शनिबार, फागुन ३, २०८१

कांग्रेस महाधिवेशन पुनः सार्ने तयारी

अधिवेशनको गति सुस्त

मेरोन्यूज २०७८ असोज २२ गते ९:११

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको महाधिवेशन फेरि सर्ने भएको छ । कार्यतालिका अनुसारका मातहतका अधिवेशन सम्पन्न हुन नसकेका र केही जिल्लामा क्रियाशील सदस्यताको विवाद मिल्न नसकेकाले पुनः महाधिवेशन सार्ने तयारीमा नेताहरू लागेका हुन् । कांग्रेसले आगामी मंसिर ९ देखि १३ गतेसम्मका लागि पार्टीको १४ औं महाधिवेशनको मिति निर्धारण गरेको छ ।

Advertisement
IMEnabil

त्यो समय आउन साढे एक महिनामात्रै बाँकी रहेको अवस्थासम्म कांग्रेसले केन्द्रीय निर्वाचन समितिलाई तीन जिल्लाको क्रियाशील सदस्यताको फाइल विवादका कारण दिन सकेको छैन । निर्वाचन समिति सदस्य गोपालकृष्ण घिमिरेले पार्टीले रौतहट, बारा र रसुवाको फाइल निर्वाचन समितिलाई नदिएको जानकारी दिए ।

विवाद टुंगिएको भनिएका केही जिल्लाको क्रियाशील सदस्यताबारे पनि व्यापक विवाद छ । जसका कारण वडा अधिवेशन हुन सकेको छैन । नेता कृष्णप्रसाद सिटौला नेतृत्वको डा. मीनेन्द्र रिजाल र रमेश लेखक सदस्य रहेको समितिले टुंग्याए पनि जिल्लामा नेता कार्यकर्ताले त्यसलाई नस्वीकार्दा विवाद देखिएको छ । त्यो मिलाउन केन्द्रीय नेतृत्व लागेको देखिएको छैन ।

दसैंअघि हिमाली २१ जिल्लाको जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय केन्द्रीय निर्वाचन समितिले गरेको थियो । तर अहिलेसम्म ११ जिल्लाको नतिजामात्रै आएको छ । निर्वाचन समिति सदस्य घिमिरेका अनुसार दोलखा, रामेछाप, हुम्ला ताप्लेजुङ, संखुवासभा, गोरखा, मनाङ, मुस्ताङ, कालिकोट, मुगु र बाजुराको नतिजा आएको छ ।

नतिजा आएका ११ जिल्लामा जितेका सभापति संस्थापनका ५ र संस्थापन इतरका ५ छन् । मनाङ सभापति शंकर गुरुङ, हुम्ला सभापति मोहनविक्रम सिंह, ताप्लेजुङ सभापति गजेन्द्र तुम्याहाङ, रामेछाप सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) र रुकुमपूर्वका सभापति केशरमान रोका संस्थापन निकट हुन् । त्यस्तै संस्थापन इतरबाट मुस्ताङमा रोमी गौचन थकाली, कालिकोटमा अम्मबहादुर शाही, संखुवासभामा दीपक खड्का, गोरखामा नन्दप्रसाद न्यौपाने, दोलखामा बर्मा लामा र बाजुरामा रामसिंह रावलले सभापति जितेका छन् ।

बाँकी १० जिल्ला दसैं अगाडि सकिने सम्भावना कम रहेको सदस्य घिमिरेले बताए । नसकिएका जिल्लाको दसैं र तिहारबीचमा गर्ने तयारीमा आफूहरू लागेको उनको भनाइ छ । अहिलेसम्म ७६३ पालिका मध्य जम्मा ५२० पालिकाको मात्रै अधिवेशन सम्पन्न भएको छ । एक प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका बाहेकका जिल्लामा केहीमा पालिका अधिवेशन नै भएको छैन । त्यसपछि प्रदेश सभा क्षेत्रीय अधिवेशन, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन, जिल्ला अधिवेशन गर्न बाँकी नै छ ।

त्यसबाहेक प्रदेश अधिवेशन पनि गर्न पर्नेछ । यसले केन्द्रीय महाधिवेशन तोकिएको समयमा गर्न सक्ने सम्भावना नरहेको निर्वाचन समिति र कांग्रेसका नेताहरू स्वयंले बताउन सुरु गरेका छन् । नेताहरूले निर्वाचन आयोगलाई पनि महाधिवेशनको प्रक्रिया सुरु गरेको र धमाधम मातहतका समितिहरूमा अधिवेशन भइरहेकाले केन्द्रमा भने केही दिन महाधिवेशनको कार्यतालिका परिवर्तन हुने जनाउँ दिएको र आयोगले अनौपचारिक रुपमा स्वीकृती दिएको बालुवाटार स्रोतले जनायो ।

बीचमा ठूला चाडपर्व दसै,ं तिहार, नेपाल सम्वत र छट परेको र समय कम रहेकाले सम्भव हुँदैन कि भन्ने विषयमा नेताहरूबीच छलफल चलिरहेको एक नेताले जानकारी दिए ।

प्रतिक्रिया