शेयर बजारमा अर्थ मन्त्रालयले छानविन गर्ने
काठमाडौं । शेयर बजारमा सर्वसाधारणको लगानी डुब्ने खतरा बढेको भन्दै अर्थ मन्त्रालयले छानविन गर्ने भएको छ ।
पछिल्लो समय नियामक निकाय, सूचीकृत कम्पनीका संचालक तथा उच्च तहका कर्मचारी, सेयर ब्रोकर र सीमित लगानीकर्ताले बजारलाई आफ्नो कब्जामा राख्न खोजेपछि छानविन प्रक्रिया अघि बढाएको अर्थमन्त्रालयका प्रवक्ता महेश आचार्यले बताएका छन् ।
सरकारले शेयर बजारलाई सर्वसाधारको पहुँचमा पुर्याउने बताएपनि सीमित व्यक्तिले फाइदा लिने गरी कारोबार गर्ने भएकाले अर्थमन्त्रालयले शुद्धिकरण अभियान शुरु गरेको हो ।
गत हप्ता अर्थमन्त्रालयले धितोपत्र बोर्ड र स्टक एक्सचेञ्जका ठूला ओहदाका व्यक्तिलाई स्पष्टिकरणका लागि पत्र काटेको छ ।
अर्थमन्त्रीमा पदबहाली गरेपछि पत्रकारसँग मनत्री जनार्दन शर्माले पूँजी बजारका लागि समयसापेक्ष नियम कानून परिमार्जन गर्ने बताएका थिए ।
पछिल्लो समय लगानीकर्ताहरुले ब्रोकरहरु बजारको ठूला खेलाडी भएको र उनीहरुकै मिलेमतोमा बजारमा चलखेल भइरहेको गुनासो गर्दै आएका छन् ।
हाल संचालित ब्रोकर कम्पनीसँग ४ अर्ब रुपैयाँको फण्ड भएको र उनीहरुले बजारमा म्यानुपुलेसन गर्न आफु नजिकका व्यक्तिको नाममा शेयर खरिद गरी गैरकानूनी क्रियाकलाप गरिरहेको लगानीकताहरुले बताउने गरेका छन् ।
यस्तै, नेप्से तथा धितोपत्र बोर्डजस्ता नियामक निकायमा रहेका व्यक्तिले पनि इन्भेष्टमेन्ट कम्पनीनै खोलेर शेयर बजारमा लगानी गर्दै आएको भेटिएकाले कारबाही प्रकृया अगाडी बढाउने अर्थ मन्त्रालयले जनाएको छ ।
बजारमा म्युचुअल फण्ड, सूचीकृत कम्पनीको उच्च तहका कर्मचारीहरुले समेत गैरकानूनी रुपमा सेयर कारोबार गर्दै आएको सूचना अर्थमन्त्रालयसम्म पुगेको बताइएको छ ।
ब्रोकर, म्युचुअल फण्ड, राष्ट्र बैंक र सूचीकृत कम्पनीको उच्च तहमा रहेका कर्मचारीहरुले आफ्नो नाममा दोस्रो बजारमा शेयर खरिद गर्न नमिले पनि उनीहरुले भित्री सूचनाको पहुँचको आधारमा आफन्तको नाममा ठूलो मात्रामा शेयर खरिदबिक्री गर्दै आएको गुनासाहरु आएको अर्थमन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया