किन फुट्यो नेकपा एमाले ?

एमाले शुरुमा २०५४ सालमा विभाजित भयो । हामी नेताहरुले एमालेले लिएको बाटोमा सहमति जनाएनौँ । साहना प्रधान, वामदेव गौतमसहित हामीले नेताहरू मिलेर नेकपा (माले) पार्टी गठन गर्यौं । त्यसबेला ०५४ सालमा एमालेको ६ औँ महाधिवेशन भएको थियो । महाधिवेशनमा भिन्न मतका रुपमा हामीले विषय उठाएका थियौँ । खासमा महाकाली सन्धीको विषयमा पार्टीभित्र चर्काे अन्तर संर्घष थियो । हामीले महाकाली सन्धीको विरोध गर्याौं ।
महाधिवेशनमा महाकाली सन्धीको विषयमा पार्टीभित्र कुरा मिलेन । महाधिवेशनबाट माधव नेपाल महासचिवमा छानिएका थिए । अरू भिन्न मत राख्ने व्यक्तिलाई उपयुक्त संख्यामा केन्द्रीय समितिमा लिइएको थिएन । भिन्न मत राख्नेमा वामदेव गौतम, म, आरके मैनाली, सहाना प्रधान थियौँ । हामीलाई केन्द्रीय सदस्यमा आउन दिइएन, ल्याइएन ।
महाधिवेशन नेपालगञ्जमा भएको थियो । त्यो सकेर काठमाडौँमा आएपछि विरोध बढ्दै गयो । वामदेव गौतमहरू ४० प्रतिशत केन्द्रीय कमिटीमा पुर्याउन लागेका थिए । पार्टीको विवाद मिलाउन नेतृत्वको बैठकमा वामदेव गौतमले मलाई कहिले पनि लगेनन् ।
वामदेव गौतमहरू केन्द्रीय कमिटी र संसदीय दलमा ४० प्रतिशत पुर्याएर पार्टी विभाजन गर्ने तयारीमा लागेका थिए । त्यसलाई माधव नेपाल पक्षले उचित ठानेको थिएन । उनीहरूले नेपाली कांग्रेससँग सल्लाह भएर पार्टी विभाजन गरे । त्यतिबेला गिरिजा प्रसाद कोरालाको नेतृत्वमा सरकार थियो । सरकारमा जाने भन्ने थियो ।
सरकारमा जाने विरोध गर्ने पक्षम वामदेवलगायत उनका निकटहरूमा थियो । त्यसमा म पनि थिएँ । तर, म तीनको कोर टिममा थिएन । उनीहरूले ४० प्रतिशत पुर्याएर पार्टी विभाजन गरेर जाने उद्देश्यको साथमा गौतमहरूले कोशिस गरे छन् ।
यसको संकेत सत्ता पक्षलाई मिल्यो । त्यो कार्य गर्नुभन्दा अगाडि साहना प्रधान, आर के मैनाली, म, वामदेव गौतम लगायत ९ जना स्थायी समिति सदस्यलाई पदबाट मात्र होइन साधारण सदस्यताबाट पनि माधव नेपालहरूले निष्काशन गरिसकेका थिए ।
२०५४ फागुन २१ गते हामी राष्ट्रिय सभा गृहमा सुखानी स्मृति दिवसको कार्यक्रममा थियौँ । त्यही बेला एमाले पार्टीले कारबाही गरेर हामीलाई हटाएको सूचना आएपछि हामीले अलग राजनीति गर्ने सल्लाह गर्यो । हामीलाई फोरम चाहिन्छ भनेपछि विगतकै नेकपा मालेलाई नै पुर्नस्थापना गर्ने फागुन २१ गते घोषणा गरियो ।
फागुन २९ गते सितापाइलामा सम्मेलन वा सानो भेला गरेर हामीले नेकपा मालेको केन्द्रीय समिति बनायौँ । नीतिगत मुद्दामा विवाद बढ्दै गएरपछि संगठनामत्क उपस्थितिमा विवाद चर्कियो । संगठनात्मक उपस्थितिमा विवाद बढेपछि त्यसलाई माधव नेपाल पक्षले सुनुवाई गर्न चाहेन । अस्वीकार गर्यो । त्यस्तो स्थितिमा ४० प्रतिशत पुर्याएर पार्टी विभाजनको दिशामा बढिरहेको थाहा पाएपछि हामीलाई उनीहरुले कारबाही गरे । पार्टी विभाजित हुन पुग्यो । यो चाहिँ ५४ सालको कुरा थियो ।
मैले बाहिर देख्दा नीतिगत कुरा थियो । वास्तवमा भित्र–भित्रै सत्ता, पर्टी सत्ता र राज्य सत्ताको पनि कुरा रहेछ । त्यतिबेला मैले त्यसलाई त्यति गम्भीरताका साथ लिएको थिइन । म फरक धारको मान्छे । मैले महाकाली सन्धिको विरोधको पक्षलाई बलियो बनाउनका लागि मेरा आफ्नो वैचारिक प्लेटफर्मलाई स्थगन गरेको थिए ।
बहुदलीय जनवादको प्लेटफर्ममा सबै थियौँ । महाकाली सन्धिको विरोध गर्ने क्रममा । त्यसमा वामदेव गौतमहरू नेपाली कांग्रेससँग मिलेर बहुमत दिलाए पनि त्यहीअनुसार सत्ताधारीसँग तालमेल मिलाएर जाने कुरा भयो ।
यदि, त्यस्तो भएन भने पार्टी विभाजन गरेर भए पनि सरकारमा जाने उद्देश्यले वामदेवहरू क्रियाशील रहेछन् । त्यसबेला मलाई त्यो कुराको जानकारी दिएनन् उनीहरूले । मसँग त्यस्ता विषयमा कुरा नै हुँदैन थियो ।
तर, सामान्य ४० प्रतिशत पुर्याउने त मलाई थाहा थियो । तर, उनीहरूले नेपाली कांग्रेससँगै मिलेर पार्टी विभाजन गर्ने र पार्टी अलग बनाउने, सत्तामा जाने उद्देश्य राखेको मलाई थाहा थिएन । त्यस्तो स्थितिमा संस्थापन पक्षले कारबाही गरेको हो ।
अहिलेको एमाले विभाजन
एमालेभित्र आठौं र नवौं महाधिवेशनमा माधव नेपाल र केपी ओलीबीचको रस्साकस्सी ठूलै थियो । महाधिवेशनमा नवौंमा पार्टीमा अध्यक्ष जित्नका लागि एक अर्को पक्षको मत तान्ने खोस्ने आदि हुँदै घटना घटेको हो र उनीहरूको बीचमा सम्बन्ध तिक्ततापूर्ण रुपमा विकास भएको थियो ।
एमालेभित्र माधव नेपाल र केपी ओलीबीचको संर्घष उत्कर्षमै थियो । तर, त्यहीबेला माओवादी केन्द्रसँग चुनावी गठबन्धन बनाउने र अन्तत पार्टी एकतासम्म गर्ने प्रसताव आयो । त्यहीअनुसार उनीहरू गए । २०७४ को प्रदेश र केन्द्रीय निर्वाचनमा चुनावी गठबन्धन बनाए । सरकार संयुक्त रुपमा केन्द्रदेखि प्रदेशसम्म भलाए । पछि २०७५ जेठ ३ मा पार्टी एकताको औपचाकिर घोषणा भयो । नाम राखियो–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ।
नेकपा बनेपछि एमालेभित्रको भुसको आगो झै दन्किरहेको विवादमा माओवादी समेत थपिन आइपुग्यो । माओवादीको सिंगो एउटा पक्ष पनि विवादसँग जोडिन आइपुग्यो । त्यसलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि नझेल्न थाले । तर, पछि ओलीसँग प्रचण्डको विवाद चुलियो । उनी ओलीको विपक्षमा खडा हुन थाले । माधवको पुरानो पक्ष र माओवादीको प्रचण्ड पक्षको बहुमत भएपछि ओलीसँगको विवादले उग्र रुप लिन थाल्यो ।
सम्बन्धमा तिक्तता थप चुलियो । पार्टीभित्रै अप्ठ्यारोमा परेपछि ओलीले २०७७ पुस ५ मा संसद विघटनकै घटना घटाइदिए । उनीहरूले केपी ओलीलाई अभियोग लगाएर कारबाही गर्ने दिशामा गए । ओलीसँग सम्झौता गर्ने पक्षमा प्रचण्ड र माधव नेपाल देखिएनन् । त्यसबाट उम्कने, बच्ने केही बाटो नपाउँदा केपी ओलीले संविधानलाई नाघेर संसद विघटनको बाटो रोज्न पुगे ।
सर्वोच्चले त्यो विघटनलार्ई बदर गरेपछि विरोधको गतिविधि बढ्ने भयो । उनी जसरी पनि प्रचण्ड –माधवको बहुमतबाट उम्केर जाने प्रयत्न थिए । फागुन २३ गते सर्वोच्चले एमाले र माओवादीलाई अवैधानिक घोषणा गरिसकेपछि पहिलेका घटक अलग अलग काम गर्न थाले । एमाले एमालेकै रुपमा र माओवादी केन्द्र माओवादी केन्द्रकै रुपमा ब्यूँतिए ।
त्यसपछि एमालेमा आन्तरिक द्वन्द्व भयो । अब त्यो द्वन्द्वका क्रममा नेकपा हुँदा उत्कर्षमा पुगेको द्वन्द्वले एमालेमा पनि प्रवेश पायो । एमालेभित्रको द्वन्द्व फेरि केपी ओली र माधव नेपाल समूहका रुपमा हुन थाल्यो । र अहिले अध्यादेशको कानुनी त्यान्द्रो समाप्दै पार्टी नेताहरु अलग अलग बाटो लाग्ने गरी गए ।
पार्टी विभाजन उनीहरूले लिएको गलत कार्यदिशा, संगठन सञ्चालनको गलत विधिको परिणाम हो । २०३९ सालदेखि एमालेभित्र पार्टी सञ्चालन गर्ने विधि अराजनीतिक खालको थियो । उनीहरूले कार्यकर्ताको राजनीतिक मूल्यांकन गर्ने नभएर गुटबन्दीको आधारमा मूल्यांकन गर्ने विधि आयो । ३९ सालदेखि कार्यकर्ताको मूल्यांकन अराजनीति ढंगबाट हुन थाल्यो । गुटबन्दी बढ्यो । आफ्नो गुटलाई बलियो बनाउन राष्ट्र, जनताका स्वार्थलाई भन्दा पनि आफ्नो स्वार्थ हेर्न थालियो । राष्ट्रिय स्वार्थलाई घात गर्ने प्रवृत्ति बढ्यो । अहिले आएर गुटबन्दी झनै बढ्दै गयो ।
३९ सालदेखि सुरु भएर अहिलेसम्म लगभग २८-२९ वर्षमा त्यो निषेधमा परिणत भएको देख्छु । उनीहरूभित्रको पार्टी सञ्चालनको गुटबन्दी, राष्ट्रघाती प्रवृतिपछि अन्ततः निषेधको राजनीतिमा पुग्यो । यसले अन्ततः पार्टीलाई नै विभाजनको अवस्थामा पुर्यायो ।
अर्काे कुरा, २०४९ सालमा आउँदा एमालेको पाँचौ राष्ट्रिय महाधिबेशनबाट माक्र्सवाद बढी स्वखलित भयो । स्वखलित भएको सिद्धान्तलाई उनीहरुले क्रान्तिको सिद्धान्त बनाए । मदन भण्डारीको निधनपछि पार्टीले त्यसलाई आफ्नो मार्ग दर्शन सिद्धान्त बनायो । त्यसले गर्दा गलत र सही सारालाई पार्टीमा ल्याएको हुनाले पार्टी संख्यात्मक विस्तार त भयो । तर, निरन्तर त्यसको गुणात्मकतामा स्खलन हुँदै गयो ।
२०४९ सालमा जनताको बहुदलीय जनवादलाई त्रन्तिको सिद्धान्त मान्ने र पछि त्यसलाई मार्ग दर्शनको सिद्धान्त मानेर जाने कुराले संख्यात्मक वृद्धि भयो तर गुणनात्मकरुपमा ठूलो स्खलन आयो ।
यी दुई कुरा कम्युनिष्टको आन्दोलनमा मुख्य समस्या हो । अहिले आएर यी दुई कुराको संयोजनले अन्ततः पार्टीभित्र विवाद, द्वन्द्व र विभाजनमा आइपुगेको छ । गलत नीति लिनु र तिनीहरूको परिणाम स्वरुप विभाजन हुनु स्वभाभिक रुपमा कम्युनिष्ट आन्दोलनलाई ठूलो नोक्सान भयो ।
जति भने पनि गल्तीलाई उनीहरूले महुसुस गरेनन् । न त्यो गल्तीलाई केपी ओली पक्षले महसुस गर्यो न माधव नेपाल पक्षले गर्यो । गलत कुरामा नै उनीहरू निरन्तर अगाडि बढ्दै गए । अन्ततः त्यसैले अहिलेको अवसानको अवस्था एमालेमा निम्ताइदियो ।
अब घटना नै भएपछि त्यसले नोक्सान गर्ने नै भयो । उनीहरूलाई यो ठाउँमा पुर्याउन देशभित्रका कम्युनिष्ट विरोध दक्षिणपन्थी शक्तिहरू, बाहिरका नेपाल विरोधी शक्तिहरूको भूमिका छ ।
अहिले यो विभाजनको निम्ति शेर बहादुर देउवा नेतृत्वको सरकारले २० प्रतिशत सांसद वा केन्द्रीय समितिको बलमा पार्टी बनाउन सकिने अध्यादेश ल्याइदिए । एमाले विभाजनकै लागियो खालको अध्यादेश सरकारमा बस्नेले नै ल्याइदिए ।
उनीहरुले नै भनेका थिए, अहिलेको व्यवस्था स्थिरताको व्यवस्था थियो । तर, ढोल पिटिएको जस्तो त बनेन । त्यसको परिणाम के होला ? त्यसमा के प्रभाव पर्ला भनि वास्ता नगरिकन अध्यादेश सरकारले ल्याइदियो । र त्यसले एमालेलाई विभाजनमा पुराइदियो ।
वाम पार्टी फेरि मिल्न सक्छन् ?
कम्युनिष्टहरु अहिले पनि विभिन्न चिरामा छन् । यी पार्टीहरुबीचको धुव्रीकरणको बहस पनि बेलाबेलामा उठ्ने गर्छ । हामी अब एउटै धारमा हुन सक्छौँ ? प्रश्न छ । एमाले विभाजित भएर २०५४ सालमा हामीहरुले माले बनायौँ । २०५८ सालमा हामीबाट छुटेर वामदेवहरु एमालेमै गए । मैले गलत सिद्धान्त गलत मान्यतालाई बोकेर म जादैन भने । बाहिरै बसेँ । म गइनँ । मलाई नबोलाएका होइनन् । बोलाएका हुन् । मलाई कर नगरेका होइन् तर मैले संख्या बढाउनुको कुनै अर्थ छैन भनेर एमालेमा गइन् ।
तपाइहरुले छोड्नु भएको छ र राष्ट्र र जनताको हित गर्ने नीतिमा घात गर्नु भएको छ । गुटबन्दी गर्नु भएको छ । त्यस्तो ठाउँमा म गएर मैले पिल्सनेबाहेक केही पनि हुदैन । नत मैले काम गर्न पाउछु नत विवाद भइरहे पार्टीले काम गर्न दिन्छ । त्यही भनेर म एमाले फर्किन ।
वामदेव, माधव नेपालको समूह भयो । केपी ओलीको समूह भयो । अध्यादेश रह्यो भने अरु समूह निस्कने हुन् की एमालेबाट । त्यो म अहिले भन्न सक्दिनँ ।
३९ सालमा पार्टी सञ्चालन विधिमा जुन गम्भीर गल्ती भएको थियो र त्यो गल्ती बढ्दै बढ्दै अराजनीति नेता कार्यकर्ताको मूल्यांकन हुने, इमान्दार नेता कार्यकर्ताको मूल्याकंन नहुने, गुटबन्धी चलाउने, गुटको फाइदाका लागि सबै चिज गर्ने तर देश र जनताको स्वार्थ प्राथमिकतामा नपर्ने भएपछि, माक्र्सकवादबाट स्खलन हुने सिद्धान्त अपनाउने त्यसलाई मार्गदर्शक बनाउने र त्यो अनुरुप माक्र्सवादी चरित्र चाहिँ घुमाउँदै जाने जुन काम भएको छ त्यसको समीक्षा हुनु पर्छ ।
माले एमालेको इतिहासमा त्यो समीक्षा हुनु पर्यो । नेपालको कम्युनिष्ट आन्दोलनको इतिहास ७१ पुगेर ७२ लागेको छ । यसबीचमा यो आन्दोलनमा जे जति राम्रा कुराहरु समाजको विश्लेषण, क्रान्तिको विश्लेषण र संयुक्त आन्दोलनको कार्य नीतिलाई लिएर त्यसलाई प्रयोग गर्दै कम्युनिष्ट आन्दोलनले पाउनु पर्ने उपलब्धी पायो र शिखरमा पुग्यो । त्यो अहिले तल झरयो ।
नेपाली क्रान्तिको विशिष्ट बाटो के हो ? भन्ने कुरामा स–साना परिवर्तन गर्दै अनुकूल समयमा ठूलो आमुल परिवर्तन गर्ने र समाजवादको ढोका खोल्ने हाम्रो बाटो रहेछ यो थाहा नपाउँदा सिंगो कम्युनिष्ट आन्दोलन नै एक किसमले यो हरि बतासको पच्छी जस्तो भएको छ ।
(मेराे न्युजकर्मी हरि भट्टसँग गरेको कुराकानीकाे सम्पादित अंश)
















नेपालकै पहिलो डिजिटल इकोसिस्टम ग्लोबल डायरी सञ्चालनमा
प्रहरी हवल्दार मृत्यु प्रकरणमा थप एक जना पक्राउ
नेप्सेमा झिनो गिरावट, आठ अर्ब ६९ करोडकाे काराेबार
आर्थिक लाभ नदिने ‘खुद्रे तथा टुक्रे’ आयोजनामात्र रोकिएको हो : अर्थमन्त्री खनाल
Ukraine plans presidential elections, vote on peace deal with Russia: media
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा
रुसी जनरलमाथि गोली हान्ने संदिग्ध व्यक्ति दुबईबाट पक्राउ
कांग्रेस अनुशासन समितिको संयोजकमा गुरुङ
प्रतिक्रिया