बुधबार, फागुन ७, २०८१

चितवनमा पहिलोपटक भैँसी सम्मेलन हुँदै

मेरोन्यूज २०७८ कार्तिक ६ गते १५:०६

काठमाडौं । चितवनको रामपुरमा सोमवारदेखि भैंसी सम्मेलन हुने भएको छ । नेपालमै पहिलो पटक दसौँ एसियन भैँसी सम्मेलन गर्न लागिएको हो । सम्मेलन भर्चुअल माध्यमबाट हुने भएको छ ।

भैँसीपालन, व्यवस्थापन, बजारीकरण, उपयोगितालगायत बारेमा नवीनतम् वैज्ञानिक खोज, अनुसन्धान र प्रसार प्रविधिद्वारा भैँसीपालनको विकास र सबलीकरणमा योगदान पु¥याउने उद्देश्यका साथ उक्त सम्मेलन आयोजना गर्न लागिएको हो ।

अन्तर्राष्ट्रिय सम्मेलनको आयोजकमा कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, एसियन बफेलो एसोसिएसन र इन्टरनेसनल बफेलो फेडेरेसन छन् ।

दसौँं एसियन बफेलो कंग्रेस आयोजक समितिका अध्यक्ष प्राडा भूमिनन्दन देवकोटाले सम्मेलन भर्चुअल विधिबाट हुने शनिवार चितवनमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

अध्यक्ष देवकोटाका अनुसार भैँसी सम्मेलनमा १७ देशका विज्ञले सात विधामा १३५ भन्दा बढी कार्यपत्र प्रस्तुत गर्नेछन् । सम्मेलनमा तीन सय ५० भन्दा बढी वैज्ञानिकको सहभागिता रहनेछ ।

वैज्ञानिक, प्राध्यापक र विद्यार्थी सहभागी भएर पाँच दिनसम्म छलफल हुनेछ । भैँसीपालन, व्यवस्थापन, स्वास्थ, बजारीकरण एवम् उपयोगिताबारे भएका नवीनतम् खोज, अनुसन्धानबारे गहन छलफल हुने देवकोटाले जानकारी दिए ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय र तत्कालीन कृषि तथा पशु विज्ञान अध्ययन संस्थानले पशुविज्ञान, पशुचिकित्सा क्षेत्रका वैज्ञानिकले निरन्तर भैँसीको अनुसन्धानलाई केन्द्रमा राखेर पोषण, व्यवस्थापन, रोग निदान तथा उपचार एवम् बेमौसमी प्रजनन प्रविधिमा योगदान गर्दै आएको छ ।

बेमौसमी प्रजनन् प्रविधिबाट करिब ४७ प्रतिशत उत्पादन क्षमता भएको पाइएको छ । बेमौसमी प्रजनन कार्य किसानको गोठमा पु¥याउन विश्वविद्यालयले अध्ययन गरिरहेको छ । विश्वविद्यालयले भैँसी उत्पादनमा भएका नयाँ अनुसन्धानबारे पनि कार्यपत्र प्रस्तुत गर्ने देवकोटाले बताए ।
नेपालमा ओझेलमा परेको पशुपालनलाई उचाइ दिन यो सम्मेलन सफल हुने विश्वविद्यालयका उपकुलपति प्राडा पुण्यप्रसाद रेग्मीले बताए ।

भैँसीलाई कालो सुनका रुपमा लिइने भएकाले नयाँ प्रविधि र खोजअनुसन्धान प्रयोगमा ल्याउन सके अर्थतन्त्रमा सहयोग पुग्ने उनले बताए ।

नेपालमा दुग्ध उत्पादनमा भैँसीको करिब ६५ प्रतिशत र मासु उत्पादनमा ५५ प्रतिशत हिस्सा ओगटेको तथ्याङ्क छ । सन् २०१७ मा नेपालमा भएको सम्मेलनपछि नै विश्वविद्यालय भैँसी अनुसन्धानमा दीर्घकालीन योजना निर्माणमा लागिपरेको छ । यसका लागि भैँसी अनुसन्धान केन्द्र स्थापना गर्न लागिएको सो अवसरमा जानकारी दिइयो । सम्मेलनकै कारण वैज्ञानिकबीचको सञ्जालमार्फत ज्ञान, सीप आदानप्रदान गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

नेपालमा करिब ५२ लाख भैँसीको संख्या रहेको तथ्याङ्क छ । स्थानीय जातमा पहाडतिर लिमे, पारकोटे, गड्डी र तराईतिर तराई जात र मुर्रा जातका भैँसीपालन हुँदै आएका छन् । नेपालमा पछिल्लो समय आयातीत हाइब्रिड जातका भैँसीपालनसमेत बढ्दो क्रममा रहेको अध्यक्ष देवकोटाले जानकारी दिए ।

सम्मेलनको उदघाटन कृषि तथा पशुपक्षी विकासमन्त्री महेन्द्र राय यादवले भर्चुअल माध्यमबाटै गर्नेछन् ।

Advertisement
IMEnabil

प्रतिक्रिया