रायखोरको पहिराेले राहुघाट नदी थुनियो, सतर्कता अपनाउन आग्रह

म्याग्दी । रघुगङ्गा गाउँपालिकाको रायखोरमा आज बिहान पहिरो खसेर राहुघाट नदी थुनिएको छ । रघुगङ्गा–६ मा पर्ने रायखोर र मूलपानीको बिचमा रहेको पहिरो खसेर राहुघाट नदी थुनिएर तलाउ बनेको छ ।
वडा नं ६ र ७ को गौडामुनी भन्ने ठाउँको सिमानामा पहिरो खसेको स्थानीयवासी प्रदीप मगरले जानकारी दिए । “करिब ५०० मिटर लामो र ५० फिटभन्दा बढी गहिरो तलाउ बनेको छ”, उनले भने, “निरन्तर पहिरो खसिरहेको छ ।”
राहुघाट कालीगण्डकी नदीको सहायक नदी हो । नदी थुनिएको ठाउँ वरपरको जमिन जलमग्न भएको छ । तलाउ भरिएर ‘ओभरफ्लो’ हुन थालेपनि जोखिम कायमै रहेको मगरले बताए ।
गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले नदी थुनिएको खबर पाउने बित्तिकै तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरिएको जानकारी दिए ।
राहुघाटको तटीय क्षेत्रमा ४८.५ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत आयोजनाको विद्युतगृह, ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको बाँध निर्माणाधीन छन् ।
बेनी नगरपालिका–९ र रघुगङ्गा गाउँपालिकाको राहुघाटमा आएर राहुघाट नदी कालीगण्डकीमा मिसिन्छ । प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले चिमखोलामा रहेको सेनाको क्याम्पबाट सुरक्षाकर्मीलाई तलाउ निरीक्षणका लागि पठाइएको र तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरिएको बताए ।











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया