पशुपतिक्षेत्रको धर्मशालामा बतास ग्रुपको हालीमुहाली
धर्मशालामा पार्टीका कार्यक्रमदेखि विवाहका पार्टीसम्म
काठमाडौं । तिलगंगास्थित बतास ग्रुपअन्तर्गत रहेको आनन्द म्यानेजमेन्टले लिजमा लिएर होटल आनन्द सञ्चालन गरेको दुई वर्ष बढी भयो ।
१५ वर्षकालागि भनेर लिज (भाडा)मा लिइएको २ वर्षमै आनन्द म्यानेजमेन्टले सम्झौता विपरीतको काम गर्न थालेको छ ।
पशुपति क्षेत्र विकास कोषसँगको सम्झौता बमोजिम होटल आनन्द म्यानेजमेन्टले पशुपति धर्मशालाको मासिक भाडा नबुझाएर सम्झौतालाई लत्याएको छ ।
करिब १६ करोड रुपैयाँमा आनन्द म्यानेजमेन्टलाई कोषले १५ वर्षसम्मका लागि जिम्मा दिएको थियो ।
पशुपतिक्षत्रस्थित भारत सरकारले करिब २४ करोडको अनुदानमा बनाइदिएको धर्मशालालाई पशुपति क्षेत्र विकास कोषले होटल सञ्चालन गर्न भाडामा दिएको थियो । २०७६ साल वैशाख ३० गते १५ वर्षका आनन्द म्यानेजमेन्टसँग कोषले सम्झौता गरेको थियो ।
वार्षिक १ करोड ५ लाख ४१ हजार रुपैयाँ बुझाउने गरी बतास ग्रुपअन्तर्गत रहेको आनन्द म्यानेजमेन्टले सहमति गरेको थियो ।
४३ लाख ९२ हजार रुपैयाँ भाडा विकास कोषले उठाउन बाँकी रहेको महालेखा परीक्षकको प्रतिवेदनले समेत उल्लेख गरेको छ ।
महालेखाको प्रतिवेदनले कोषलाई होटलसँग जरिवानासहित असुल गर्न निर्देशन दिएको महालेखा परीक्षकका सूचनाअधिकारी नेत्रप्रसाद पौडेलले जानकारी दिए ।
सम्झौतामा प्रत्येक महिनाको पहिलो सातामा भाडा बुझाउनुपर्ने व्यवस्था छ ।
सम्झौता अनुसार नबुझाएमा द्विपक्षीय सम्झौतामा जरिवानासहित दोस्रो पक्षले पहिलो पक्षलाई रकम बुझाउनुपर्ने गरी उल्लेख गरिएको छ ।
प्रतिवेदनले विकास कोषको कोष सञ्चालक परिषदको स्वीकृति बेगर भाडामा लगाइएको पनि उल्लेख गरेको छ ।
विकास कोष र होटल आनन्द म्यानेजमेन्टबीच प्रत्येक महिनाको पहिलो साताभित्र भाडा बुझाउने गरी सम्झौता भएको थियो तर आनन्द म्यानेजमेन्ट सम्झौता अनुरुप भाडा बुझाउन छाडेपछि सम्झौतालाई लत्याएको पशुपति क्षेत्र विकास कोषको भनाई छ ।
शुल्क निर्धारणमा समेत बतास समूह अन्तर्गतको आनन्द म्यानेजमेन्टको मनोमानी छ । होटेल व्यवस्थापन तथा पर्यटन तालिम केन्द्रले धर्मशालामा बस्ने तिर्थालुसँग प्रतिरात न्यूनतम तीन सय ५० रुपैयाँदेखि दुई हजार नौ सय रुपैयाँ लिन सिफारिस गरेको थियो । तर, होटलका एक कर्मचारीका अनुसार प्रतिव्यक्तिका लागि प्रतिरात ३५० रुपैया ५ हजारसम्मको रेट रहेको छ । ती कर्मचारीले भने– ‘रुमको फ्यासिलिटि हेरेर रेट तय गरिएको छ ३ सय ५० देखि ५५ सय सम्म एक जनालाई पर्न आउँछ ।’
व्यापारको अखडा बन्दै धर्मशाला !
२०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा उपहार स्वरुप अनुदानमा धर्मशाला बनाउने निर्णय गरेको थियो ।
१९ रोपनी क्षेत्रफालमा बनाउन लागिएको धर्मशालाको मोदीको नेपाल भ्रमणका बेलामा शिलान्यास भएको थियो । धर्मशाला निर्माण सम्पन्न भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त उद्घाटन समेत गरेका थिए ।
तर, उद्घाटन गरेको झण्डै १ वर्षको अवधीमा पशुपति क्षेत्र विकास कोषले धर्मशालालाई व्यवस्थापन गर्नको लागिभन्दै बतास अर्गनाईजेसन अन्तर्गत रहेको आनन्द म्यानेजमेन्टलाई ठेक्का दिएको थियो ।
सर्वसाधारण तिर्थालु र पर्यटकहरुलाई सुलभ दरमा बस्न पाउन् भनेर निर्माण गरिएको धर्मशालामा तिर्थालु र पर्यटकहरुले महंगो शुल्क तिर्दैै आएका छन् ।
धर्मशालामा तीन सय ८८ कोठा भएकाले एकैपटक धेरै तीर्थालु बस्न सक्ने ब्यवस्था भए पनि व्यवस्थापनको जिम्मा आनन्द म्यानेजमेन्टले लिएपछि होटेलमा ८० विलासी कोठाहरु मात्रै छन् ।
धर्मशालामा पार्टीका कार्यक्रमदेखि विवाहसम्म
पशुपतिनाथको मन्दिर दर्शनका लागि आउने गरीब तथा असहाय तिर्थालुका लागि भन्दै भारत सरकारको सहयोगमा बनाइएको पशुपति धर्मशालामा अहिले पार्टीका कार्यक्रमदेखि विवाह पार्टी हुने गरेको छ ।
होटल आनन्दका एक कर्मचारीकाअनुसार अहिलेसम्म कम्तिमा पनि २० वटा विवाहका पार्टीहरु गरेको तथा विवाह समारोह सम्पन्न भएका छन् ।
‘लकडाउनले गर्दा ग्राहकहरु घटेको छ,’ ती कर्मचारीले भने– ‘पहिले धेरै विवाह पार्टीहरु भएका छन् तर लकडाउन गरिएपछि भने कम कम मान्छे आएका छन् ।’
धर्मशालामा अहिले बारसहितको रेष्टुँरा समेत बनाएको छ । साथै धर्मशालामा विभिन्न पार्टीका कार्यक्रमहरु समेत हुने गरेको पाइएको छ ।
गत असार ४ गतेदेखि नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले मिलाउन नसकेको विवाद मिलाउन शीर्ष नेताहरु बैठक बसेका थिए । समितिका संयोजक रमेश लेखकका भाइ दीपक उक्त होटलका म्यानेजरसमेत हुन् । दीपकलाई कमिसन आउने भएकाले पनि समितिको काम धर्मशालामा राखेको स्रोतले बताएको छ । स्रोतका अनुसार खाना खर्च मात्रै ६० लाख उठेको थियो ।
यसअघि लेखकले समितिका लागि आवश्यक पर्ने सामग्री खरिद गर्न ४० लाख पेश्की माग गरेका थिए । त्यसअघि नै पार्टीले पेश्की स्वरुप समितिलाई १५ लाख रुपैयाँ बुझाएको थियो ।
त्यति मात्रै होइन, धर्मशालाभित्र गत भदौ १२ र १३ गते समेत नेकपा –माओवादी केन्द्र)को भातृ संगठन योङ्ग कम्युनिष्ट लीग (वाईसीएल)को राष्ट्रिय भेला समेत सोही ठाउँमा भएको थियो ।
बतास समूहका निर्देशकसमेत रहेका होटल आनन्दका सञ्चालक बीपेन्द्रराज विष्टले भने आफूले सबै महिनाको भाडा बुझाएको दाबी गरेका छन् ।
‘हामीले सबै इन्ट्री गरेर राखेका छौं । हामीले सबै महिनाको भाडा बुझाएका छौं । हामीले प्रत्येक महिनाको भाडा इन्ट्री गरेका छौ । हामीले लिनपर्ने पनि छ ।’ सञ्चालक विष्टले भने– ‘अलिअलि व्यापार पनि भइरहेको छ ।’
दया दुदराज
मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।
प्रतिक्रिया