शपथ ग्रहणको गाठो फुकाउन संसद् अधिवेशन अन्त्यको तयारीमा सरकार

काठमाडौँ । नयाँ नियुक्त गर्ने मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउने कानुनको गाँठो फुकाउन प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय संसदका दुवै सदनको अधिवेशन अन्त्य गर्ने तयारी गरेका छन् । मन्त्री नियुक्त गरेर पनि शपथ ग्रहण गराउने कानुन नभएकाले अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउने तयारी देउवाले गरेका उनी निकट स्रोतले बतायो ।
आफू प्रधानमन्त्रीमा नियुक्त भएको तीन महिनासम्म पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भन्दै आलोचना खेपिरहेका देउवाले शपथ ग्रहणमा देखिएको कानुनी गाँठो फुकाएर मन्त्रिपरिषद् विस्तार गरी शपथ खुवाउन संघीय संसद्का दुवै सदन अन्त्यको तयारी थालेका हुन् ।
सोमबारको मन्त्रिपरिषद् बैठकले शपथ ग्रहणसम्बन्धी विधेयक व्यवस्थापिका संसद्मा पेस गर्न अनुमति दिने निर्णय गरेको थियो । त्यसपछि शपथ ग्रहणसम्बन्धी कानुन छैन । असोज ६ गते परराष्ट्रमन्त्रीमा नियुक्त भएका डा. नारायण खड्काको शपथ पनि संविधान र कानुनको कुनै पनि धारा उल्लेख नगरी खुवाइएको भन्दै बदर गर्न माग गरेर सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
त्यही अवस्थालाई मध्यनजर गरी संसद् अधिवेशन अन्य गरेर अध्यादेश ल्याइ गाठो फुकाएर मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा प्रधानमन्त्री देउवा रहेको उनी निकट स्रोतले जानकारी दियो । ‘मन्त्रिपरिषद् विस्तार नहुँदा आलोचना खेप्न परिरहेको छ । तर शपथ ग्रहणसम्बन्धी कानुन नहुँदा मन्त्रिपरिषद् विस्तार गर्न नसक्ने अवस्था छ । त्यही भएर तत्कालका लागि संसदको अधिवेशन स्थगित गरेर भए पनि मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा प्रधानमन्त्रीज्यू हुनुहुन्छ,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो ।
संघीय संसद्का दुवै सदनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टीले कारबाही गरेका १४ सांसदलाई निलम्बनको माग गर्दै अवरोध गरिरहेको छ । त्यही अवरोधबीच आर्थिक वर्ष २०७८/७९ को बजेट विधेयक सरकारले संसद्बाट पारित गराएको छ ।
संसद्को गतिरोध अन्त्यका विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले आज बिहान १० बजे संसदमा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठक बोलाएका छन् । त्यो बैठकमा एमालेलाई संसद्को अवरोध अन्त्य गर्न आग्रह गर्ने र सकारात्मक नदेखिएमा अधिवेशन स्थगित गर्ने जानकारी गराउने तयारी देउवाको रहेको निकटस्थ नेताहरु बताउँछन् । तर, प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक नै पनि एमालेले वहिष्कार गर्ने भएको छ । शपथका लागि कानुनको अभाव रहेकाले अधिवेशन स्थगित गर्ने भन्ने नभई एमालेको अवरोधका कारण अधिवेशन स्थगित गरेको भन्ने म्यासेज दिने तयारीमा देउवा छन् । त्यसकै लागि सर्वदलीय बैठक बोलाएको उनी निकट नेताहरु बताउँछन् ।
सर्वदलीय बैठकपछि अपरान्ह ३ बजे बोलाइएको मन्त्रिपरिषद् बैठकले संघीय संसद्का दुवै अधिवेशन स्थगित गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने तयारीमा सरकार रहेको स्रोतले बतायो ।
प्रतिक्रिया