सोमबार, मंसिर २२, २०८२

बाग्मतीमा विश्वासको मतमाथि कात्तिक १० मा मतदान

मेरोन्यूज २०७८ कार्तिक ४ गते १८:२६

काठमाडौं । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि आगामी कात्तिक १० गते मात्रै मतदान हुने भएको छ ।

मुख्यमन्त्री शाक्यले विहीबार विश्वासको मत सम्बन्धि प्रस्ताव पेश गरेकी थिइन् ।

शाक्यले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल सकिएपछि बैठक कात्तिक १० गतेसम्मका लागि स्थगित भएको छ ।

सभामुख सानुकुमार श्रेष्ठले कात्तिक १० गतेसम्मका लागि बैठक स्थगित गरेका छन् ।

विपक्षी गठबन्धनले भने गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्रीमा अघि सारेको छ ।

बैठकमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्मकट्टेल, नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र पाण्डे र जनता समाजवादी पार्टीका सांसद प्रेमबहादुर तामाङले मुख्यमन्त्री शाक्यलाई विश्वासको मत दिन नसक्ने बताएका थिए ।

बागमती प्रदेश सभाको असोज २४ गते बसेको बैठकमा मुख्यमन्त्री शाक्यले पेश गरेको विश्वासको मत सम्बन्धि प्रस्तावमाथि बिहीवार बसेको प्रदेशसभाको बैठकमा शुरु भएको छलफलमा भाग लिदैँ मुख्यमन्त्री शाक्यले आफु नेपालको संविधानको पालना र कार्यान्वयन गरी सामाजिक न्याय, लोकतन्त्र र मानव अधिकारको सुनिश्चितता प्रदान गर्ने संकल्प साथ मुख्यमन्त्री बनेको भन्दै आफुलाई साथ दिनका लागि प्रदेश सभा सदस्यहरु समक्ष आग्रह गरिन् ।

आफ्नो छोटो अवधिमा प्रदेश सरकारले जनताले अनुभुत गर्नेगरी आफ्ना कार्यक्रम अगाडि बढाउन सफल भएको शाक्यले बताइन् ।
नेकपा(माओवादी केन्द्र)का प्रदेश संसदीय दलका नेता शालिकराम जमकट्टेलले मुख्यमन्त्री शाक्य व्यक्तिगत रुपमा विश्वासको मत दिन लायक व्यक्ति भएपनि राजनीतिक रुपमा दिन नमिल्ने बताए ।

नेपाली कांग्रेसका प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले वर्तमान गठबन्धन आगामी निर्वाचनसम्म जाने उल्लेख गरे । विश्वासको मत लिने प्रक्रियालाई छिट्टै टुंग्याउन पनि उनले सभामुख समक्ष आग्रह गरे ।

नेकपा(एकीकृत समाजवादी)का संसदीय दलका नेता राजेन्द्र प्रसाद पाण्डेले संविधान, संघीयता र समावेशीताको रक्षाको निम्ति गठबन्धन बनेको भन्दै गठबन्धनलाई अगाडि बढाएर लैजाने बताए ।

उनले मुख्यमन्त्री शाक्य अल्पमतमा परेको ३९ दिन भइसकेको भन्दै मार्गप्रशस्त गर्न पनि शाक्यलाई आग्रह गरे ।

नेकपा(एमाले)का सांसद रामेश्वर फुँयालले मुलुकमा स्थिरता र समाजवादी निर्माण गर्ने हो भने मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यलाई मतदान गर्न अनुरोध गरे ।

जनता समाजवादी पार्टीका सांसद प्रेम तामाङले अहिले प्रतिगमन र अग्रगमनकारीबीचको लडाइँ चलिरहेको बताए । उनले लोकतन्त्र र समाजवादको नेतृत्व गरिराखेका नेता राजेन्द्र पाण्डेको पक्षमा आफूहरु रहेको स्पष्ट गरे ।

विवेकशिल साझा पार्टीका सांसद रमेश पौडेलले संसद विघटनको सन्दर्भमा सर्वोच्च अदालतले संवैधानिक नैतिकताको विषय उठाएर फैसला गर्दा समेत गल्ती महशुस नगर्ने केपी ओलीको पक्षको मुख्यमन्त्री रहेको भन्दै आफुहरु विश्वासको मत दिने या नदिने भन्ने विषयमा अलमलमा परेको बताए ।

सर्वोच्च अदालतले संवैधानिक नैतिकताको सहित विषय उठाएर लामो फैसला दिइसकेपछि पनि त्यसमा गल्ती बोध नगर्ने, पश्चाताप नगर्ने केपी ओली प्रवृतिलाई आजको मुख्यमन्त्रीले साथ दिइरहेकोमा दुःख लागिरहेको उनको भनाइ थियो ।

प्रतिक्रिया