीहरुमाथि घृणा फैलाउने कोशिस भइरहेको हुन्छ । नेपालमा १० वर्षको जनयुद्धपछि शान्तिपूर्ण लोकतान्त्रिक मान्यतालाई स्वीकार गरेको माओवादीलाई अझै पनि विभिन्न लान्छना लगाउने गरेको पाइन्छ । पेरुमा पनि काष्टियोको सत्ता यात्रासँगै उनी र उनको पार्टीलाई लान्छित गर्ने काम भइरहेको छ । विरोधीहरूले काष्टियोलाई कम्युनिष्ट गुरिल्ला समूहसँग मिलेमतो रहेका वामपन्थी अतिवादीका रूपमा देखाउने कोशिस गरिरहेका छन् ।
काष्टियोसँग प्रतिस्पर्धा गरेकी केइके फुजिमोरीका बाबु अल्बर्टोले माओवादी आन्दोलन साइनिङ पाथमाथि बर्बतापूर्ण दमन गरेका थिए । फुजिमोरीको कार्यकालमा सन् १९९२ मा पक्राउ परेका साइनिङ पाथका प्रमुख नेता गोन्जालो अहिले जेलमा छन् । त्यसो त उनलाई जेल हालेका अल्बर्टो पनि २०१७ देखि भ्रष्टाचारमा दोषी ठहर भएर जेल जीवन बिताइरहेका छन् । काष्टियोको पार्टी फ्रि पेरु पार्टी पनि समाजवाद, मार्क्सवाद–लेनिनवादबाट प्रभावित पार्टी हो ।

यसैकारण विरोधीले उनी सत्तामा हुँदा लोकतन्त्रमाथि नै खतरा हुने हल्ला चलाएका छन् । सत्तामा आएको ३–४ दिनमा नै उनीमाथि कम्युनिष्ट विद्रोही संगठनमाथि उदारता देखाएको आरोप लागेको छ । कांग्रेस सदस्यमा निर्वाचित भएका गिलेरमो बेरमेयोको साइनिङ पाथसँग सम्बन्ध रहेको चर्चा चलाइएको छ । ‘हामी समाजवादी हौँ, नयाँ संविधान निर्माण गर्नु हाम्रो पहिलो कदम हो । यदि हामी सत्तामा आयौँ भने यो एजेन्डालाई छाड्ने छैनौं,’ एक वर्षअघिको एक रेकर्डिङमा उनले भनेका थिए, ‘खराबभन्दा खराब समयमा हामीमाथि जेसुकै होस्, हाम्रो झण्डा तल नै होस् तर कसैको झण्डाभन्दा तल होइन ।’
गत अप्रिलमा एक अन्तर्वार्तामा उनले भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरो संसदमा विपक्षीसहित रहेको र प्रतिस्पर्धा गरेर लोकतान्त्रिक तरिकाले आएकाले उनको सरकार लोकतान्त्रिक भएको बताएका थिए । सोही अन्तर्वार्तामा उनले अन्तुआरो हुमालालाई माफी दिने बारेमा सोचिरहेको बताएका थिए । सेनाका मेजर रहेका उनी १९ वर्षको जेल सजाय काटिरहेका छन् । हुमालामाथि पूर्वराष्ट्रपति अलेहान्द्रो तोलेडोको सत्ताविरुद्ध सन् २००५ मा विद्रोहको कोशिस गरेको आरोप छ । सो कोशिसमा चार जना प्रहरी मारिएका थिए । उनका भाइ ओलान्ताले सन् २०११ देखि २०१६ सम्म राष्ट्रपतिको पद सम्हालेका थिए । हुमालाले मूलबासीलाई सत्तामा ल्याउने उपनिवेशविरोधी आन्दोलनको अगुवाई गरेका थिए ।

काष्टियोले संवैधानिक अदालतलाई निष्क्रिय पार्ने घोषणा गरेका छन् । एक ‘टिब्युनल’ बनाइनेछ । जसको सदस्यको चुनाव विधायिकाबाट नभएर जनताबाट हुनेछ । कास्टिलोले पेरुको संविधान ‘जनताको रंग, सुगन्ध र स्वाद’ का साथ बनाउने भन्दै संविधानसभा गठनको प्रस्ताव पनि गरेका छन् । एक सदन भएको विधायिककाको १३० सिटमध्ये उनको जम्मा ३७ सिट अर्थात् ३० प्रतिशतभन्दा कम समर्थन छ । आधाभन्दा बढी सिट फुजिमोरीका समर्थक, नवउदारवादी र रुढीवादीको कब्जामा छ । पेरुका राजनीतिक विश्लेषक गोन्जालो बान्डा भन्छन्, ‘सत्तामा काष्टियोले केही सम्झौता गर्नु पर्नेछ । कांग्रेसको समर्थन हासिल नभएमा सुधारका काम गर्न सकिदैन ।’
तस्विर साभार : अन्तर्राष्ट्रिय समाचार संस्थाहरु
















२४ घण्टामा दुई हजार २९३ सवारी चालकलाई कारबाही
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै लाखौँ रकम ठगी गर्ने तीन जना पक्राउ
ओमानमाथि नेपालको सानदार जित
मुख्यमन्त्री बानियाँमाथि निष्पक्ष छानबिनको कांग्रेसको माग
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया