शनिबार, माघ १२, २०८१

चण्डेश्वरीदेखि गोसाईं स्थानसम्म पर्यटकीय पदमार्ग निर्माण शुरु

मेरोन्यूज २०७८ साउन ३० गते १०:२३
तस्बिरः रासस

बनेपा । काभ्रेपलाञ्चोकको धार्मिक तथा ऐतिहासिक मन्दिर चण्डेश्वरीदेखि गोसाईं स्थानसम्मको पर्यटकीय पदमार्ग निर्माणको काम शुरु गरिएको छ ।

Advertisement

बनेपा नगरपालिकाको गौरवको योजनाअन्तर्गत वडा नं ५ को चण्डेश्वरी मन्दिरदेखि वडा नं ६ को गोसाईंस्थानस्थित महादेव मन्दिरसम्म पर्यटकीय पदमार्गको लागि नगरपालिका र शहरी विकास मन्त्रालयको गरी करिब पाँच करोड आर्थिक सहयोगमा सिँढी निर्माण शुरु भएको हो ।

सिँढी निर्माणको लागि बनेपा नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा विनियोजन गरेको एक करोड ३७ लाखमा ठेक्का आह्वान गरी अहिले सिँढी निर्माण भइरहेको वडा नं ५ का वडाध्यक्ष बलराम अधिकारीले बताए ।

नगरपालिकाको गौरवको आयोजनाअन्तर्गत विभिन्न आयोजनामध्येको सो सिँढी गत वर्षदेखि नै प्रयत्न गरिएकोमा प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन गरी यस वर्ष ठेक्का आह्वान भएर काम अगाडि बढेको हो ।

वडाध्यक्ष अधिकारीले भने, “यो पदमार्ग (सिँढी) निर्माण भएपछि पर्यटकीय गन्तव्य बन्नेछ ।” वडा नं ५ को चण्डेश्वरी मन्दिर छेउबाट शुरु भएर वडा नं ६ को गोसाईंस्थान मन्दिरसम्म पुग्ने सिँढी एक हजार ६०० निर्माण हुने उनले बताए ।

आठ फिटको चौडाइमा निर्माण कार्य थालनी भएको सिँढीको लागि शहरी विकास मन्त्रालयबाट समेत तीन करोड ५० लाख बजेट विनियोजन भइसकेको कारण बाँकी काम पनि छिट्टै हुने उनले बताए ।

यसअघि चण्डेश्वरीबाट गोसाईंस्थान मन्दिर जानको लागि बनेपा बुडोल भएर घुमेर जानुपर्ने अवस्था रहेकोमा सिँढी निर्माण भएपछि छोटो बाटोमा सिधै जान पाउने भएको छ ।

सिँढीसँगै सो क्षेत्रमा पार्किङ, बगैँचालगायतका काम हुनेछ । बनेपाको नै महत्वपूर्ण जङ्गलको रुपमा रहेको चण्डेश्वरी जङ्गल भएर निर्माण हुने सिँढीले वडा नं ६ मा रहेको शहीद पार्कलाई समेत छोएर गोसाईंस्थानसम्म जोडिनेछ ।

विशेष गरी बजार क्षेत्रका मानिस बिहानी हिडाइसँगै धार्मिक हिसाबले मन्दिरमा दर्शन गर्न आउनेलाई समेत सो सिँढी निर्माण भएपछि थप पर्यटकीय क्षेत्रको विकास हुने अपेक्षा गरिएको छ ।

त्यससँगै नगरपालिकाले बुद्धपार्क र पून्यमाता करिडोरलगायतको क्षेत्रमा पनि निर्माणको काम अगाडि बढेको जनाएको छ ।

प्रतिक्रिया