केपी-वामदेव : ‘दोस्ताना’ को सम्वन्धमा ‘ब्रेकअप’
एमाले छोडेपनि ओलीसँगको सम्वन्ध सम्झेर वामदेवले भनेका छन् –‘ब्यक्तिगत सम्वन्ध मित्रतापूर्ण रहोस भन्ने अपेक्षा छ ।’

एमाले अध्यक्ष केपी ओली गलत विचार, प्रवृत्ति र शैलीमा चलेको आरोप लगाउँदै बामदेव गौतमले एमाले परित्याग गरेका छन् । उनले ओलीसँगको चार दशक पुरानो व्यक्तिगत सम्वन्ध भने मित्रतापूर्ण रहिरहने अपेक्षा सहित विहिवार एमाले परित्याग गरेका हुन् ।
एमाले -माओवादी मिलेर नेकपा बन्दा नेकपाको राजनीति वामदेव केन्द्रीत भएर धेरै समय घुम्यो । कहिले ओलीले वामदेव फकाउँथे, कहिले प्रचण्डले ।
पार्टीभित्रको अन्तरसंर्घषमा शुरुमा प्रचण्ड र माधव नेपालतिर खुल्ने र निर्णायक घडीमा ओलीतिर खुलिदिने गर्थे बामदेव । जसकाकारण ओलीको अप्ठ्यारो सजिल्यै बामदेवले टारिदिन्थे । उनै बामदेवले विहिवार देखि ओलीसँगको राजनीतिक सहयात्रा ‘औपचारिक रुपमा’ तोडेका छन् ।
तर ब्यक्तिगत सम्वन्ध भने ओली र गौतमका निक्कै उतारचढावपूर्ण रहेको देखिन्छ । ओलीसँगको सम्वन्धका वारे एक प्रसंगमा नेता गौतमले भनेका थिए,–‘केपी ओली कस्तो मान्छे हो भन्ने कुरा बाहिर भनेर जान्ने भन्दा पनि म आफैले जानेको व्यक्ति हो । दुःखको बेलाको साथी ! दुःखका वेलाको सम्बन्ध अरु कसैले तोड्न सक्दैन । केपीसँग त मेरो सम्वन्ध त्यही दुःखका वेलाको ‘दोस्ताना’ हो ।’
जेलमा भएको पहिलो भेट :
केपी – बामदेव वीचको पहिलो भेट २०३४ सालमा भएको थियो । झापा आन्दोलन गर्दा ओली पक्राउ परेर काठमाडौंको सेन्टल जेलको ‘गोलघर’मा थिए । वामदेव पनि पछि पक्राउ परे,– २०३३ सालमा । उनी भैरह्वा जेलवाट काठमाडौं सारिए । त्यसपछि नै हो, – केपी र वामदेवका वीचमा पहिलो पल्ट भेट भएको ।
‘केपीसँग मेरो पहिलोपल्ट भेट उहाँ जेल (सेन्ट्रल) को सेल (गोलघर) भित्र बसेको बेला भएको हो । मलाई पनि भैरहवावाट सेन्ट्रल जेलमा ल्याइएपछि भएको हो’ – पहिलो भेट सम्झदै बामदेवले एक अन्र्तवार्तामा भनेका थिए ।
केपी–वामदेव सेन्टल जेलमा ७/८ महिनामात्र सँगै रहे । एउटै जेलभित्र रहे पनि यी दुई नेताका वीचमा सधै भेटघाट भने हुदैनथ्यो । जेलभित्रको पनि जेल (जसलाई गोलघर पनि भनिन्छ) मा ओली, राधाकृष्ण मैनाली, मोहनचन्द्र अधिकारी, क्याप्टेन यज्ञवहादुर थापा र भीम नारायण श्रेष्ठसँगै थिए । वामदेवलाई भने गोलघरमा राखिएको थिएन, उनी जेलको ‘सामान्य वार्ड’ मा थिए ।
तत्कालिन मुक्ति मोर्चाको राजनीति गर्दा बामदेव प्रक्राउ परेका थिए भने केपी, राधाकृष्णहरु झापा कोओडिनेसन केन्द्रको राजनीति गर्दा । केपी र वामदेवहरु सँगै त्यसवेला जेलमा रहेका राधाकृष्ण (आरके) मैनाली सम्झन्छन्, –‘एउटै जेलभित्र रहेपनि वामदेवजी सामान्य वार्डमा र हामी केपी सहित गोलघरमा थियौं, जेलभित्रै सिधा–सिधा कुरा गर्न पाइदैनथ्यो, खाना खाने वेलामा देखाभेट हुने र उभिएर कुराकानी हुन्थ्यो, धेरै जसो जेलभित्रै पनि हामीले चिट्टी आदान–प्रदान गरेर कुराकानी गथ्यौं ।’
मैनालीका अनुसार, त्यसवेला जेलभित्रै कुराकानी गर्नका लागि केपी–बामदेवहरुले तातोपानी राख्ने थर्मस, खानेकुरा लगायतमा प्रहरीको आखाँ छलेर चिट्टी आदान–प्रदान गर्थे । ओली त्यसवेला पनि विरामी भएका कारण ख्याउटे थिए, उभिएर समेत कुराकानी गर्न सक्ने अवस्थामा थिएनन ।

‘ओली जी छोटा –छोटा चिट्टी लेख्थे – वामदेवलाई । वामदेवले पनि चिट्टी पठाउँथे,’ मैनाली भन्छन्,–‘ अहिले त वामदेव फूर्तिलो देखिन्छन, झन त्यो वेला उहाँको फूर्तिलोपन धेरै नै थियो, उहाँ खोजीनीति गर्ने, उत्सुकता राख्ने स्वभावका हुनुहुन्थ्यो, सक्रिय थिए, त्यही भएर पनि हाम्रो राम्रो दोस्ती जमेको थियो ।’
७/८ महिना केपी–वामदेव एउटै जेलमा रहेपछि वाक्लिएको सम्वन्ध प्रहरीलाई चित्त वुझेन । उनीहरुको सम्वन्ध टुटाउनकै लागि बामदेवलाई दमौली जेलमा सरुवा गरियो । त्यसवेला ओली निरन्तर १४ वर्ष र गौतम २ वर्ष फरक–फरक जेलमा वसेका थिए ।
वामदेव ओलीभन्दा झण्डै ४ वर्ष जेठा
उमेरका हिसावले ओली भन्दा पाका उमेरका नेता हुन्–वामदेव गौतम । २००५ साल असार ५ मा प्यूठानमा जन्मिएका बामदेव केपी भन्दा ठ्याक्कै उमेरमा ३ वर्ष ८ महिना ६ दिन जेठा छन् । केपी २००८ साल फागुन ११ मा तेहथुममा जन्मिएका थिए ।
उमेरमा पाका भएपनि गौतम हट्टाकट्टा छन् अन्य नेताका तुलनामा । ओली गृहमन्त्री, उपप्रधानमन्त्री हुँदै दुई पटक प्रधानमन्त्रीको कुर्सीमा पुगे ।
समकालिन कम्युनिष्ट नेतामध्ये वामदेव भने प्रधानमन्त्री वन्न पाएका छैनन । यद्यपी, उनले पनि पटक–पटक मन्त्री, उपप्रधानमन्त्री सम्मको जिम्मेवारी सम्हालिसकेका छन् । प्रधानमन्त्री वन्ने उनको महत्वाकाक्षा अहिले पनि जागै छ ।
शुरुमा फरक धारमा भएपनि मुक्ति मोर्चा र कोओडिनेसन केन्द्र एकै भएपछि यी दुई नेता एउटै पार्टीमा आवद्ध हुन पुगेका थिए ।
ओली भन्दा गौतम पार्टीको केन्द्रीय समितिमा अगाडी पुगेका थिए । तत्कालिन मालेले जेलमा रहेका नेतालाई पार्टी केन्द्रमा नराख्ने नीति वनाएका कारण ओली भन्दा गौतम पहिले पार्टी केन्द्रीय समितिमा पुगेका थिए ।
२०४४ सालमा १४ वर्ष लामो जेल जीवन भोगेर निस्केपछि मात्र ओली पार्टीको केन्द्रीय समितिमा पुगेका थिए । वामदेव लडाकु स्वभावका छन् । दुस्साहसपूर्ण निर्णय लिन परे पनि हिच्चकिचाउदैनथे । यो स्वभाव केपीमा पनि छ । केपी कुनै पनि कुराको छिटो –छिटो तर्क गर्न सक्ने क्षमता राख्छन् । मदन भण्डारी सँगै रहँदा यी दुई नेताका वीचमा पार्टीमा कुनै विवाद भएन । भण्डारी जीवित रहँदासम्म दायाँ– वायाँ ओली र गौतम नै हुन्थ्थे । भण्डारीले केपीलाई पार्टीको ‘मस्तिष्क’ र वामदेवलाई ‘शरीर’ भएको वताउने गरेको त्यसवेलाका समकालिन नेताहरु वताउँछन् ।
पार्टीवाट निकालिदिने मदन भण्डारीको चेतावनी
२०४७ सालमा तत्कालिन नेकपा माले र माक्र्सवादीका वीचमा पार्टी एकता भयो । मालेतिर रहेका केपी–वामदेवलाई एकतापछि माक्र्सवादीका नेताहरुवाट ‘हिमुलेसन’ भएको, माक्र्सवादीका नेताहरुले आफुहरुलाई ‘डोमिनेट’ गर्न थालेको महसुस भईरहेको थियो ।
लगत्तैको २०४८ को संसदीय चुनावमा माक्र्सवादीका नेताहरुले वढी सिट माग दावी गरीरहेका थिए । त्यही वेला पार्टीको राष्ट्रिय परिषद् बैठक बस्यो । पाटनमा सिद्धिलाल सिंहको व्यवस्थापनमा वसेको परिषद् वैठकमा पनि माक्र्सवादी तर्फका नेताहरुले चुनावमा वढी सिटमा टिकट दावी प्रस्तुत गरे ।
यो ओली–गौतमलाई चित्त वुझिरहेको थिएन । त्यसवेला ओली ग्वार्काेमा डेरा लिएर वस्थे । ओलीले आफ्नै डेरामा वामदेव, अमृत बोहोरा र गुरु बराललाई छलफलका लागि वोलाएर माक्र्सवादी सँगको एकता भाँडौँ भन्ने प्रस्ताव राखे । ओलीको त्यस्तो प्रस्ताव पछि वोहोरा कुरै नसुनी निष्किए । गुरु वराल पनि सुने–नसुने झै गरि वाहिरिए । केपी–वामदेवले आफुहरु दुई जना मात्रै भएपनि सवैतिर भड्काउने योजना वनाए । केपीको डेरामा त्यसवेला ल्यान्डलाइन टेलिफोन थियो । ओलीले पूर्वतिर र वामदेवले पश्चिमतिर कुरा गरेर पार्टी एकता भड्काउने योजना वनाए ।
पार्टी एकता भड्काउन ओली–गौतम लागेको रिपोर्ट त्यसवेलाका पार्टी महासचिव मदन भण्डारीले सुइको पाए । एकदिन पार्टी कार्यालयमा दुवै नेता पुगेका वेला भण्डारीले आफ्नो कार्यकक्षमा बोलाएर झाँकेको स्वंम गौतम स्मरण गर्छन् ।
‘मदन भण्डारीले हामीलाई बोलाएर ए कमरेडहरू तपाइहरूले पार्टी एकता भाँड्न लाग्नुभएको छ रे । ठाउँठाउँमा फोन गरिराख्नुभएको रहेछ, यस्तो काम बन्द गर्नुस्,’ भन्नुभयो । हामीले कहाँ भाँड्ने ? भन्दै ढाँट्यौँ । तर, हामी एकता भाड्नमै लागिरहेका थियौं,’ त्यसवेलाको घटना सम्झदै वामदेवले एक सन्र्दभमा भनेका थिए, –‘फेरी दुई दिनपछि महासचिव (मदन भण्डारी)ले हामीलाई कार्यालयमा बोलाएर भन्नुभयो–तपाईंहरूलाई म सिरियस्ली भन्दै छु, अस्ति भनेपछि पनि बन्द गर्नुभएन, अझै जारी राख्नुभएको छ । भोलिसम्म पनि त्यस्तो काम बन्द गर्नु भएन भने पर्सी वक्तव्य निकालेर तपाईंहरू दुवैलाई पार्टीबाट निष्कासन गर्छु । त्यसपछि पार्टीवाट निश्कासन हुने डरले हामी एकता भाड्न रोकिएका थियौं ।’
महाकाली विवादमा ‘वार–पार’

मदन भण्डारीको दाशढुंगा दुर्घटनामा निधनपछि पार्टी महासचिवको जिम्मेवारीमा आएका थिए, –माधव नेपाल । पार्टी केन्द्रीय समितिले नेपाललाई महासचिव वनाएको थियो । तर गौतम नेपालालाई छैटौं महाधिवशेन अगाडी नै महासचिववाट हटाउन लागेका थिए । त्यसवेला झलनाथ खनाल, साहना प्रधान, सिपि मैनाली लगायत नेताहरुको साथ गौतमलाई थियो ।
उनीहरुले ओलीलाई पार्टी महासचिवको अफर गदै नेपालविरुद्ध मोर्चा कस्न खोजेका थिए । तर ओलीले त्यसवेला गौतमलाई साथ दिएनन । उनले नेपालकै पक्षमा आफुलाई उभ्याएको ओली निकट नेकपाका एक केन्द्रीय सदस्यले वताए ।
त्यही वेला महाकाली सन्धिका विषयमा तत्कालिन एमालेभित्र चर्काे विवाद भयो । २०५३ सालमा एकीकृत महाकाली सन्धिलाई सदनबाट पारित गर्ने÷नगर्नेमा एमाले दुई चिरा भयो । केपी, माधव नेपालहरु पारित गर्ने पक्षमा र वामदेव, सिपि मैनालीहरु पारित गर्न नुहने पक्षमा कित्ताकाट भए । पार्टीमा यो विषयमा मत विभाजन नै भयो । एक मतले मात्र पारित गर्ने पक्षको जित भयो । त्यही कारण तत्कालिन एमाले विभाजन हुन पुग्यो ।
महाकाली सन्धि राष्ट्रघात भएको भन्दै साहना प्रधान, वामदेव, सिपि मैनालीहरुले नयाँ पार्टी वनाए – नेकपा माले । ‘खास सैद्दान्तिक विवाद नै थिएन, खासगरी त्यो वेला ओली र गौतमको इगो विवादका कारण पार्टी विभाजनसम्म हुन पुग्यो, ’ एमालेका नेताहरु भन्थे ।
तर त्यो पार्टी विभाजन लामो समय टिकेन । २०५४ माघमा नेकपा माले गठन गर्न पुगेका वामदेव फेरि २०५८ फागुनमा मु्लघरमै फर्किए । गौतम मुल घरमा फर्किने वेलामा ओलीले पार्टीमा फरक मत राखेका थिए ।
मनमोहन अधिकारीको ९ महिने अल्पमतको सरकारका वेला पार्टीका नेताहरु माधव नेपाल देखि केपी ओलीसम्म सरकारमा गए । वामदेव पार्टीमै रहेका थिए । त्यसवेला गौतमलाई पार्टी जिम्मेवारी सम्हाल्ने गरी विधानमै नभएको उपमहासचिव वनाइयो ।
पछि सरकार पार्टीवाट हटेपछि गौतमलाई उपमहासचिव पदवाट राजीनामा दिन केपी – माधव दुवैले दवाव दिएका थिए । तर उनले असन्तुष्टि जनाउँदै उपमहासचिव र कन्द्रीय सदस्य दुवै वाट राजीनामा दिए । त्यसवेला पार्टीले गौतमले दिएको उपमहासचिव पदको राजीनामा मात्र स्वीकृत गरेको थियो ।
बामदेवलाई कारवाही गर्न ओलीकै प्रस्ताव
२०६२ मा तत्कालिन विद्रोही माओवादीका अध्यक्ष प्रचण्ड, वावुराम भट्टराई लगायत नेतासँग रोल्पामै पुगेर वामदेव र युवराज ज्ञवालीले तत्कालिन एमालेका तर्फवाट ‘६ वुँदे सम्झौता’ गरेका थिए । त्यो सहमति एमालेभित्र विवादमा प¥यो ।
वामदेवलाई पार्टीमा कारवाही नै गर्नुपर्ने प्रस्ताव केपी ओली र विष्णु पौडेलले राखेका थिए । पार्टीसँग सल्लाह नै नगरी हतियार उठाएको पार्टीसँग वामदेवहरुले सहमति गरी एमालेलाई समाप्त पार्न खोजेको ओलीको पार्टीमा तर्क थियो । विश्वभरका राजनीतिक पार्टी र देशले माओवादीलाई कसरी हेर्छन, अव आफुहरुलाई पनि त्यसैगरी हेर्ने भए भन्दै ओली र पौडेलले वामदेवलाई कारवाही गर्नुपर्ने प्रस्ताव पार्टीमा राखेका थिए ।
त्यही वेला पार्टीले वोलाएको कार्यकर्ता भेलामा पनि गौतममाथी कारवाहीको प्रस्ताव आयो । १४ ओटा अञ्चल प्रतिनिधीको टिममध्ये झण्डै ९ ओटा टिमले गौतमलाई कारवाही गर्न माग गरेर भेलामा मत राखेका थिए ।
पछि पार्टी महासचिव माधव नेपालले नै आफुले गौतमलाइ्र्र माओवादीसँग वार्तामा पठाएको र आफुसँगैको सहमतिमा रोल्पा सम्झौता भएको वताएपछि गौतम त्यसवेला कारवाहीवाट वचेका थिए ।
खटपट कम छैनन्
ओली–गौतमका वीचमा त्यसपछिका दिनमा माओवादीलाई हेर्ने दृष्टिकोणमा पनि खटपट हुने गरेको थियो । गौतम माओवादीप्रति नरम र ओली गरम थिए ।
ओली माओवादीलाई ‘उग्रवामपन्थी’ भन्दै खरो आलोचना गर्थे । प्रचण्ड पहिलोपटक प्रधानमन्त्री भएका बेला घटेको कटुवाल प्रकरण पछि माधव नेपाल प्रधानमन्त्री भए । तर माओवादीले नेपाल नेतृत्वको सरकारलाई ‘कठपुतली’ को संज्ञा दिदै आन्दोलन ग¥यो । माधव नेपाललाई सडकवाटै अपदस्थ गर्ने भन्दै माओवादीले त्यसवेला देशभरका नेता–कार्यकर्ता जमघट गराई काठमाडौंमा शक्ति प्रर्दशन समेत ग¥यो ।
त्यही वेला वामदेवले माधव नेपालले राजीनामा दिएर निकास दिनुपर्ने भन्दै ६० जना नेताहरुको हस्ताक्षरसहितको ज्ञापन पार्टीका तत्कालिन अध्यक्ष झलनाथ खनाललाई बुझाएका थिए । तर, वामदेवले पार्टीमा वुझाएको त्यो ज्ञापनपत्र पार्टीमा दर्ता हुन नपाउँदै प्रचण्ड निवास र माओवादीको कार्यलयबाट सडकमा फोटोकपीका रुपमा बाँडिएपछि गौतम पार्टीमा थप आलोचित वनेका थिए । ओलीले त्यसवेला नेपाललाई दह्रो आड दिएका थिए । ओली–गौतम विवाद त्यसवेला पनि चर्काे परेको थियो ।
नेता वलराम वास्कोटको भनाईमा, ओली–गौतमवीचको सम्वन्ध कहिले काँही ठाकठुक देखिए पनि अन्र्तयमा भने सौहार्दतापूर्ण नै देखिदै आएको छ ।
‘सेन्टर जेलमा चिनजानवाट शुरु भएको उहाँहरुको सम्वन्ध घटना विशेषका आधारमा उतारचढावपूर्ण नै देखिन्छ ।’ वास्कोटा भन्छन्,–‘आठौं महाधिवेशनमा वामदेव कमरेड झलनाथ खनालको पक्षमा उभिईदिए पछि केपी कमरेड पराजित हुनुभयो । नवौंमा फेरि दुवै नेता एक ठाउमै रहनुभयो, उहाँहरुको मिलनले नै केपी कमरेडलाई पार्टी अध्यक्ष, संसदीय दलको नेता देखि प्रधानमन्त्री सम्म वन्ने अवसर मिलेको थियो ।’
गौशलाको त्यो सहमति !
नवौं महाधिवेशनका बेला केपी–वामदेव वीच भित्री सहमति वनेको थियो । माधव नेपालको विपक्षमा मोर्चावन्दी गर्नेगरी काठमाडौंको गौशालास्थित मदन भण्डारी फाउण्डेसनको कार्यालयमा ओली पक्षका नेता र वामदेव पक्षका नेताहरुबीच भद्र सहमति वनेको थियो ।
त्यसपछि संसदीय दलको चुनाव देखि पार्टीको नवौं महाधिवशेनसम्म केपी वामदेव एकै रथका सारथी वनेका थिए । गौशलाको त्यो भद्र सहमतिका वेला वामदेव गौतम पक्षबाट उनी सहित किरण गुरुङ, हरि पराजुली, बलराम बास्कोटा, दलबहादुर राना, केशवलाल श्रेष्ठ, रवीन्द्र अधिकारी लगायतका नेता र ओलीका तर्फवाट ओलीसहित अहिलेका राष्टपति विद्या भण्डारी र विष्णु पौडेल लगायत नेताहरु सहभागी थिए ।
वामदेवले संसदीय दलको नेतामा झलनाथको साटो केपी ओलीलाई सघाउने, महाधिवशेनमा पार्टी अध्यक्षमा पनि ओलीलाई साथ दिने, ओलीले पार्टी अध्यक्ष बनेपछि बामदेवलाई संसदीय दलको नेताको जिम्मेवारी हस्तान्तरण गर्ने, ओली प्रधानमन्त्री बनेमा कार्यवाहक अध्यक्षको जिम्मा पनि वामदेवलाई नै दिने र त्यसपछिको महाधिवशेनमा गौतमलाई नेतृत्व हस्तान्तरण गर्ने गरी ओली र गौतमका वीचमा भद्र सहमति भएको नेताहरु वताउँछन् ।

त्यसबेला ओलीले गौतमलाई ‘एक व्यक्ति एक पद’ को कार्ड फ्याकेका थिए । सोही सहमति अनुसार ओली संसदीय दलको नेता वने, खनाल हारे । पार्टी अध्यक्ष पनि वने, प्रधानमन्त्री समेत पनि ओली वने । तर शुसिल कोइराला प्रधानमन्त्री भएका बेला उपप्रधान तथा गृहमन्त्रीको पद गौतमलाई दिलाउने वाहेक भद्र सहमतिमा ओली टिकेनन ।
त्यसपछि भने ओलीसँग गौतमको सम्वन्ध चिसिएको थियो ।
गत प्रतिनिधीसभा चुनावमा एमाले –माओवादी गठवन्धनमा चुनाव लडदा पनि गौतम वर्दियावाट पराजित भए । आफ्नो हारमा पार्टीभित्रकै अन्र्तघात देखेका वामदेवले अन्र्तघातीलाई कारवाही नगरेको भन्दै ओलीसँग रिसाएका थिए ।
एमाले माओवादी पछि वनेको नेकपामा उपयुक्त जिम्मेवारी नदिइएको, शक्तिशाली विकास प्राधिकरण गठन गरेर आफुलाई जिम्मेवारी दिन गरेको आग्रह समेत अश्वीकार गरेको, उपचुनाव मार्फत चुनाव लडन खोज्दा पनि ओलीकै कारण आफुलाई वदनाम गर्न खोजिएको भन्दै ओलीसँग वामदेवले सम्वन्ध नै पार लगाउन खोजेका थिए ।
गौतमले नेकपाकालिन अवस्थामै पार्टी बैठकमै ‘एक ब्यक्ति एक पद’को कुरा उठाएर ओलीलाई एक रोज्न चुनौति दिएका थिए । पार्टीमा उनले फरक दस्तावेज नै लेखेका थिए । सरकारले काम गर्न नसकेको आरोप पनि लगाए । त्यसपछि भने ओली र गौतमको सम्वन्धमा निक्कै चिसोपना छाएको थियो । गौतम त्यसवेला प्रचण्ड, माधव नेपाल लगायत नेताहरुसँगको हिमचिममा जोडिए ।
प्रचण्ड, माधव नेपाल र गौतमका वीचमा छुटटै गोप्य सहमति समेत भएको चर्चा तत्कालिन नेकपा भित्र चल्यो । त्यसपछि भने ओलीले वामदेवलाई फेरि फकाउन थालेका थिए । ओलीले गौतमकोे जन्मदिनमा वालुवाटारमा वोलाएर ‘केक’ काटेर सरप्राइज दिएनन मात्रै, त्यसपछि नियमित वालुवाटारमा निम्ताएर डिनर गराउने सम्म पनि गरेका थिए ।
मिल्दो–जुल्दो स्वभाव
कम्युनिष्ट आन्दोलनभित्र मात्रै होइन, नेपालको राजनीतिमा समेत यी दुई पात्र चर्चित छन् । दुवैका स्वभाव र शैली धेरै मिल्दाजुल्दा देखिन्छन् । ओली र गौतम दुवै ‘हक्की’ स्वभावका छन् । विचार मिल्दै जाँदा दुवैले आफ्ना कुरा खुलस्त मात्रै राख्दैनन्, कतिपय बेला तत्कालै ‘बोल्ड डिसिजन’ गर्न पनि हिच्किचाउँदैनन् ।
कुनै वेला मदन भण्डारीले भन्ने गर्थे, –‘पार्टीको नेतृत्वमा वामदेव नभए पार्टी लुलो हुन्छ, मुख्य जिम्मेवारी नै वामदेवलाई दिए पार्टी धुलो हुन्छ ।’ त्यही भएर पनि ओलीले आफनो अप्ठ्यारोमा जहिल्यै बामदेवको साथ लिन्थे ।
ओलीका छोरा छोरी छैनन । तर गौतमका २ छोरी र १ छोरा छन् । अध्ययनमा दुवैले खास धेरै पढेका छैनन । दुवै नेता एसएसली सरहको शिक्षा प्राप्त गरेका नेता हुन् ।
यी दुई नेताका विगत एकै ठाँउ वसेर सँगै रक्सी खाने देखि सँगै रुनेसम्मको छ । गौतम ओलीसँगको सम्वन्धलाई पारिवारिक सम्वन्धकै रुपमा एक अन्र्तवार्ताका क्रममा अथ्र्याएका थिए । ‘केपीसँग त पारिवारिक जस्तो सम्बन्ध भयो । एउटै परिवारको भइयो । एउटै परिवार भएपनि जोडकोणमा केही –केही फरक परिहाल्छ । केपीसँगको सम्बन्ध त्यस्तै हो ।’ गौतमले भनेका थिए ।
कुँडिएको मन
एमाले माओवादी एकता भत्किन थाल्दै गर्दा उनले नेकपा एकता राष्टिय अभियानका नाममा सञ्जाल निर्माण गरे । पछि एमाले माओवादी विभाजित अवस्थामा पुगेपछि एमालेभित्रको एकताका लागि उनले त्यो सञ्जाललाई प्रयोग गर्न खोजे ।
तर उनी सफल भएनन ।
पछिल्लो पटक एमालेको ओलीले बोलाएको स्थायी समिति बैठकमै वसेर उनले विद्यान मस्यौदामा सुझाव समेत राखेका थिए । तर उनका सुझाव ओलीले एउटा कानले सुने, अर्काे कानले उडाईदिए । त्यसपछि भने बामदेवको मन निक्कै कुडिँयो । त्यसपछि भने उनले ओलीसँग अव म तपाईसँग रहिन भन्दै स्थायी समिति लगत्तै बस्न लागेको केन्द्रीय कमिटि बैठक छोडेर हिँडे । त्यसयता उनले ओलीसँग खास सम्वन्ध बढाउन चाहेनन । वरु उनले माधव नेपालसँग हिमचिम वढाए ।
तर उनी माधव नेपालले गठन गरेको नेकपा एकीकृत समाजवादीमा पनि गईहालेनन । उनले जवज मान्नुपर्ने र छोडन नहुने शर्त माधव नेपालसँग तेस्र्याए । उनले विहिवार मात्रै माधव नेपाल भेटेर त्यही शर्त दोहोराएका थिए । शुक्रवार उनले एमाले छोडेको औपचारिक घोषणा नै गरे ।
ओलीमाथी कार्यशैली जनमुखी बनाउन पटक पटक ब्यक्तिगत रुपमा सझुाव दिदा पनि नसुनेको र पार्टीका समकक्षीहरुलाई अपमान गर्ने, कारवाही गर्ने र पार्टीबाट निष्कासनसम्म गर्ने जस्ता स्वेच्छाचारी तथा निरंकुश प्रवृत्ति र शैली अंगालेको आरोप गौतमले लगाए ।
राष्ट्रपतिलाई पनि आफ्ना स्वेच्छाचारी तथा सर्वसत्तावादी नीति र निर्णयहरु कार्यान्वयन गर्न दुरुपयोग गरेको सम्मको आरोप पनि गौतमले एमाले छोडदै ओलीमाथी लगाए । तर पनि उनले ओलीसँगको सम्वन्ध सम्झेर भनेका छन्, –‘हामी दुईवीचको ब्यक्तिगत सम्वन्ध मित्रतापूर्ण रहोस भन्ने अपेक्षा छ ।’

रामकृष्ण अधिकारी
अधिकारी मेरोन्यूज डटकमका सम्पादक हुन् ।










तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रवि लामिछाने र बालेनबीच भेटवार्ता
कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता हुँदैन -इरान
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
प्रतिक्रिया