बिहीबार, जेठ १, २०८२

अलपत्र विद्यार्थीहरुलाई चीन जाने व्यवस्था मिलाउन संसदीय समितिको निर्देशन

मेरोन्यूज २०७८ असोज १० गते १६:०२

काठमाडौं । संसदीय समितिले अलपत्र परेर बसेका विद्यार्थीहरुलाई पुनः अध्ययनका लागि चीन जाने व्यवस्था तत्काल मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

संघीय संसद प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले कोरोना भाइरसका कारण चीनबाट फर्किएर अलपत्र अवस्थामा बसेका विद्यार्थीहरुलाई तत्काल कूटनीतिक पहल गरी पुनः अध्ययनको लागि चीन पठाउने आवश्यक व्यवस्था मिलाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो ।

परराष्ट्र मन्त्रालयसँग आवश्यक समन्वय गरेर कूटनीतिक पहल गरी अलपत्र परेका हजारौं विद्यार्थीहरुलाई पुनः अध्ययनका लागि चीन पठाउने व्यवस्था तत्काल मिलाउन सरकारलाई निर्देशन दिइएको समितिकी सभापति जयपुरी घर्तीमगरले जानकारी दिइन् ।

चीनमा अध्ययन थालेका इन्जिनियरिङ, मेडिकल र अन्य सेक्टरका विद्यार्थीहरु कोरोना संक्रमणका कारण २ वर्षदेखि नेपालमा नेपालमै बसेको भन्दै समितिले कुटनीतिक पहलबाट तत्काल पठाउने ब्यवस्था गर्न निर्देशन दिएको घर्तीले बताइन् ।

बैठकमा समितिका सदस्यहरुले चीनमा अध्ययनका लागि पुनः जान नपाएका विद्यार्थीहरुको समस्या तत्काल समाधान गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सचेत गराएका थिए ।

समितिका सदस्य एवम् पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले तीन दिन भित्र चीन अध्ययनका लागि पुनः जाने व्यवस्था विद्यार्थीहरुलाई मिलाउन आग्रह गरे ।

समितिका अर्का सदस्य मानबहादुर विश्वकर्माले मेडिकल तथा इन्जिनियरिङ कलेजका विद्यार्थीहरुको प्राक्टिकल अनलाईन कक्षाबाट हुने व्यवस्था खारेज गर्न सरकारसँग माग गरे ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव डा. हरिप्रसाद लम्सालले संसदीय समितिले दिएको निर्देशन अनुसार चीनमा अध्ययनका लागि पुनः जाने विद्यार्थीहरुको आवश्यक व्यवस्था तत्काल मिलाउने प्रतिवद्धता जनाएका छन् । हाल चीनमा मात्रै अध्ययन गर्ने जाने विद्यार्थीहरुको संख्या ७ हजार ४८० जना रहेको डा. लम्सालले बताए ।

सहसचिव लम्सालले सरकारले सम्बन्धित विश्वविद्यालयसँग बुझेर मात्रै नेपाली विद्यार्थीहरुलाई अध्ययनका लागि विभिन्न देशमा पठाउन अनुमति दिने गरेको पनि स्पष्ट गरे ।

प्रतिक्रिया