सोमबार, चैत १६, २०८२

खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे

मेरोन्यूज २०८२ चैत १५ गते २०:२७

नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइराला पक्षले नवनिर्वाचित सांसदका लागि बधाई कार्यक्रम राखेको छ। 

Advertisement
nepal life insurencenepal life insurence

सोमबार दिउँसो १ बजे महाराजगञ्जको स्मार्ट होटलमा कांग्रेसबाट निर्वाचित प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यलाई बधाई कार्यक्रम राखेको हो।

शनिबार कांग्रेसले पार्टी कार्यालय सानेपामा प्रतिनिधि सभा र राष्ट्रिय सभाका नवनिर्वाचित सांसदलाई ‘संसदीय सचेतना’ कार्यक्रम आयोजना गरेर अभीमुखीकरण तालिम दिएको थियो। 

त्यसलाई काउन्टर हुने गरी पूर्णबहादुर खड्का र कोइरालाले सोमबार बधाई कार्यक्रम राखेको देखिन्छ। कांग्रेसको खड्का र कोइराला समूहले समान्तर गतिविधि अगाडि बढाएको छ। 

शनिबार बिहान एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखकलाई गिरफ्तार गरेको विरोधमा खड्काले कार्यवाहक सभापतिको नाममा विज्ञप्ति निकालेका थिए। कांग्रेसले ‘कार्यवाहक सभापति’का रूपमा खड्काले विज्ञप्ति जारी गरेको विषयलाई गम्भीर रूपमा लिएको छ। 

गत पुस मसान्तमा तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा विशेष महाधिवेशन भएपछि कांग्रेस दुई भागमा विभाजित भएको छ। विशेष महाधिवेशनले १४औँ महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवाको कार्यसमिति भंग गरी थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति चयन थियो। 

निर्वाचन आयोगले थापा नेतृत्वको कांग्रेसलाई मान्यता दिने निर्णयविरुद्ध देउवा र खड्काले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। यस रिटमा चैत २२ गते सर्वोच्च अदालतमा पेसी तोकिएको छ। 

देउवा-कोइराला समूहले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको बैठक पनि बोलाएको छ। महाराजगञ्जको होटल स्मार्टमा चैत १८ गते दिउँसो १ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक, सरकारको धरपकड र चुनावी परिणामको समीक्षा हुने देउवा-कोइराला समूहका नेताको भनाइ छ। 

यता कांग्रेसकाे गगन थापा समूहले चैत १८ गते नै अनुशासन समितिको जरुरी बैठक बोलाएको छ। बैठक पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइराला पक्षलाइ कारवाही र स्पष्टीकरणका लागि बाेलाइएकाे बताइन्छ ।

प्रतिक्रिया