बिहीबार, वैशाख १०, २०८३

प्रशिक्षक अलमुताइरीबाट गल्ती भयो : पूर्वप्रवक्ता राई

मेरोन्यूज २०७८ साउन २६ गते २१:३८

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वप्रवक्ता किरण राईले फुटबलको पछिल्लो विवादमा मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबाट गल्ती हुन पुगेको आरोप लगाउका छन् ।

Advertisement
NiccNicc

राष्ट्रिय खेलकुद परिषद् (राखेप)द्वारा गठित छानबिन समितिसमक्ष आज बयान दिँदै पूर्वप्रवक्ता राईले सामान्य विषयमा समेत प्रशिक्षक अलमुताइरीले सामाजिक सञ्जालमार्फत एन्फा वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङलाई आक्षेप लगाएर गल्ती गरेको बताए । एन्फामार्फत नै समाधान गर्नुपर्ने विषयमा प्रशिक्षक अलमुताइरीले सामाजिक सञ्जालका माध्यमबाट आरोप लगाउने कार्य उचित नभएको उहाँको भनाइ थियो । प्रशिक्षक अलमुताइरी अनुशासनको दायराबाट बाहिर गएको राईले आरोप लगाए ।

एन्फामा अनुशासन समिति र अपिल समिति हुँदाहुँदै पनि सामाजिक सञ्जालको प्रयोग गर्नु गलत कार्य भएको उनले स्पष्ट पारे । युवा तथा खेलकुद मन्त्रालयको निर्देशनमा राखेपले गठन गरेको छानबिन समितिले आजदेखि एन्फा पदाधिकारी लगायतसित बयान लिन थालेको छ । वरिष्ठ उपाध्यक्ष नेम्वाङसितको विवादका कारण प्रशिक्षक अलमुताइरीले राजीनामाको घोषणा गरेका थिए । उक्त घटनाको छानबिन गर्न मुख्य प्रशिक्षक अलमुताइरी र वरिष्ठ उपाध्यक्ष नेम्वाङले एन्फामा निवेदन दिएका थिए ।

उजुरीपछि एन्फाले छानबिनका लागि युवा तथा खेलकुद मन्त्रालयलाई गुहारेको हो । मन्त्रालयले सो घटनाको छानबिन गर्न राखेपलाई निर्देशन दिएको थियो । राखेपले फुटबल विवाद समाधान गर्न राखेपका बोर्ड सदस्य पुरेन्द्रविक्रम लाखेको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिले आजदेखि विभिन्न व्यक्तिसित बयान लिन थालेको छ ।

प्रतिक्रिया