शनिबार, वैशाख २७, २०८२

कांग्रेस १४औँ महाधिवेशन :

बाराका दुई र सप्तरी तीन निर्वाचन क्षेत्रका नयाँ क्रियाशील सदस्य महाधिवेशनमा भाग लिन वञ्चित

मेरोन्यूज २०७८ भदौ ८ गते १७:३९

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा दुई जिल्लाका पाँच निर्वाचन क्षेत्रका नयाँ क्रियाशील सदस्यले भाग लिन नपाउने भएका छन् ।

केन्द्रीय सदस्यता छानबिन समितिले बाँकी राखेका विषय समाधान गर्न गएको साउन ३० गते गठित कृष्णप्रसाद सिटौला नेतृत्वको क्रियाशील सदस्यता विवाद समाधान समितिले पाँच निर्वाचन क्षेत्रका नयाँ सदस्यलाई १४ औँ महाधिवेशनमा भाग लिन नदिने निर्णयसहितको १० बुँदे प्रतिवेदन बुझाएको हो । सोमबार सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गरिएको प्रतिवेदनले अरू क्षेत्रका विषयमा पनि निर्णय गरेको छ ।

“बाराको क्षेत्र नम्बर–२ अन्तर्गत पचरौता नगरपालिकाका १, २, ६, ७, ८, ९ नम्बर वडा, सुवर्ण गाउँपालिकाका २, ३, ४ नम्बर वडा, देवताल गाउँपालिको वडा नम्बर–४, महागढी नगरपालिकाकाका १, २, ४, ६ र ७ नम्बर वडा र करैयामाई गाउँपालिकाका २ र ५ नम्बर वडाका नयाँ सदस्यले पनि महाधिवेशनमा भाग लिन पाउने छैनन्” प्रतिवेदनमा भनिएको छ ।

बाराको क्षेत्र नम्बर–३ अन्तर्गतको फेटा नगरपालिकाको ७ नम्बर वडा, कलैया उपमहानगरपालिकाको वडा नम्बर–१४ र जितपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर–१४ का नयाँ सदस्यलाई पनि १४औँ महाधिवेशनमा भाग लिन पाउँने छैनन् ।

सप्तरी जिल्लामा प्रतिनिधिसभा क्षेत्र नम्बर–१, क्षेत्र नम्बर–३ र क्षेत्र नम्बर–४ र बारा जिल्ला प्रतिनिधिसभा क्षेत्र नम्बर–१ र क्षेत्र नम्बर–४ को नयाँ क्रियाशील सदस्यता १४औँ महाधिवेशनेका लागि स्थगन गरी १४औँ महाधिवेशनपछि प्रक्रिया पुर्‍याई क्रियाशील सदस्यता दिने भएको छ ” समितिको प्रतिवेदनको बुँदा नम्बर ५ (ख) मा भनिएको छ, “यी प्रतिनिधिसभाहरूका सबै वडाहरूमा १४औँ महाधिवेशनको प्रक्रियामा नवीकरणले मात्र भाग लिने ।”

समितिको प्रतिवेदनानुसार सप्तरीको क्षेत्र नम्बर–३ अन्तर्गत रुपनी गाउँपालिकाको वडा नम्बर–२ र शम्भुनाथ नगरपालिकाको वडा नम्बर–३, ५, ७, ८, ११ र १२ का नयाँ क्रियाशील सदस्यले पनि १४औँ महाधिवेशनमा भाग लिन पाउने छैनन् ।

प्रतिक्रिया