सेवाग्राहीका गुनासो : ‘घरी कोठा नम्बर ३, घरी ४’

रौतहट । “चार दिनदेखि धाइरहेको छु । मेरो फाइल भेटिएको छैन ।” श्रीमती रविना कुमारीको नागरिकता पाउन प्रयासरत रौतहटको इसनाथ नगरपालिका–३ का मुकेश हजाराले नागरिकता कहिले हात पर्ला भन्ने पत्तो नभएको गुनासो व्यक्तभयो ।
सदरमुकाम गौरस्थित जिल्ला प्रशासन कार्यालयमा देखिएका सयौँ सेवाग्राहीको भीडमा भेटिएका हजाराको मात्र होइन अन्य सेवाग्राही पनि उही गुनासो पोख्दै थिए । सोही नगरपालिका–२ का शीलाकुमारी पनि बच्चा बोकेर नागरिकता पाउन दैनिक धाइरहेकी छन् । कर्मचारीले घरी कोठा नम्बर ३ त घरी कोठा नम्बर ४ मा जानुस् भनेर अल्मल्याइरहेको उनको दुःखेसो छ ।
राजदेवी नगरपालिका–५ का दिलीपकुमार महतोको दुई सातादेखिको नियमित काम जिल्ला प्रशासन कार्यालयमा आउनुभएको छ । आफ्नो नागरिकता के कारणले प्राप्त नभएको भन्ने थाहा पाउन नसकिएको उनको भनाइ छ । जिल्ला सदरमुकाम गौरस्थित जिप्रकामा नागरिकता लिनका लागि दैनिक सयौँको लाइन हुने गरेको छ ।
प्रचण्ड गर्मी र कोभिड–१९ को जोखिमबीच सर्वसाधारण बिना मास्क तथा सामाजिक दूरी कायम नगरी नागरिकताको फाँटमा झुम्मिरहेका देखिन्छन् । साना साना नानीहरु काखमा बोकेका महिला पनि सकिनसकी लाइनमा उभिएका छन् । पहुँच हुनेले सहजै नागरिकता पाउने गरेको सेवाग्राहीको आरोप छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भने कार्यालयको क्षमताभन्दा दोब्बर सङ्ख्यामा नागरिकता जारी भइरहेको जिकिर गरे ।
नागरिकता फाँटमा दुई जना मात्र जनशक्ति रहेका अवस्थामा दैनिक ६० नागरिकता दिन सकिने स्थितिमा एक सय ३० सम्म नागरिकता वितरण भइरहेको उनको भनाइ छ । सेवाग्राहीसँग कर्मचारीले घुस लिएको भन्ने गुनासो हुन नसक्ने जनाउँदै उनले स्थानीय तहले अनुसूचीअनुसारका सबै कागजातसहित सिफारिस नगर्दा पनि समयमा काम हुन नसक्ने बताए । कूल ३२ कर्मचारीको दरबन्दी रहेको यस कार्यालयमा हाल २५ कार्यरत छन् । त्यसो त यो जिल्ला प्रशासन कार्यालय गृहमन्त्रालयको वार्षिक कार्यसम्पादन मूल्याकङ्नमा प्रदेश नं २ मा उत्कृष्टमा परेको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार यस आर्थिक वर्षको साउन र भदौ महिनामा चार हजार ९२२ ले नयाँ नागरिकता लिएका छन् भने एक हजार ६५८ ले प्रतिलिपि नागरिकता लिएका छन् । यस्तै सोही अवधिमा दुई हजार ३१८ ले राष्ट्रिय परिचयपत्र, एक हजार ४३६ ले राहदानीको सिफारिस, ४७६ ले दु्रत राहदानी सिफारिस लगेका छन् । सिफारिस भएकामध्ये चार सय ७६ राहदानी वितरण भएको छ । उक्त दुई महिनामा १५ नयाँ संस्था दर्ता र ९२ संस्थाले नवीकरण गराएका छन् ।
वंशजका आधारमा नागरिकता पाउन अनुसूची १ फारममा स्थानीय तहको सिफारिस, बाबु वा आमाको नागरिकता प्रमाणपत्र, सो नभए दाजु, भाइ वा वंशज खुल्ने नजिकको नातेदारको नागरिकताको प्रतिलिपि, सो पनि नभए वंशज खुल्ने अन्य प्रमाण र सनाखत आवश्यक पर्छ । यस्तै तिन पुस्ताभित्रको नातेदारको नागरिकताको प्रमाणपत्र पेश गरेको अवस्थामा उक्त नातेदारसँगको नाता खुल्ने नाता प्रमाणित–पत्र पेश गर्नुपर्छ । प्रमाण पेश गर्न नसक्नेका लागि वंशजको नाताले नागरिकता लिनुपर्दा नागरिकता प्रमाणपत्र विवरण कार्यविधि, २०६३ को अनुसूची ३ बमोजिमको ढाँचामा सर्जमिनस्थलमै गरिएको सनाखत चाहिन्छ ।
विवाहित महिलाको हकमा पतिको नागरिकता प्रमाणपत्र, माइतीतर्फको वंशज खुल्ने नागरिकता, दुवै कान देखिने दुईप्रति फोटो, विवाह दर्ता प्रमाणपत्र र सनाखतसहित जन्ममिति खुल्ने प्रमाण, शैक्षिक प्रमाणपत्र वा जन्मदर्ताको प्रमाणपत्र बुझाउनुपर्छ । बसाइँसराइ गरी आउनेको हकमा उपरोक्त प्रमाणका अतिरिक्त बसाइँसराइ प्रमाणपत्र, जग्गाधनी दर्ता प्रमाणपत्रलगायतका कागजात पेश गर्न जिल्ला प्रशासन कार्यालयको नागरिक बडापत्रमा उल्लेख गरिएको छ । वैवाहिक अङ्गीकृतका आधारमा र कर्मचारी परिवारका नाताले नागरिकता प्रमाणपत्र पाउन आवश्यक कागजात पनि जिल्ला प्रशासन कार्यालयले बेवसाइटमा समेत बडापत्रका रुपमा समावेश गरेको छ । रासस
















कबुलियत गराएर वीरगञ्ज भन्सार कार्यालयको जाँचपास प्रक्रिया फेरि सञ्चालनमा
FNCCI new leadership assumes office
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
दोस्रो दक्षिण एसिया व्यापार मेला सुरु
SAARC Secretary General pays courtesy call on Minister Khanal
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
प्रतिक्रिया