इरानसँगको ‘छायाँ युद्ध’ मा इजरायलले पाउला अमेरिकाको साथ ?

गत साता इजरायली तेल ट्यांकर मर्सर स्ट्रिटमाथि भएको ड्रोन हमलामा दुई जना मारिएपछि मध्यपूर्वमा दुई परस्पर विरोधी राष्ट्र इरान र इजरायलबीच आरोप-प्रत्यारोपको शृङ्खला चलिरहेको छ । इरान र इजरायलबीच दशकौदेखि सम्बन्ध चिसिएको छ। त्यसैले यस क्षेत्रमा केही घटना भइहालेमा इजरायलले हतार इरानमाथि आरोप लगाइहाल्छ । दुवै देशले एक अर्कालाई आफ्नो राष्ट्रिय सुरक्षाका लागि खतरा मान्दै आएका छन् । इरान र इजरायलबीच पछिल्ला केही वर्षदेखि त ‘छायाँ युद्ध’ नै चलिरहेको छ । इरान र इजरायलबीच जमिन र आकाशमा युद्ध चलिरहेको थियो । तर पछिल्लो समयमा समुन्द्रमा युद्ध सुरु भएको छ । ओमानको खाडीको आसपास दुवै देशका केही जहाजमाथि आक्रमण हुँदै आएको छ ।
बेलायत र अमेरिकाको पनि संलग्नता

यो छायाँ युद्धमा अमेरिका र बेलायत पनि जोडिदै आएका छन् । गत साता इजरायली तेल ट्यांकरमा हमला भएर एक बेलायती र एक जना रोमानियाली नागरिक मारिएको घटनामा पनि इजरायलले जस्तै अमेरिका र बेलायतले पनि इरान जिम्मेवार भएको आरोप लगाए । २९ जुलाईमा एमवी मर्सर स्ट्रिट हमलाको निशानामा पर्यो । यो मध्यम आकारको खाली ट्यांकर तान्जानियाको दार–अस–सलाम बन्दरगाहबाट संयुक्त अरब इमिरेट्सकाे फुजैराह रिफ्युलिङ पोर्टतर्फ गइरहेको थियो । यो बन्दरगाह ओमानको खाडीमा पर्छ । जापानका मालिकको स्वामित्व भएको लाइबेरियाको जहाजलाई इजरायलको कम्पनी जोडायक मैरिटाइमले भाडामा चलाउँदै आएको छ । सोही ट्यांकरमा विस्फोटक पदार्थले लैज ड्रोन हमला भएको थियो । जसमा एक रोमानियाका सेक्युरिटी गार्ड र एक जना बेलायती नागरिकको मृत्यु भयो । जहाजले आपतकालीन मद्दत मागेपछि अमेरिकी नौसेनाका दुई वटा जहाजले आफ्नो निगरानीमा बन्दरगाहसम्म पुर्याएका थिए ।
इजरायल, बेलायत र अमेरिका तीनवटै देशले यो हमलामा इरानलाई जिम्मेवार ठहर गरेपनि इरानले त्यसलाई अस्वीकार गरेको छ । गत अप्रिलमा लाल सागरमा इरानी सेनाको शाविज नामको आपूर्ति जहाजमा भएको हमलामा इजरायललाई दोषी ठहर गरेको थियो । हालैका महिनामा इजरायल र इरानसँग जोडिएका केही जहाजमाथि हमला भएका छन् । यी दुई घटना यस्तै आक्रमणका उदाहरण हुन् ।
हरेक घटनामा दुई देशले एक अर्कालाई आरोप लगाएका छन् र अस्वीकार पनि गरेका छन् । त्यसैले यस्ता घटनाले पर्दापछि के चलिरहेको छ भन्ने प्रश्न उठाएको छ । दुई देशले एक अर्कामाथि सिधै हमला नगरेर पर्दापछिबाट युद्ध गरिरहेकाले यी घटनालाई पनि यसैको एउटा पाटोका रुपमा हेरिएको छ । गत वर्ष इजरायलले इरानका एक शीर्ष परमाणु वैज्ञानिकको हत्या गरिदिएको थियो । यो घटना इरानको परमाणु कार्यक्रमलाई कमजोर बनाउने एक गम्भीर षडयन्त्र थियो।
दुबै देशमा नयाँ नेता जिम्मेवारीमा
इजरायल र इरानबीच यस क्षेत्रमा हिंसात्मक संघर्ष चलिरहेका बेला दुवै देशमा नयाँ नेता सत्तामा आएका छन् । गत महिना इजरायलमा १२ वर्ष सत्तामा रहेका बेन्जामिन नेतान्याहुलाई हटाएर नेफ्टाली बेनेट सत्तामा आएका छन् । निकै सानासाना पार्टीहरुको समर्थनमा उनी २०२३ सम्मका लागि सत्तामा बसेका छन् । उनले सत्तामा आएलगत्तै आफू पूर्ववर्ती बेन्जामिन नेतान्याहुजस्तै इरानको बिरोधी भएको बताइसकेका छन् ।

इरानमा पनि कट्टरपन्थी मानिने इब्राहिम रइसीले सत्ता सम्हालेका छन् । उनी इरानका सर्वोच्च नेता आयतोल्लाह अलि खमेनीको निकट मानिन्छन् र इजरायलको खुला विरोधीका रुपमा चिनिन्छन् । रइसी सत्तामा आएलगत्तै इजरायलले निकै कडा शब्दमा उनको आलोचना गरेको थियो । रइसीले पनि इजरायललाई एक खतरनाक देशका रुपमा चर्चा गरेका छन् । अब दुई देशबीचको यो टकराबमा पनि सिधा रुपमा यिनै दुई नेता सामेल हुनेछन् । जसको संकेत पछिल्ला घटनाले पनि दिन्छ। किनकि नयाँ नेता आएर दुई देशबीचको संघर्षमा कुनै परिवर्तन देखिएन ।
नेतृत्वमा आएको परिवर्तनले एक अर्काबीचको नीतिमा भने तात्विक अन्तर आएको देखिएन । कतिपयले अमेरिकाले इरानसँग नयाँ परमाणु सम्झौताको प्रयास गरिरहेका बेला इजरायली प्रधानमन्त्री त्यसलाई रोक्न छायाँ युद्ध’ को सहारा लिइरहेको चर्चा पनि भइरहेको छ । पछिल्ला दिनमा इजरायलले इरान र इरानी पानीजहाजमाथि हमला तीव्र पारेको छ । जसले गर्दा इरानले पनि जवाफी कारबाही गरिरहेको छ । यो संघर्षमा यस्तो समयमा दुई देशबीच हिंसा बढेको छ, कि भियनामा इरानसँगको परमाणु सम्झौतालाई पुनः लागू गर्ने विषयमा वार्ता चलिरहेको छ ।

यदि यो सम्झौता भएमा इरानले आफ्नो परमाणु कार्यक्रम सीमित गर्ने छ भने बदलमा इरानमाथि लाग्दै आएको प्रतिबन्ध हट्नेछ । इरान र इजरायलमा केही यस्ता नेता तथा अधिकारीहरु छन्, जो पुनः यो सम्झौता होस् भन्ने चाँहदैनन् । इजरायलमा पनि यो सम्झौता इरानको पक्षमा भएकाले कार्यान्वयन नहोस् भन्ने चाहाना राख्नेको कमी छैन । यस क्षेत्रमा इरान बलियो बन्दै जानु इजरायलका लागि खतरा भएको उसको बुझाई छ । तर बेलायत र अमेरिका दुवै देश इरानसँग परमाणु सम्झौता गर्ने पक्षमा छन् ।
इजरायल एक्लिन सक्छ
इरानसँगको पछिल्लो संघर्ष र परमाणु सम्झौता हुन नदिने खेलमा इजरायल एक्लिन सक्ने देखिएको छ । इजरायलले इरानी जहाजमाथि निशाना बनाएर परमाणु सम्झौतालाई हुन नदिन कोशिस गरिरहेको छ । रोयल युनाइटेड सर्भिस इन्स्टिच्युटमा मध्य-पूर्व मामलाका जानकार माइकल स्टिफेन्स भन्छन्, ‘इजरायलले इरानी जहाजलाई निशाना बनाएर परमाणु सम्झौतालाई हुन नदिने वा पर धकेल्ने कोशिस गरिरहेको छ । एकतर्फी कारबाही गर्ने यो निकै खतरनाक बाटो हो ।’
इरानमाथि इजरायलले गरिरहेको एकतर्फी हमलालले इरानमाथि परमाणु सम्झौता र यस क्षेत्रका सुरक्षमा उत्पन्न समस्याबारे बलियो तर्क राख्न सक्छ भने कारबाहीले अमेरिकी पक्ष कमजोर बन्न सक्छ । किनकि लामो समयदेखि अमेरिका र इजरायल एक अर्काका सहयोगीका रुपमा रहँदै आएका छन् । अर्कोतिर इरानले पनि जवाफी कारबाही गरेर संसारभरमा इजरायलको हितमाथि हमला गर्न सक्छ । इजरायलले पहिले नै इरानको परमाणुु कार्यक्रममा व्यवधान खडा गर्न सक्छ भन्ने संकेत गरिसकेको छ ।

तर प्रश्न यहाँ मात्रै सीमित छैन । बरु इजरायलले यो काम कुन मूल्यमा गर्न लागिरहेको छ र यसले यस क्षेत्रको शान्तिमा कस्तो असर पार्छ भन्ने महत्वपूर्ण छ ।इरानका नयाँ राष्ट्रपति सर्वोच्च नेता खमेनीसँग निकट छन् । उनको मातहतमा रहेको रिभोल्युसनरी गार्ड छ। उनीहरु पश्चिमा देशसँगको सम्बन्ध सुधार भएको मन पराउँदैनन् । यद्यपि पश्चिमा राष्ट्र इरानसँग सम्झौतामा पुग्न चाहन्छन् । त्यसैले यसमा इजरायलले ठूलो असर पार्न भने कठिन हुन्छ । त्यसो गरेमा बाइडेन प्रशासन इजरायलसँग नकारात्मक हुन सक्छ । यो उसका लागि निकै घातक बन्न सक्छ ।
बाइडेन प्रशासनले सिरियामा इरान समर्थित मिलिसियामाथि हमला सुरु गरेको छ र त्यहाँको लडाईमा अमेरिका र इजरायल सँगसँगै छन् । मध्यपूर्वको संघर्षमा अमेरिकाका लागि इजरायलसँग सम्बन्ध राम्रो बनाउन अमेरिकालाई जति आवश्यक छ, त्यो भन्दा पनि बढी इजरायललाई यस क्षेत्रमा आफ्नो अस्तित्व कायम राख्न पश्चिमा राष्ट्रको आवश्यकता छ । सन् २०१६ को अन्त्यमा अमेरिकाले साथ नदिँदा राष्ट्रसंघ सुरक्षा परिषदबाट प्यालेस्टिनी भूमिमा बस्ती विस्तार गर्ने इजरायलको कदमको विरोध गर्ने एक प्रस्ताव पारित भएको थियो ।
ओबामा प्रशासनसँग त्यसबेला इजरायलको सम्बन्ध चिसिदै गएको थियो । तर त्यसलगत्तै अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प आएपछि इजरायलले पुनः अमेरिकी साथ हासिल गर्यो । ट्रम्मले ओबामा प्रशासनका धेरै नीतिहरु फेरबदल गरे। जसमा इरानसँगको परमाणु सम्झौता पनि थियो । इरानसँगको सम्झौतामा इजरायल खुसी थिएन । त्यसैले ट्रम्प प्रशासनसँग इजरायलको सम्बन्ध सुरुदेखि नै राम्रो हुँदै गएको थियो । हालका राष्ट्रपति जो बाइडेन ओबामा प्रशासनमा उपराष्ट्रपति थिए र उनी इरानसँगको परमाणु सम्झौतालाई पुनः अघि बढाउने तयारीमा छन् । बेलायत यसअघिदेखि नै सम्झौताको पक्षमा छ। त्यसैले यो सम्झौताका लागि इरानलाई धेरै चिढ्याउनु उनीहरुका लागि फाइदाजनक छैन । त्यसैले इरानसँगको छायाँ युद्धमा अमेरिका र बेलायत अघि आए पनि प्रत्यक्ष संघर्षमा इजरायल एक्लिने सम्भावना छ।
(एजेन्सीको सहयोगमा)













एसबीआई बैंक लुटपाट मा संलग्न ४ जना पक्राउ
मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बदली
50 days to HoR elections: 175 candidates withdraw from PR closed list
कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
प्रतिक्रिया