मंगलबार, फागुन ६, २०८१

पाँच वर्षमा ३१ हजार बढी बलात्कार !

दया दुदराज २०७८ असोज १७ गते १७:३९

काठमाडौं । तेह्र वर्षीया बालिका निर्मला पन्तलाई बलात्कार गरेर हत्या गर्ने अभियुक्त अझैसम्म पनि फरार छन् ।

उक्त हत्या प्रकरणबारे अनुसन्धान गर्न काठमाडौंबाट गएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले घटनाको २३ दिनपछि भदौ २ गते भीमदत्त १९, बाँगफाँटाका ३९ वर्षीय दिलीप सिंह विष्टलाई मुख्य अभियुक्त भन्दै सार्वजनिक गरेको थियो ।

सिआइबीका प्रहरी नायव उपरीक्षक (डीएसपी) अंगुर जिसीसँगको बयानमा उनले घटनाको दिन आफूले लगाएको सर्ट र आकाशे निलो रङको अण्डरवेयरबारे खुलाएका थिए ।

जिल्ला प्रहरी कार्यालयले मुख्य अभियुक्तका रूपमा विष्टलाई सार्वजनिक गरेकै दिन प्रहरीले उनको घरबाट गोजी च्यातिएको सर्टसमेत बरामद गरेको थियो । ०७५ भदौ ४ गते घटनास्थलमा हुबहु सोही रङकै च्यातिएको सर्टको गोजीको टुक्रा फेला पारेको थियो ।

विष्टको घरमा प्रहरीले वडाध्यक्षसहितलाई राखेर बरामद सर्ट, कट्टुसहितका सामानको मुचुल्का गरेको थियो । घटनास्थलमा प्रहरीले विष्टका बाबुलाई समेत लगेको थियो । सर्टको टुक्रा घटनास्थलमा भेटिएको बेलाको फोटो हेर्दा त्यहाँ प्रहरीसहित अन्य केही मान्छे उपस्थित थिए ।

विष्टको आफ्नो बयानमा बलात्कार गरेर हत्या गरेको बताएका थिए । तर, उनको डिएनए नमिलेपछि विष्ट उन्मुक्त भए । पक्राउ परेका उनी मानसिक रुपमा असन्तुलन भएको प्रमाणित भएसँगै मानव अधिकारकर्मी र अभियान्ताहरूको दबाबमा बयान दिन लगाइएको समेत अफवाह फैलाएको थियो ।

कञ्चनपुरको भीमदत्त नगरपालिका १८ निम्बुखेडास्थित उखुबारीमा निर्मलालाई बलात्कारपछि मृत अवस्थामा प्रहरीले फेला परेको थियो । उनको बलात्कारपछि हत्या भएको आज ३ वर्ष बढी भइसकेको छ । तर, घटनामा संलग्न अभियुक्तबारे प्रहरी अझै पनि बेखबर छन् ।

—–
जनकपुरधाम–२१ कुर्थाकी ११ वर्षीय कञ्चन पञ्जियार सबै नेपालीको स्मरणमा ताजा रहेर बसेको छ । आँप दिने प्रभोलनमा भारतीय नागरिक ३२ वर्षीय दिपु सिंहले बलात्कारपछि हत्या गरेका थिए ।

२०७७ साल १० असारमा भैँसी चराउन जाँदा उनी वेपत्ता भएकी थिइन् । साँझ पर्दै जाँदासमेत घरमा नआएपछि परिवार र स्थानीयहरू उनको खोजी कार्यमा निस्किए । तर, उनलाई फेला पार्न नसकेपछि बिहीबार (११ असार)मा कञ्चन बेपत्ता भएको प्रहरीमा जानकारी गराइयो ।

गत असार १२ गते स्थानीयहरुले नग्न अवस्थामा बालिकाको शव फेला पारे । नग्न अवस्थामा शव भेटिएपछि बलात्कारपछि बालिकाको हत्या भएको गाउँले अनुमान लगाए । स्थानीयको आंकलन अनुरुप नै प्रहरी अनुसन्धानले बलात्कारपछि हत्या भएको पुष्टि ग¥यो । र, अपराधी भारतीय नागरिक दिपु सिंहलाई असार १५ मा सार्वजनिक गर्यो ।

घटनाको छानविनका लागि प्रहरीले घटना स्थलभन्दा झण्डै डेढ सय मिटर दक्षिणको श्मसानघाटमा बस्ने एक अघोरी बाबासहित १९ जनालाई पक्राउ गरेको थियो । तर, अनुसन्धानले भारतीय नागरिकको मात्रै संलग्नता पुष्टी गर्यो, अन्यलाई छोडियो । बालिकाको हत्यापछि सिंहले ब्ल्याङ्केटमा बेरेर असार ११ गते बिहान ३ बजे दूधमती नदीको पश्चिम किनारमा सिकटको झाडीमा शव फालेको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

पाँच महिनादेखि चौधरी तथा मिश्र इन्डष्ट्रिजमा काम गरिरहेका दिपु सिंह केही दिनदेखि आँप लिन गएकी कञ्चनसँग नजिक हुने गरिरहेका थिए । केही प्रमाणको आधारमा पक्राउ परेका सिंहले अपराध स्वीकार गरिसकेका छन् ।

Advertisement
IMEnabil


११ वर्षीया छोरी दुतियाको शव २०७५ साल फागुन २ गते जलेको अवस्थामा फेला पर्यो । घटना शंकास्पद भन्दै २ नम्बर प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय धनुषाले अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धानबाट बालिकाको सामूहिक बलात्कार गरेर जिउँदै जलाइएको पाइएपछि प्रहरीले हत्यारा खोजतलासको काममा तीव्रता दिएको थियो । प्रहरीको अनुसन्धानपछि घटनामा धनुषाको पेवश्र–४ बेगौली टोलका ‘निरन’ भनिने निरज जर्गा मगरलाई पक्राउ गरेको थियो ।

दुतिया फागुन १ गते गाउँमै विवाह भोज खान गएकी थिइन् । विवाह भोजमा गएकी उनको बलात्कारपछि जलाएर हत्या गरिएको अनुसन्धानले पुष्टि गरेको छ ।

१ गते विवाह भोजमा गएकी रेश्मा भनेर चिनिने दुतियालाई निरन जर्गामगरले चाउचाउ र फ्रुटीको लोभ देखाएर बलात्कार गरेका थिए । प्रहरीको अनुसन्धानबाट पक्राउ परेका मगरले बालिकालाई खोलाको बाटो हुँदै उत्तरतर्फ अन्दाजी २ सय मिटर टाढाको पोखरीको पश्चिमतर्फको उखुबारीमा लगेका थिए ।

खेतमा पुर्याएपछि बालिकालाई चाउचाउ र फ्रुटी खान दिई उनले जबरजस्ती करणी गरेका थिए । पछि बालिकाले गाउँमा गएर पोल खोल्ने डरले उनले घाँटी थिचेर हत्या गरिदिए ।

हत्यापछि बालिकाको शवलाई लुकाउने र फिंगर प्रिन्टलगायतका प्रमाण नष्ट गर्न उनले उखुको सुकेको पात, बालिकाको कपडा र चप्पल राखेर आगो लगाएको बयानमा बताएका थिए । मगर हाल पुर्पक्षका लागि थुनामा छन् ।

त्यस्तै, २०७७ भदौमा बैतडी की १७ वर्षीया भगिरथी विद्यालयबाट घर फर्कदै गर्दा बलात्कारको सिकार भई मृत्युवरण गर्न बाध्य भइन् ।
प्रहरीको अनुसन्धानले अभियुक्तलाई पक्राउ गरेतापनि उचित रुपमा न्याय नपाइएको पीडित पक्षको गुनासो छ । बझाङकी १२ वर्षीया सम्झना कामीलाई २०७७ साल असोज ७ गते मन्दिरभित्रै बलात्कार गरेर हत्या गरियो ।

बलात्कारका उजुरी मात्रै ३१ हजार बढी

बलात्कार जस्ता जघन्य अपराध दिनप्रतिदिन बढ्दो छ । पछिल्लो ५ वर्षमा मात्रै ३१ हजार भन्दा बढी बलात्कारका घटनाहरु दर्ता भएको छ ।

नेपाल प्रहरीको तथ्याङ्कअनुसार पछिल्लो ५ वटा आर्थिक वर्षमा ३१ हजार ८ सय १५ वटा बलात्कारका घटनाहरुको उजुरी परेको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) बसन्त कुँवरका अनुसार आर्थिक वर्ष २०७३/०७४ देखि २०७७/०७८सम्मको समय अवधीमा मात्रै ३१ हजार ८ सय १५ वटा बलात्कारविरुद्धको उजुरी परेका छन् ।

आर्थिक वर्ष २०७३/०७४मा १ हजार ४ सय ७, आ.व.२०७४/०७५ मा २ हजार २ सय ७, आ.व.७५/७६ मा ३ हजार १६, आ.व.७६/७७मा २ हजार ८ सय ३३ र आ.व. ७७/७८ मा ३ हजार २ सय ७२ गरी जम्मा ३१ हजार ८ सय १५ वटा बलात्कारका घटनाहरु दर्ता भएका छन् ।

पछिल्लो ५ वर्षको तथ्याङ्कलाई हेर्दा बलात्कारका घटनाहरु झनै बढ्दै गएको छ ।

घरेलु हिंसाका घटना पनि उस्तै

बलात्कारसँगै घरेलु हिंसा समेत बढेको छ । पछिल्लो ५ वर्षमा मात्रै झण्डै ६५ हजार घरेलु हिंसाका घटनाहरुको प्रहरीमा उजुरी परेको छ । पछिल्लो ४ वटा आर्थिक वर्षमा मात्रै ६४ हजार ५ सय ९८ वटा घरेलु हिंसाका घटनाहरु दर्ता भएका छन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुँवरका अनुसार आर्थिक वर्ष २०७३/०७४मा ११ हजार ६ सय २९ , आ.व.२०७४/०७५ मा १४ हजार २ सय ३२, आ.व. ७५/७६मा ११ हजार ७ सय ३८, आ.व.७६/७७ मा १४ हजार ७ सय ७४ र आ.व. ७७/७८ मा १२ हजार २ सय २५ गरी जम्मा ६४ हजार ६ सय ९८ वटा घरेलु हिंसाका घटनाहरु विरुद्ध उजुरी परेका छन् । जसमध्ये १० हजार ६ सय ९८ वटा उजुरी उपत्यका बाट नै दर्ता भएका छन् ।

किन बढ्दैछ महिला हिंसा ?

महिला हिंसा अर्थात महिलामाथिको दुव्र्यहार । महिलामाथि गरिने अश्लिल क्रियाकलाप होस् या दुब्र्यवहार सबै महिला हिंसा अन्तर्गत पर्छ । बलात्कार जघन्य अपराध रहँदारहँदै पनि महिला हिंसा पनि हो ।

पारिवारीक तनाव, मानसिक समस्या, मानसिक असन्तुलन, प्रतिशोधको भावना, यौन ज्ञानको कमी, महिलाको उच्छृंखल क्रियाकलापले गर्दा समेत बलात्कारका घटना बढेको मनोविद्हरुको भनाइ छ ।

सेक्स एडिक्सनका कारणले समेत बलात्कारका घटनाहरु बढ्ने मनोविद्हर बताउँछन् । ‘सेक्स एडिक्सन’ एक मानसिक समस्या हो जसले बलात्कार तथा यौन हिंसाका घटनामा मलजल गरेको छ’, मनोविद् गोपाल ढकाल भन्छन्, ‘यो लत लागेको मान्छेले जसरी पनि आफ्नो सन्तुष्टि पूरा गर्न खोज्छ तर जस्तोसँग यौन सम्बन्ध राखेता पनि यौन चाहना हुँदैन ।’

एडिक्कटेड व्यक्तिले कोसँग सम्बन्ध राख्दा ठीक होला भनेर यौन चाहना मेटाउन धेरैसँग सम्बन्ध राख्ने तर चाहना नमेटिने ढकाल बताउँछन् ।

मनोविद् ढकालको समूहले गरेको एक सर्वेक्षणका अनुसार सानोमा यौन दुब्र्यवहारमा परेका व्यक्तिले समेत ठूलो भएर बलात्कारका घटना घटाएको पाइएको छ । ‘सानोमा यौन हिंसा, यौन शिक्षाको अभाव, सामाजिक सञ्जाल, ‘पोर्न साइट’को सहज पहुँचका कारणले समेत बलात्कारका घटनामा वृद्धि भएको छ ।’– उनले भने ।

दया दुदराज

<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>

प्रतिक्रिया