एमालेमा १० बुँदे सम्झौतामा थप विवाद, भीम रावलले संयोजकबाट दिए राजीनामा
एमालेले कात्तिक १२ गतेका लागि बोलायो पार्टी केन्द्रीय कमिटिको बैठक

काठमाडौं । नेकपा एमालेमा १० बुँदे सहमतिका विषयमा अध्यक्ष केपी ओलीले दिएको अभिब्यक्ति र सम्झौतालाई लिएर थप विवाद निम्तिएको छ ।
उपाध्यक्ष समेत रहेका तथा १० बुँदे सहमति कार्यान्वयनका लागि गठित कार्यदलका संयोजक समेत रहेका भीम रावलले संयोजक पदवाट पार्टीको स्थायी समिति बैठकमा राजीनामा घोषणा गरेका छन् ।
उनले १० बुँदे सहमति कार्यान्वयन नभएको र कार्यान्वयनको दिशामा अध्यक्ष ओली नै उदासिन देखिएको भन्दै असन्तुष्टि जनाएर राजीनामा घोषणा गरेका हुन् ।
‘कार्यदलमा भएको छलफल र पार्टीले गरेको निर्णयसमेत मान्य नहुने भएपछि त्यो कार्यदलमा बसिरहनुभएको कुनै औचित्य नहुने भएकाले महिले पार्टी बैठकमा राजीनामा दिएको छु, उपाध्यक्ष रावलले मेरोन्यूजसँग भने । उनले पार्टी बैठकमा यस बारेमा आफनो लिखित धारणा पनि राख्ने बताए ।
‘आफनो राजीनामा लिखित रुपमा पार्टी अध्यक्षलाई पठाउने पनि रावलले जानकारी दिए । मैले राजीनामा दिएको छु । त्यसको लिखित जानकारी नै अध्यक्षलाई पठाउने छु,’ रावलले भने ।
रावलले बैठकमा यस सम्वनधमा ५ पृष्ठ लामो आफनो मत पार्टी बैठकमा दर्ज गराएको बताएका छन् । रावलको मतमा उपमहासचिव घनश्याम भुसालले पनि सहमति जनाएको रावलको भनाई छ ।
स्थायी कमिटीले दुई जना नेतालाई केन्द्रीय कमिटी सदस्य मनोनित गरेकामा पनि असहमति जनाएका छन् । पूर्व माओवादी धारका नेता प्रभु साहको मागका आधारमा एमाले स्थायी कमिटिले दुई जना नेतालाई केन्द्रीय कमिटिमा थप गर्ने निर्णय लिएको थियो । यसमा पनि रावलले असन्तुष्टि जनाएका हुन् ।
रावलले दुई दिनअघि मात्रै सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै १० बुँदे सहमति संस्थागत भइसकेको र सबैले ठण्डा दिमागले सुन्नु स्वास्थ्यका लागि लाभदायक रहेको उल्लेख गरेका छन् ।
‘१० बुँदे सहमति ‘एकतारे’ होइन पार्टी एकता बचाएर देशहितको लागि बजाइएको ११ तारे विगुल हो । यसको धुन संस्थागत भइसकेको छ । सबैले ठण्डा दिमागले सुन्नु स्वास्थका लागि लाभदायक छ ।’– उनको लेखका छन् ।
एमालेले बोलायो केन्द्रीय कमिटि बैठक
एमालेले पार्टीको केन्द्रीय कमिटिको बैठक बोलाएको छ । विहिवार र शुक्रवार बसेको स्थायी समिति बैठकले पार्टीको दशौं महाधिवेशन चितवनमा गर्ने र चितवन महाधिवेशनका बारेमा थप आवश्यक निर्णय लिनका लागि कात्तिक १२ गते केन्द्रीय कमिटिको बैठक बोलाउने निर्णय लिएको हो ।
एमालेले ६ कात्तिकमा देशैभर एकैपटक वडा अधिवेशन र कात्तिक ९ मा देशैभर पालिका अधिवेशन गर्ने यस अगाडी नै कार्यतालिका बनाएको छ । त्यसका लागि देशैभर अध्यक्ष ओलीले अधिवेशनको भर्चुअल माध्यमबाट उदघाटन गर्ने र सकभर सहमतिमा नेतृत्व चयन गर्न ८ वुँदे विशेष परिपत्र समेत केन्द्रीय कार्यालयको तर्फबाट गरिसकेको छ ।
वडा र पालिका अधिवेशन सम्पन्न गरेपछि थप अधिवेशनका बारेमा निर्णय लिनका लागि केन्द्रीय कमिटि बैठक बोलाइएको एमालेले जनाएको छ ।
एमाले स्थायी कमिटी बैठकपछि जारी विज्ञप्ति



प्रतिक्रिया