मंगलबार, पुष १५, २०८२

साढे ७ किलो लागूऔषध चरेशसहित ९ जना पक्राउ

मेरोन्यूज २०७८ असोज ५ गते १७:१०

काठमाडौँ । हस्तकलामा सामग्रीभित्र लागू औषध चरेश राखेर ओसारपसार गर्दै आएका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गरी हस्तकलाका सामग्रीभित्र चरेश राखेर ओसारपसार गर्दै आएकाहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा म्याग्दीका श्यामप्रसाद रोका, वीरबहादुर रोका, दिलबहादुर रोका, धादिङका अनिलबहादुर घले, सुनबहादुर गुरुङ, याङकी भनिने जितबहादुर तामाङ, माइला भनिने कृष्णबहादुर तामाङ, नुवाकोटका सेसे भनिने उर्पा तामाङ र वीरबहादुर तामाङ रहेका छन् । उनीहरूलाई आज सार्वजनिक गरिएको छ ।

उनीहरूको साथबाट कतार पठाउन हस्तकलाको सामानमा प्याक गरेको ७ केजी ६१४ ग्राम चरेश बरामद गरिएको ब्युरोका प्रमुख एसएसपी हृदय थापाले जानकारी दिए । हाते कागजका डायरीमा चरेश बरामद गरेर कतारलगायतका मुलुकमा सो गिरोहले पठाउने गरेको पाइएको ब्युरोले जनाएको छ ।

यसअघि उनीहरूले यसरी नै अचारको भाडोमा चरेश राखेर भारत हुँदै हङकङ, थाइल्याण्ड, टर्कीलगायत मुलुकहरूमा ओसार पसार गर्दै आएको अनुसन्धानमा पाइएको एसएसपी थापाले जानकारी दिए । पक्राउ परेका उनीहरूलाई नियन्त्रणमा लिई कारबाही प्रक्रियाअघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया