सोमबार, फागुन १८, २०८२

भालु भगाउन रातभर जाग्राम

मेरोन्यूज २०७८ असोज ५ गते १०:४६
फाइल फोटो

खलंगा । मकै पाक्ने याम सुरु भएसँगै जुम्लाका किसान यतिबेला भालु भगाउन रातभर जाग्राम बस्न थालेका छन् । बारीमा लगाएको मकैबाली जोगाउन रातभर जाग्राम बस्ने गरेका हुन् । यहाँको तिला गाउँपालिकाका किसान बारीमा पाक्न लागेको मकै सुरक्षित गर्न रातभर बारीमै जाग्राम बस्ने गरेको बताउँछन् ।

Advertisement
nepal life insurencenepal life insurence

तिला गाउँपालिका–६ का स्थानीयवासी नरिमान रावतले भने, “भालुले मकै सखाप पार्न थालेपछि किसान मकै बारीमै बस्न थालेका छन् ।” यहाँको प्रमुख बाली भनेकै मकै हो । मकै उत्पादन भएको खण्डमा खान समस्या हुँदैन । यही मकै भालुले सकाउन थालेपछि किसान चिन्तित छन् । भालु भगाउनका लागि हरेक बारीमा तर्साउने वस्तु राखिएको छ । भालु आउने बाटो पहिचान गरेर पासो थाप्नेदेखि भाँडाकुँडा बजाएर भगाउने काम चलिरहेको छ । कहिलेकाहीँ थाल र जस्तापाता बजाएर भालु बारीमा पस्न नदिने प्रयास जारी नै छ । भालु नियन्त्रणमा लिन सकिने अवस्था छैन । बारीमा एक्लै हिँड्नसमेत सकस हुने गरेको छ ।

एक त अन्नबाली उत्पादन कम हुन्छ । त्यसमा पनि वन्यजन्तुले दुःख दिने गरेका छन् । अधिकांश किसानले खेतबारी वरिपरि मान्छेजस्तै ‘भ्याउने’ बनाएर राख्ने गरेका छन् । पछिल्लो समयमा भालुको तीव्र चहलपहल बढेपछि किसानले जंगल नजिकैको बारीमा खेती गर्नसमेत छाडेको स्थानीयवासी रावतले बताए ।

दिउँसो मानिसको चहलपहल हुने भएकाले भालु बारीमा पस्न डराउँछ । रातिको समयमा बारीमा बस्छ । बारीमा कुकुर बाँधेर राख्ने, मकै बारीमा पाल टाँगेर बस्ने गरिएको छ । अहिले किसानलाई मकै बचाउन भ्याइनभ्याइ छ । वर्षेनी भालुले बालीमा नोक्सानी पु¥याउन थालेपछि गाउँका केही स्थानीयवासीले मकै अन्नबाली लगाउन छाडेको यहाँका स्थानीयवासी बताउँछन् ।

मकै बारीमा भालु पसेर नष्ट गर्न थालेपछि किसानले भालु नियन्त्रणमा लिएर बाली जोगाइदिन माग गरेका छन् । जिल्लाभर भालुको बिगबिगी बढेको छ । यहाँका स्याउ बगैँचा, मौरीको घारदेखि मकैबालीमा भालु पस्नाले निकै समस्या गरिरहेको किसान बताउँछन् । यसअघि आहारा खोज्दै भालु जुम्ला सदरमुकाम खलंगा बजारमा पसेको थियो । त्यो बेला सदरमुकामको मुटुमै दुई जनालाई आक्रमण गरेको थियो । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको सक्रियतामा भालु मारिएको थियो । पछिल्लो समयमा गाउँ आसपासका क्षेत्रमा भालु प्रवेश गर्न थालेपछि एक्लै दुक्लै हिँड्नसमेत गाह्रो हुने गरेको यहाँका स्थानीयवासी बताउँछन् । रासस

प्रतिक्रिया