आइतबार, माघ १३, २०८१

१६ वर्षीया प्रियंका : बलत्कारपछि हत्याको आशंका

पक्राउ परेका २ जना विरुद्ध जबरजस्ती करणी र हत्याको अभियोगमा उजुरी

मेरोन्यूज २०७८ भदौ ३ गते १२:४३

काठमाडौं । ३१ साउनदेखि हराईरहेकी लालबन्दी नगरपालिका १७ रानीगञ्जा डाँडाटोल निवासी १६ वर्षीया छोरी प्रियंका भुजेलको हत्या भएको खुलेको छ । हत्यामा संलग्न भएको अभियोगमा २ जना पक्राउ परेका छन् ।

Advertisement

दुई दिनअघि सर्लाहीको लालबन्दीमा मृत फेला परेकी किशोरीको बलात्कारपछि हत्या हुन सक्ने आसंका गरेको छ । प्रहरीले हत्यामा संलग्न भएको आरोपमा दुईजना किशोरलाई पक्राउ गरेको हो ।

लालबन्दी नगरपालिका–१७ रानीगञ्ज डाँडाटोल निवासी राजन भुजेलकी १६ वर्षीया छोरी प्रियंका भुजेलको शव मंगलबार (१ भाद्र)मा लालबन्दी नगरपालिका–६ मा पर्ने कालिन्जोर खोलाको बगरमा खाडल खनेर गाडेको अवस्थामा मृत अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएपी माधव बुढाथोकीले मेरोन्युजलाई जानकारी दिए ।

किशोरीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले लालबन्दी नगरपालिका १७ का १८ वर्षीय किसन साह र १९ वर्षीय अनिष दाहाललाई पक्राउ गरेको छ ।

आफुहरुले हत्या गरी शव गाडेको उनिहरुले स्वीकार गरेको डिएसपी बुढाथोकीले बताए । उनले भने,‘ ‘उनीहरुले नै किशोरीको शव गाडेको ठाउँ हामीलाई देखाएका हुन् । घटनाको थप अनुसन्धान भइरहेको छ ।’

किशोरीका बुवा राजनले पक्राउ परेका दुई किशोरविरुद्ध जबर्जस्ती करणी र हत्या अभियोगमा कारबाही माग गर्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन् । उनीहरुलाई बुधबारै जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले हत्याको कारण भने पत्ता लगाउन सकेको छैन । डिएसपी बुढाथोकीहरुले शवको पोस्टमार्टम रिपोर्टपछि मात्रै हत्याको कारण खुल्ने बताएका छन् तर स्थानियहरुले भने बलात्कार पछि हत्या गरिएको हुन सक्ने आसंका गरेका छन् ।

प्रहरीले आफुहरु अनुसन्धानमै रहेको र पोस्टमार्टम रिर्पोट आएपछि मात्रै हत्याको कारण पत्ता लगाउन सक्ने बताएका छन् । डिएसपी बुढाथोकीले मेरोन्यूजसँग भने,‘हत्याको कारण खोजिरहेका छौँ । अहिले यकिन भइसकेको छैन । हामी विभिन्न कोणबाट अनुसन्धान गरिरहेका छौ, पोस्टमार्टमपछि नै हत्याको बास्तविकता पत्ता लाग्छ ।’

किशोरीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको छ ।

प्रतिक्रिया