मेलम्ची बाढीपीडितलाई पाँच लाख आर्थिक सहयोग

काठमाडौं । श्रीश्री जानकी माता धार्मिक संघ र संयुक्त नेपाली केन्द्रीय सेवा संघ कोलकाताले मेलम्ची बाढी पीडितको आवास पुनःनिर्माणका लागि पाँच लाख आर्थिक सहयोग गरेका छन् ।
दुवै संस्थाले आज आयोजना गरेको कार्यक्रममा पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री मोहनबहादुर बस्नेत र मेलम्ची नगरपालिकाका प्रमुख डम्बरबहादुर अर्याललाई सहयोग हस्तान्तरण गरिएको हो । नेपाली कांग्रस केन्द्रीय समितिले गठन गरेको बाढी पहिरो विपत्ति कोषको संयोजकसमेत रहेका पूर्व मन्त्री बस्नेतले पीडितलाई तीन चरणमा सहयोग जुटाउने अभियानमा लागिएको जानकारी दिए ।
उद्धार, राहत र पुनःस्थापनाका चरणलाई एउटै गतिमा अघि बढाउनुपरेको उनले बताए । असार १ र साउन १६ गते दुईपटक ठूला बाढी आएको र त्यसपछिका विभिन्न चरणमा साना साना बाढी आएकाले निरन्तर रुपमा तीनै चरणका काममा खट्नुपरेको नेता बस्नेतको भनाइ थियो । पुनःस्थापनाका लागि वर्षामा अस्थायी वास निर्माण गरिएको छ । हिउँद लागेपछि स्थायी आवास निर्माणको काम हुने जनाइएको छ ।
विसं २०७१ साउनको जुरे पहिरोदेखि सिन्धुपाल्चोक केन्द्रबिन्दुमा रहेर निरन्तर प्राकृतिक प्रकोपका घटना भएकाले निरन्तर उद्धार, राहत र पनःस्थापनाका काममा खटिनुपरेको उनको भनाइ थियो । बाढीले धेरै पक्की पुलसमेत बगाएकाले केही महत्वपूर्ण पुल छिटो राख्न व्यवस्था मिलाउन पार्टीले सरकारसँग समन्वय गरिरहेको जानकारी संयोजक बस्नेतले दिए ।
मेलम्ची नगरपालिकाका नगर प्रमुख अर्यालले असार १ गतेको बाढीले १३७ र साउन १६ गतेको बाढीले ५६ घरमा क्षति पुगेको जानकारी दिए । उनका अनुसार मेलम्चीबाट हेलम्बु जाने सडक अवरुद्ध भएको छ । बाढीले ठाउँ ठाउँमा पहिरो गएको छ । एक वर्षमा बाढी पीडितको स्थायी आवास पुनःनिर्माण सम्पन्न गर्ने गरी काम गर्न लागिएको नगर प्रमुख अर्यालको भनाइ छ । मेलम्ची खोलाको मुहानदेखि अहिले पनि बाढी निरन्तर आइरहेको छ ।
मेलम्चीको माथिल्लो भेगमा भौगोलिक अध्ययन गर्न गएका भूगर्भविद्का अनुसार हिउँदमा पनि बाढी जान सक्ने अवस्थाको विश्लेषणले नदी तटीय क्षेत्रका वासिन्दा चिन्तित छन् । बाढीबाट जोखिन नगरपालिकाले मेलम्ची नदी किनारको दायाँबायाँका मापदण्ड निर्माणमा काम गर्ने तयारी शुरु गरेको नगर प्रमुख अर्यालले सुनाए ।
कार्यक्रममा जानकी माता नेपाली धार्मिक संघका अध्यक्ष गुञ्जदास श्रेष्ठ, नेपाली केन्द्रीय सेवा सङ्घका अध्यक्ष दीपशङ्कर पौडेल, सदस्य गणेश प्रधानलगायतले विपत्तिका बेला जहाँसुकै रहे पनि एउटा नेपालीले अर्कोलाई सहयोग गर्नुपर्ने भावना अनुरुप सहयोग जुटाएर नेपालमा आएको जानकारी दिए । दुवै संस्थाका गरी करिब एक दर्जन नेपाली सहयोग जुटाएर प्रवासबाट नेपाल आएका हुन् ।










कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन सञ्चारमन्त्रीको निर्देशन
बलिउडमा ‘नक्कली चमक’ विवाद : हेरफेर गरिएका समीक्षा र फुलाइएका अङ्कले विश्वसनीयता सङ्कट
कांग्रेसका युवा नेताहरुद्वारा ‘कांग्रेस सुधार अभियान’
पूर्व प्रधानमन्त्री शेख हसिनाको मृत्युदण्ड र बङ्गलादेशको राजनीतिक भविष्य
म्यानमारमा ठगीमा परेका ३७ नेपाली स्वदेश फर्काइए
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
प्रतिक्रिया