एमालेले भन्यो : महाधिवेशनको तयारी शुरु भयो

भरतपुर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टीको दशौं महाधिवेशनको तयारी शुरु भएको बताएको छ । मंसिर १० देखि १२ सम्म चितवनमा दशौं महाधिवेशन गर्ने निर्णय गरेको एमालेले महाधिवेशन स्थल चितवनमै आज पत्रकार सम्मेलनको आयोजना गरी महाधिवेशनको तयारी शुरु गरिएको बताएका थिए ।
गत असोज १५ देखि १७ सम्म ललितपुरको गोदावरीमा सम्पन्न विधान महाधिवेशनमा ओलीले दशौं महाधिवेशन वुटवलमा गर्ने संकेत गरेपनि विहिवारको पार्टी स्थायी कमिटि बैठकले महाधिवेशन चितवनमा गर्ने र चितवननै कर्मथलो बनाई राजनीति गरिरहेका स्थायी कमिटि सदस्य रामवहादुर थापा (बादल)लाई महाधिवेशन ब्यवस्थापन समितिको संयोजक बनाउने निर्णयलिएपछि चितवन एमालेले आज पत्रकार सम्मेलन गरि तयारी शुरु गरेको जनाएका हुन् ।
यस अगाडी बाग्मति प्रदेश अध्यक्ष आनन्द पोखरेलले वाग्मतिलाई दशौं महाधिवेशन आयोजना गर्न दिनुपर्ने प्रस्ताव पार्टी समक्ष गरेका थिए । सोही आधारमा विहिवारको स्थायी समितिले चितवनमा महाधिवेशन आयोजना गर्ने निर्णय लिएको हो । एमालेले चितवनलाई नै महाधिवेशनस्थल चयन गर्नुभित्रको अनेक वहुआयामिक कारण रहेको चर्चा यतिवेला हुन थालेको छ ।
प्रतिस्पर्धी नेता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको गृहजिल्ला र प्रचण्डका छोरी रेणु दाहाल मेयर रहेको चितवनमा महाधिवेशन आयोजना गरेर ओलीले प्रचण्डमाथी दवाव बढाउन खोजेको अर्थमा एमालेले यो महाधिवेशनस्थललाई लिएको छ ।
शुक्रवार विहान भरतपुरको एक होटलमा पत्रकार सम्मेलन गरी एमाले वाग्मति प्रदेश अध्यक्ष पोखरेलले तयारी शुरु गरिएको जनाएका हुन् । उनले चितवन महाधिवेशनपछि एमाले २०७४ को चुनावमा भन्दा ठूलो पार्टी बनेर उदाउने जिकिर गरे । पाँच दलीय गठबन्धन एकतर्फ र एमाले एकातर्फ हुँदा पनि एमाले नै ठूलो शक्तिका रुपमा उदाउने गरी चितवन महाधिवेशनबाट एमाले देशमा उदाउने जिकिर पोखरेलको थियो ।
महाधिवेशनका लागि एमालेले कसैसग पनि चन्दा नलिने बताएको छ । पत्रकार सम्मेलनमा वागमति अध्यक्ष पाखेरेलले महाधिवेशनकै लागि भनेर कसैसाग पनि चन्दा नउठाइने बताए ।
उनले महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनार वा अन्य ठूलो क्षेत्रमा गर्ने गरी ठाउँको खोजी भईरहेको बताए ।
‘महाधिवेशनको उद्घाटन सत्र कहाँ गर्ने, बन्द सत्र कहाँ गर्ने, के कस्तो व्यवस्थापनको विधि अपनाउने सबै निर्णय गरेर एक साताभित्र हामी गरिसक्छौं’ पोखरेलले भने ।
प्रतिक्रिया