आइतबार, माघ १३, २०८१

आँबुखैरेनी गाउँपालिकाका सबै वडा भाडामुक्त

मेरोन्यूज २०७८ साउन १७ गते १०:१६

तनहुँ । जिल्लाको आँबुखैरेनी गाउँपालिकाका छवटै वडा तथा आधारभूत स्वास्थ्य केन्द्र भाडामुक्त भएका छन् । गाउँपालिकामातहत रहेका वडामध्ये वडा नं ५ को वडा कार्यालय भवनको केही दिनअघि मात्रै उद्घाटन भएपछि सबै वडा भाडामुक्त भएका हुन् ।

Advertisement

गाउँपालिकाको ५६ लाख ८२ हजार ६१४ लागतमा भवन निर्माण सम्पन्न भएको गाउँपालिकाका सूचना अधिकारी शिखरलाल डोटेलले जानकारी दिए । उक्त भवन निर्माणको जिम्मा बिएम कन्स्ट्रक्शन प्रालि नुवाकोटले पाएको थियो ।

विसं २०७५ चैत १० गते सम्झौता गरी विसं ०७६ चैत २ गते सम्पन्न भए पनि अहिले आएर उद्घाटन गरिएको हो । भवनको निर्माण दुई वर्षअघि सम्पन्न गरिए पनि विविध कारणले उद्घाटनमा ढिलाइ हुन पुगेको कार्यालयका सूचना प्रविधि अधिकृत नीरज श्रेष्ठले जानकारी दिए ।

त्यसैगरी गाउँपालिकामातहत रहेका सबै आधारभूत स्वास्थ्य केन्द्रको समेत आफ्नै भवन निर्माण भइसकेका छन् ।

वडा नं ६ मा स्वास्थ्य भवन निर्माण भइसकेको र उद्घाटनको चरणमा रहेकाले गाउँपालिकाका सबै वडा र स्वास्थ्य केन्द्र भाडामुक्त अवस्थामा रहेको गाउँपालिकाले जनाएको छ ।

त्यसैगरी व्यास नगरपालिकाका १४ वडामध्ये १३ वडाले आफ्नो भवन निर्माण गरिसकेका छन् । व्यास–१ को वडा कार्यालय भवन निर्माण अन्तिम चरणमा पुगेकाले छिट्टै भाडामुक्त नगरपालिका बन्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए ।

जग्गा विवादका कारण उक्त वडा भवन निर्माणमा ढिलाइ भएकाले भाडामुक्त नगरपालिका घोषणा गर्न नसकिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका १४ वटै वडामा स्वास्थ्य केन्द्रको आफ्नै भवन निर्माण भइसकेकाले सेवाग्राहीलाई सेवा प्रदान गर्न सहज भएको छ ।

प्रतिक्रिया