रामपुरको छाङ्दी झरनामा पर्यटकको आकर्षण

रामपुर । पहाडको कुनाकन्दारबाट कलकल गर्दै बहेको छाङ्दी झरना देख्दै मनमोहक छ । मनै लोभ्याउने यस झरनाले पर्यटक तानिरहेको छ । विशेषगरी सामाजिक सञ्जाल फेसबुकमा तस्वीर राख्न थालेपछि झरनामा रमाउँन जाने ह्वात्तै बढेका छन् ।
फेसबुकमा झरनासँगै रमाउँदै खिचेका तस्वीर आउन थालेपछि झरना अवलोकनमा आउँदा अति सुन्दर र मनमोहक रहेको दिपेन्द्र भट्टराईले बताए । रामपुर नगरपालिका–१ स्थित चिन्ते सामुदायिक वन क्षेत्रमा रहेको छाङ्दी झरना अहिले पर्यटकको रोजाइमा परेको छ । हिजोआज यहाँ अवलोकन गर्न जानेको चहलपहल निकै छ । प्रचारप्रसारको अभाव र संरक्षणविहीन बनेको यस झरनाले सामाजिक सञ्जालमा तस्वीर छाएकै कारण पर्यटक तानिरहेको छ ।
कालीगण्डकी करिडोर सडकखण्डदेखि करिब ४०० मिटरमाथि रहेको यस झरनामा अहिले दैनिकजसो १५० देखि २०० को हाराहारीमा आन्तरिक पर्यटक आउने गरेको स्थानीयवासी नारायणप्रसाद सिग्देलले बताए ।
भौगोलिक बनोटले अत्यन्तै मिलेको यस क्षेत्र यहाँको झरनासम्म पुग्ने मोटरबाटोको स्तरोन्नति, सरसफाइ तथा पैदलमार्ग निर्माण कार्य जस्ता पूर्वाधार विकासमा जोड दिनसकेमा पोखरा आएका बाह्य पर्यटक रामपुरमा भित्रिने रामपुर उपत्यका पर्यटन विकास समितिका अध्यक्ष श्यामकान्त खनालले बताए ।
“प्राकृतिकरुपमा उत्पत्ति भएको झरना अवलोकन गर्दा अति नै मनमोहक छ, सुन्दर र पर्यटनको धेरै सम्भावना बोकेको यस झरनाको प्रचारप्रसार तथा यहाँ पर्यटकीय पूर्वाधार विकासका काम गर्नु जरुरी देखिन्छ, यसको विकासमा स्थानीय सरकारसँग सहकार्य गरी समितिले सक्दो सहयोग गर्नेछ”, उनले भने ।
झरनासँगै चमेरा गुफा पनि छ । यसले थप पर्यटकको आकर्षण बढाएको छ । बाहिर माथिबाट कलकल झरेको चिसो झरनाको पानीसँगै त्यही झरनाभित्र गुफा रहँदा पनि यसले पर्यटन क्षेत्रको धेरै सम्भावना बोकेको लक्ष्मीनारायण गुणी सञ्चालन समितिका अध्यक्ष बुद्धिप्रकाश रेग्मीले बताए ।
“बाहिर माथिबाट झरनाको पानी बहेको छ, त्यही झरनाभित्र गुफा लुकेको रहेछ, त्यहाँभित्र पसेर अवलोकन गर्दा विभिन्न भगवान्का आकृति छन्, गुफा र झरना एकै ठाउँमा रहँदा पनि पर्यटन विकास गरेर प्रशस्त आयस्रोत भित्र्याउन सकिन्छ”, उनले भने ।
यहाँ रहेको गुफाभित्र २० देखि २५ जनासम्म मानिस अट्ने क्षमता रहेको अवलोकनकर्ता बताउँछन् । यहाँ रहेको गुफामा भने झाँक्रीले पहिले बासस्थान बनाएर बस्ने गरेको बुढापाका बताउँछन् ।
वन समूहले कालीगण्डकी करिडोर सडकदेखि झरनासम्म पुग्न पर्यटकलाई सहज बनाउँदै बाटो निर्माण गरेपछि झरनाको चिसो पानीसँग रमाउने, गुफाभित्र अवलोकन गर्ने, तस्वीर, भिडियो खिचाउने र टिकटक बनाउनेको उत्साह छ ।
पर्यटकीयरुपमा सम्भावना बोकेको भए पनि समयमा नै प्राकृतिक सम्पदाको संरक्षण र स्तरोन्नति तथा प्रचारप्रसार नहुँदा पनि यो झरना ओझेलमा रह्यो । सामाजिक सञ्जाल (फेसबुक) मा धेरैले झरनासँगै रमाउँदै गरेको तस्वीर राख्न थालेपछि अहिले आन्तरिक पर्यटकको खचाखच छ ।
झरनाको माथिल्लो भागमा ढभाह खोला, छाङ्दी पधेँरा, छापको पधेँरा, ढभाह चिसोपानीको मूल र दुई वटा झरना, सनसरीमाइको पूजा गर्ने मन्दिर छ । करिब १५० मिटरको लम्बाइमा झरना आकारमा पानी बहेको छ ।
रामपुर नगरपालिकाले विनियोजन गरेको एक लाखबाट झरना परिसरमा पैदलमार्ग निर्माण गरिएको वडा नं १ का अध्यक्ष मित्रलाल कँडेलले बताए । उनले भने, “वन क्षेत्रभित्र रहेको झरना र गुफा रामपुर नगरका पर्यटकीय गहना हुन्, प्रचारप्रसारको कमीले गर्दा पनि ओझेलमा परेको यस क्षेत्रको अब पर्यटन विस्तारको काम अगाडि बढ्नेछ, वडा र नगरपालिकाबाट बजेट विनियोजन गरेर पूर्वाधार विकास गरी पर्यटक भित्र्याउने योजना छ ।”
पर्यटनको धेरै सम्भावना बोके पनि यसमा सम्बन्धित निकायको ध्यान नजाँदा यो झरना ओझेलमा परेको ७० वर्षीय स्थानीय गङ्गाप्रसाद सिग्देलले बताए । “बाल्यकालदेखि नै यहाँ माथिबाटै ठूलो आवाजमा छङछङ गरेर झरेको झरना हेर्न आइन्थ्यो, झरनामा नुहाउने खेल्ने गरेर बाल्यकाल बित्यो, अहिले बुढेसकाल पनि लाग्यो, तर झरना पहिलेकै जस्तै छ, यसको विकासमा कसैको पनि नजर नपुग्दा परिवर्तन भने केही हुन सकेन”, उहाँले भने ।
झरना आसपासका क्षेत्रमा रहेका झाँडी सरसफाइ, पैदलमार्ग निर्माण कार्य गर्न सकेको खण्डमा रामपुर नगरले राम्रो आयस्रोत लिनसक्ने प्रशस्त सम्भावना छ । झरनाको पानीलाई सदुपयोग गर्दै रेन्बो ट्राउट माछापालन व्यवसाय गरी आर्थिकोपार्जन गर्न सकिन्छ ।
रामपुर नगरपालिकाले झरनालाई विशेष गुरुयोजना बनाएर पर्यटकीय क्षेत्रका रुपमा विकास गरेको खण्डमा यहाँ होमस्टे, रेष्टुरेन्ट सञ्चालन गरी स्थानीयले दरिलो आयआर्जनको स्रोत बढाउन सक्ने यहाँका व्यापारी कृतिनाथ श्रेष्ठको भनाइ छ । सुशीला रेग्मी/रासस
















29 dead, 190 injured in six months in Sarlahi
HoR election: 1,442 employees to be deployed in Baitadi
दलका घोषणापत्रमा आर्थिक मुद्दाले प्राथमिकता पाउन सकेनन् : अध्यक्ष ढकाल
32 days to HoR elections: Ballot papers printed for 18 constituencies in 15 districts
वीरगन्ज हुँदै ६ महिनामा ७ अर्ब ६४ करोडको दलहन भित्रियो
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
प्रतिक्रिया