शुक्रबार, फागुन २२, २०८२

पहिरोले मुहान बगाएपछि बगरफाँटमा खानेपानीको हाहाकार

मेरोन्यूज २०७८ भदौ ७ गते ७:२१

गलेश्वर । बेनी नगरपालिका–२ बगरफाँटमा पहिरोले खानेपानीको मुहान र पाइपलाइन बगाएपछि खानेपानीको हाहाकार भएको छ । गत असार ७ गते मरुवा, उपल्लो खन्ना र बाङ्खे छहरोमा गएको बाढी तथा पहिरोले मुहान र पाइप लाइन बगाएपछि यहाँका २०८ घर परिवारलाई खानेपानीको चरम समस्या भएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

यस बिचमा पाइपको सामान्य मर्मत गरेर केही दिन पानी सञ्चालन गरिएको भए पनि लगातारको वर्षाका कारण ठाउँठाउँमा पहिरो गएर पाइपमा क्षति पुर्‍याए पछि बगरफाँटका बासिन्दा विगत दुई महिनादेखि खोला र कुवाको पानी पिउन बाध्य छन् ।

गाउँमा रहेका २८ धारामा पानी नआएपछि यहाँका बासिन्दा कुँवा र म्याग्दी नदीको धमिलो पानी उमालेर पिउन बाध्य भएका बेनी–२ बगरफाँटका गोपाल शर्माले बताए । सो स्थानमा दुई सय १४ घरधुरी छ ।

विसं २०६९ मा बेनी–३ भकिम्ली र बेनी–२ ज्यामरुककोटका सिमानामा पर्ने कोप्रे खोलाको मुहानबाट पानी ल्याई बगरफाँटका २८ धारामा वितरण गरिएको थियो ।

५४ लाखको लागतमा बगरफाँट खानेपानी तथा सरसफाइ आयोजनाले योजना सम्पन्न गरी गाउँमा खानेपानीको सुविधा उपलब्ध गराएको थियो ।

यसपछि वर्षेनी बर्खाका समयमा बाढी र पहिरोले पाइपलाइनलाई क्षति पुर्‍याउँदा मर्मत गरी पानी सञ्चालन गर्ने गरिएकोमा यस वर्ष भने पाइप लाइन र मुहानलगायत सात ठाउँमा ठूलो पहिरो गएकाले सामान्य मर्मतले मात्र सम्भव नहुने र निरन्तर वर्षा भइरहेकाले मर्मत गर्न नसकिएको आयोजनाका अध्यक्ष कृष्णबहादुर कार्कीले बताए ।

उनका अनुसार अझै केही दिनसम्म समस्या यथावत रहने र वर्षा रोकिएपछि मर्मत अघि बढाइने छ । गाउँका पुछारमा म्याग्दी नदी र शिरानमा आप्रे, उडाइनो, मुलछहरी, कोप्रेझरनालगायतका पानीका आधा दर्जन बढी स्रोत रहेका भए पनि ती पानीका स्रोतलाई व्यवस्थित गर्न नसक्दा यहाँका बासिन्दाले वर्षौंदेखि खाने पानीको समस्या झेल्दै आएका छन् ।

प्रतिक्रिया