महाकाली तुइन घटना : छानबिन टोलीद्वारा बैतडीमा छलफल

बैतडी । महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न गठित टोलीले आज बैतडीमा छलफल गरेको छ ।
गृहमन्त्रालयका सहसचिव जनार्दन गौतमका नेतृत्वमा गठित उक्त टोलीले बैतडीका सुरक्षा अधिकारीसँग छलफल गरेको हो । बेपत्ता रहेका जयसिंहको खोजतलास गर्ने विषयमा छलफल भएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।
यही साउन १५ गते तुइनबाट महाकाली नदी तर्नेक्रममा धामी बेपत्ता भएका थिए । बेपत्ता भएको १२ दिनसम्म पनि उनको अवस्था अज्ञात रहेकाले खोजतलासमा तीव्रता दिने विषयमा छलफल भएको बताइएको छ । महाकाली नदी दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुर भएर बग्ने गर्दछ ।
टोलीले बैतडीको महाकाली नदी किनार झुलाघाट क्षेत्रमा खोजतलास गर्न पनि पुगेको थियो । उनले भने, “अन द स्पट गृहको टोली खोजी गर्न झुलाघाट क्षेत्रमा पुग्यो, भेट्टिएनन् ।” बैतडीमा दशरथचन्द नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिका महाकाली नदीसँग जोडिएका छन् । भारतसँग बैतडीको ६१ किलोमिटर सीमा जोडिएको छ । उक्त क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीले नियमितरुपमा खोजी गर्ने भएको छ ।
छलफलपश्चात गृहको टोली बैतडीबाट फर्किएको छ । समितिले कञ्चनपुरसम्म महाकाली नदीसँग जोडिएका जिल्लाका सुरक्षा अधिकारीसँग भेटघाट गर्ने बताइएको छ ।
भारतको बाटो भएर सदरमुकाम खलङ्गा आउने क्रममा व्यास गाउँपालिका–२ मालघाटमा तुइन तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइन काट्दा जयसिंह बेपत्ता भएका प्रत्यक्षदर्शीले बताएका छन् । बेपत्ता जयसिंहको खोजीका लागि दार्चुलामा नेपाल प्रहरीको प्राविधिक टोलीसँगै ड्रोन क्यामेरा प्रयोग गरिएको छ ।
सरकारले घटनाको छानबिनका लागि साउन १७ गते सहसचिव गौतम नेतृत्वमा गठन गरेको छानबिन टोलीमा प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशी रहेका छन् ।
साउन १९ गते दाुर्चला पुगेको उक्त छानबिन टोलीले जिल्लामा रहँदा नेपाल–भारत दुवैतर्फबाट घटना भएको ठाउँको स्थलगत निरीक्षण गर्नुका साथै जिल्लास्थित राजनीतिक दल, जनप्रतिनिधि, पत्रकार, मानव अधिकारकर्मी, स्थानीयवासी र घटनाका प्रत्यक्षदर्शी तथा सुरक्षा निकायसँग छलफल एवं सूचना सङ्कलन गरेको थियो । टोलीले घटनास्थलको नेपाल–भारत दुवैतर्फ स्थलगत अवलोकन अध्ययन पनि गरेको थियो ।
टोलीले घटनाको सत्यतथ्य छानबिन गरी सरकारलाई प्रतिवेदन बुझाउनेछ । टोलीलाई घटनाको प्रतिवेदन बुझाउने समय यही साउन २७ सम्म रहेकोमा सात दिन थप गरिएको छ ।
















आइसिसी विश्वकप लिग–२ : नेपाल र ओमान बीचको खेल सुरु
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापाले सम्बोधन गर्ने
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
प्रतिक्रिया