सोमबार, वैशाख ८, २०८२

युगकवि मोतीराम भट्टको जन्म जयन्ती मनाइदै

मेरोन्यूज २०७८ भदौ २२ गते ६:४४

काठमाडौँ । नेपाली साहित्य नक्षत्रका युगकवि मोतीराम भट्टको जन्मजयन्ती आज मनाइदै छ । युगकवि भट्ट नेपाली साहित्यका प्रथम गजलकार हुन् । जीवनीकार, समलोचक तथा माध्यमिक कालका प्रवर्तक पनि थिए । थोरै बाँचेर नेपाली साहित्यमा अत्यन्तै धेरै योगदान पुर्याउने उनी नेपाली साहित्यका प्रेरक व्यक्तित्व, कुशल नायक र होनहार प्रतिभा मानिन्छन् । १९४० देखि १९७६ सालसम्मको नेपाली साहित्यमा श्रृङ्गारिक धाराको सुरुवात मोतिराम भट्टले गरेका थिए ।

कुमाऊगढका पण्डित दयाराम भट्ट र रिपुमर्दिनी देवीको कोखबाट १९२३ साल, भाद्र २५ गते कुशे औँसीका दिन काठमाडौँको भोसिको टोलमा उनको जन्म भएको थियो ।

दरबार हाइस्कूलमा गनिएका राणा खानदानबीच शिक्षा लिने अवसर प्राप्त गर्ने थोरै नेपालीमध्ये एक मोतीराम पनि हुन् । उनी ६ वर्षको हुँदा उनको स–परिवार भारतको बनारसतर्फ लागेका थिए ।

प्रवास बसाईंको सिलसिलामा मोतीरामले उर्दू साहित्यको गहन अध्ययन गरेका थिए । जसको फलस्वरूप् केही उर्दू भाषाका नाटक समेत उनले लेखेका थिए ।

नेपाली साहित्यि कौशलतालाई मलजल गर्न र यसको विकासका लागि उनले आफ्नो जीवनको अत्यन्त कम समयमा गरेको प्रयास अतुलनीय छ । नेपाली साहित्यमा समालोचनाको प्रारम्भ गर्ने मोतीरामलाई आदिकवि भानुभक्तसँगै श्रद्धापूर्वक लिइने पहिलो नाम पनि हो ।

आदिकवि भानुभक्त आचार्य र मोतीराम भट्ट एकअर्काका पर्यायवाची मानिन्छन् । साथीको विवाहमा भानुभक्तको केही फुटकर कविताहरु सुनेको मोतीरामले त्यस्पश्चात् भानुभक्तका कृतिहरुलाई जनमानसमा उजागर गर्न अथक प्रयास गरेको पाइन्छ ।

भानुभक्तका फुटकर कविताहरू र अन्य कृतिकाबारेमा मोतीरामले अध्ययन, उत्खनन् गरी नेपाली समाजमा उजागर नगरेको भए सायद आज भानुभक्तका सबै कृतिहरू हामीमाँझ हुने थिएनन् । भानुभक्तको जीवनी पनि मोतीरामले नै लेखेका हुन् ।

नेपाली भाषाको पहिलो मासिक पत्रिका गोरखा भारत जीवनलाई बनारसमै रहेर व्यवस्थापन तथा प्रकाशनको श्रेय उनै मोतीराम भट्टलाई जान्छ । नेपाली साहित्यिक भीडका अद्वितीय तथा आफ्नो नाम जस्तै अत्यन्तै चम्किला मोतीरामका कृतिहरु मनोवेग प्रवाह, गजेन्द्रमोक्ष, प्रल्हाद भक्तिकथा लगायतका आज पनि उपयोगी र महत्वपूर्ण छन् ।

उनका नाटकहरू शकुन्तला, प्रियःदर्शिका र पद्मावतीको चर्चा बेला–बेला अग्रज साहित्यकारहरुले अत्यन्तै सम्मानका साथ गरिरहन्छन् । मित्र देवशमशेर जंगबहादुर राणाको अनुरोधमा शारदाको नाट्य निर्देशन गरी प्रधानमन्त्री वीरशमशेरको दरबारमा मञ्चन समेत गरिएको थियो । त्यसपश्चात् कहीँ–कतै शारदालाई मञ्चन गरिएकोबारे त्यति चर्चा पाइँदैन ।

वर्तमान समयमा गजललाई अध्ययन गर्ने अथवा पछ्याउने पुस्ताले पक्कै पनि उनका श्रृंगार रसका भावहरुबाट प्रभावित भएर आफ्ना रचनाहरूमा मोतीराम भट्टलाई सम्झिएकै हुनुपर्छ ।

मोतीराम भट्टलाई सम्झदा
कहाँ जन्म पाएँ, कहाँ आज आएँ
दुखीमा म पैला भनी चाल पाएँ

हरे कर्म मेरो पनि के रहेछ
विधाता ममाथि बिरानै भएछ

यीजस्ता अह्राई म बस्ने उसोरी
यिनैको हुकुंमा छुँ ऐले कसोरी

विवेक् छैन कत्ती पनी दैवलाई
न मेरै दोष् के भनूँ एसलाई

प्रतिक्रिया