बुधबार, चैत ६, २०८१

रोजगार अनुमति प्रणाली सञ्चालन निर्देशिका पहिलो संशोधन स्वीकृत गर्ने निर्णय

मेरोन्यूज २०७८ असोज १९ गते १८:४४

काठमाडौं । सरकारले रोजगार अनुमति प्रणाली सञ्चालन तथा व्यवस्थापन पहिलो संशोधन निर्देशिका २०७८ लाई स्वीकृत गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सो रोजगार अनुमति प्रणाली सञ्चालन तथा व्यवस्थापन पहिलो संशोधन निर्देशिका २०७८ लाई स्वीकृत गर्ने निर्णय गरेको हो ।

रोजगार अनुमति प्रणाली सञ्चालन निर्देशिका पहिलो संशोधन स्वीकृत गर्ने निर्णयसँगै मन्त्रिपरिषद् बैठकले केही बढुवा तथा नियुक्ति गरेको छ ।

मन्त्रिपरिषद् बैठकले नेपाल प्रशासन सेवा तर्फको राजपत्रांकित विशिष्ट श्रेणी पदमा सहसचिव रविलाल पन्तलाई बढुवा गर्ने निर्णय गरेको छ ।

वैदेशिक रोजगार न्यायाधिकरणको रिक्त सदस्यमा सहन्यायाधिवक्ता डा. गोपिचन्द्र भट्टराईलाई तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

यस्तै, बैठकले ऋण असुली न्यायीकरणको रिक्त कानून सदस्य पदमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव विष्णुप्रसाद रेग्मीलाई नियुक्ति गर्ने निर्णय गरेको पनि मन्त्री कार्कीले जानकारी दिए ।

मंगलबारको मन्त्रिपरिषद् बैठकले विद्युतीय राहदानी बुकलेटमा उल्लेख हुने सुरक्षा विशेषताहरु स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया