प्रचण्डले किन खोजे उपेन्द्रको साथ ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिवार सर्लाही पुगेर उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)सँग पार्टी एकताको प्रस्ताव गरे ।
मधेसको अधिकारका लागि सँगै मिलेर जाने अठोट गर्दै प्रचण्डले जसपका नेता महेन्द्र राय यादवसँग एकताका लागि छलफल गर्ने बताए । पाँच दलीय गठबन्धनमा सँगै रहेकोसमेत स्मरण गर्दै प्रचण्डले अब पार्टी एकता गरेर जानुपर्ने प्रस्ताव अघि सारे ।
मधेसको क्षेत्रीय पार्टी बनाएर नबस्न भन्दै जसपालाई माओवादी केन्द्रसँग पार्टी एकता गर्न प्रचण्डले आग्रह मात्र गरेनन्, पार्टी एकताको छिट्टै निर्णय गरेर जनकपुरमा घोषणा गर्नुपर्ने ठाउँसमेत तोके । माओवादीबिना मधेसी जनताको वास्तविक अधिकार प्राप्त नहुने दाबी गर्दै प्रचण्डले एकताको हात अगाडि बढाए ।
त्यही उपेन्द्र नेतृत्वको जसपामा प्रचण्डका लामो राजनीतिक सहयात्री डा. बाबुराम भट्टराई संघीय परिषद्का अध्यक्ष छन् । जसले पूरानै ढर्रामा अब पार्टी निर्माण नहुने भन्दै नयाँ ढंगले पार्टी निर्माण गर्नुपर्ने बताउँदै आएका छन् । डा बाबुराम भट्टराई तिनै ब्यक्ति हुन्, जसले अहिले कम्युनिस्ट विचार नै अस्वीकार गर्दै शास्त्रीय मार्क्सवादको कोरा गफले मात्र अब नहुने धारणा राख्दै आईरहेका छन् ।
किन गर्न खोजियो एकता ?
प्रचण्डले जसपासँग एकताको प्रस्ताव गर्नुअघि नै भट्टराईले आगामी चुनावमा कार्यगत एकता गरेर जानुपर्ने बताउँदै आएका छन् । भट्टराई मात्र होइन, जसपाका अन्य नेताहरु पनि साना पार्टीहरुबीच एकता गरेर जानुपर्नेमा छन् ।
ती मात्रै होइन, केपी ओली नेतृत्वको नेकपा एमालेबाट छुट्टिएका माधव नेपाल समूह पनि कुनै न कुनै एकताको च्याखे थापिरहेका छन् । राजनीतिक परिवर्तनकाबीच मुलुकमा उल्लेखनीय काम गर्न नसकेको आलोचना सबैले खेपिरहेका छन् । त्यसैले उनीहरु यो वर्षभित्रै हुने निर्वाचनमा भविष्य खोजिरहेका छन् । चुनावमा चुनावी गठवन्धनका लागि लचिलो देखिएका यी दलहरुका वीचमा पार्टी एकता नै सम्भव होला ? अहिले अनेक कोण्णवाट लेखाजोखा शुरु भएको छ ।
केन्द्र देखि प्रदेश सम्म कांग्रेस सहित माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादीसम्मको गठवन्धन सरकार बनाएपनि कांग्रेसलाई अलग गरेर प्रचण्ड, उपेन्द्र र माधव नेपालका वीचमा यो वीचमा धेरै चरणमा कुराकानी भएको छ । उपेन्द्र यादवको हात्तिवनस्थित निवासमा नै यी तीन शीर्ष नेताहरुको बेलाबखत भेटवार्ता हुँदै आएको छ । तर छलफलबाट पार्टीकै एकताका लागि भने कुनै रोडम्याप तयार हुन सकेको देखिदैन ।
आफूले बैकल्पिक शक्ति बनाउने भन्दै बनाएको नयाँ शक्तिबाट पार नलागेपछि बाबुराम बिरक्तिएर उपेन्द्रको पार्टीमा मिसिएका थिए । कुनै बेला गोरखामा एकछत्र भोट पाउने गरेका भट्टराई त्राहीमाम् छन् । सबै जना आफ्नै निर्वाचन क्षेत्रमा सुरक्षित नभएपछि चुनावी एजेण्डाका लागि मात्रै भए पनि मिलेर जानुपर्नेमा छन् ।
यथास्थितीबादी दुई शक्तिहरु कांग्रेस र एमालेको अलग्गै पहिचान र संगठनात्मक जालोका वीचमा अर्काे तेस्रो शक्ति निर्माण चुनौति देखिदै जान थालेको छ । जसकाकारण पनि माओवादी केन्द्रले जसपा, एकीकृत समाजवादी सम्मका दलहरुको एउटा धुव्र बनाउने र नयाा ढंगले क्षतविक्षत संगठनात्मक जालो विस्तार र सुढृढ गर्ने रणनीति बनाएको छ । त्यसैका लागि उसले फेरि शक्तिमा उदाउने प्रयासका लागि उपेन्द्र देखि माधव नेपालसम्मलाई फकाउने र एकताका लागि पहल लिने रणनीति अवलम्वन गर्न खोजेको देखिएको छ ।
तर प्रचण्डले यसरी एकताको आह्रावानका लागि गरेको प्रस्ताव परिपक्व नभईसकेको र आउने चुनावी गठवन्धनका लागि आधार बनाउन फालिएको कार्डका रुपमा लिन थालिएको छ ।
कसरी उदाएका थिए उपेन्द्र ?
माओवादी जनयुद्धकाबेला तत्कालिन माओवादीको क्षेत्रीय ब्यूरो सदस्यको हैसियतमा रहेका उपेन्द्र यादव क्षेत्रीय राजनीति गर्ने उद्देश्यले एनजीओको अवधारणाबाट अघि बढेका थिए ।
जतिबेला सदभावना पार्टीका रुपमा मात्रै मधेसमा राजनीति भइरहँदा नेपाली कांग्रेस पहिलो पार्टी थियो । २०५४ सालमा उपेन्द्र यादवको नेतृत्वमा विराटनगरमा विभिन्न क्षेत्रका व्यक्तिहरूको भेलाले गैरसरकारी संस्थामा रुपमा स्थापना गरिएको मधेसी जनअधिकार फोरमलाई २०६२/६३ को जनआन्दोलनपछि राजनीतिक पार्टीका रुपमा अगाडी बढाउने निर्णय लिएको थियो । त्यसपछि भने फोरम पार्टीको रुपमा दर्ता भई अघि बढ्यो ।
यादव नेतृत्वको फोरमले मधेसमा आन्दोलन थालेपछि तत्कालिन नेकपा माओवादी नै सबैभन्दा बढी फोरमप्रति रुष्ट थियो । फोरमलाई प्रतिवाद गर्ने नीति माओवादीले लिएपछि मधेसका जिल्लामा विभिन्न ठाउँमा माओवादीसँग नै झडपहरु भए । २०६३ साल माघ २ गते मधेश आन्दोलनको शुरुवात गर्दै फोरमले आन्दोलन चर्कायो । चर्किदै गएको फोरमको आन्दोलन २०६३ चैत ७ गते रौतहटको गौरसम्म आइपुग्दा फोरमका कार्यकर्तावाट २८ जना माओवादी कार्यकर्ताको हत्यासमेत भयो ।
गौरको राइसमिलमा फोरम कार्यकर्ताले निर्ममतापूर्वक भाला रोपेर माओवादी कार्यकर्ताको हत्या गरेका थिए । मधेस स्वास्यत्त राज्यको अवधारणाका साथ अघि बढेको उपेन्द्रको शक्ति बलियो हुँदै गएपछि विजय गच्छदार लगायतका अधिकांश मधेसका कांग्रेस एमालेमा रहेका नेताहरु पनि फोरमतिरै लागे । यादव नेतृत्वकै फोरमले मधेस आन्दोलनका क्रममा उठाएका ८ वटा माग मध्ये मधेश स्वायत्व राज्यको मागसहित तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारसँग ०६४ साल फागुन १६ गते ८ बुँदे सहमति भएको थियो ।
फोरम पहिलो चुनावबाटै चौथो दल बन्यो
२०६४ सालको संविधानसभा चुनावअघि मात्रै राजनीतिक दलको रुपमा निर्वाचन आयोगमा दर्ता भएको फोरमले पहिलो चुनावमै ५२ सिट जित्यो । २०६४ सालको संविधानसभा चुनावमा फोरमले प्रत्यक्ष तर्फ ३० र समानुपातिक तर्फ २२ गरी जम्मा ५२ सिट जितेर संविधानसभाको चौथो ठूलो दल बन्यो । उसले समानुपातिकतर्फ ६ लाख ७८ हजार ३ सय २७ मत प्राप्त गरेको थियो ।
मधेसमा उपेन्द्रको साख बढ्दै गएपछि विजय गच्छादार लामो समय एकै ठाउँमा रहन सकेनन् । र, मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) बनाउन लागे । पार्टी विभाजनपछि क्षेत्रीय पार्टीलाई राष्ट्रिय पार्टी बनाउने अभिष्ठका साथ एमालेबाट टुक्रिएको अशोक राई नेतृत्वको पार्टीलाई पनि आफ्नो पार्टीमा समाहित गराएका उपेन्द्रले पछिल्लो समय माओवादीबाट अलग भएका डा. भट्टराई नेतृत्वको पार्टीलाई पनि आफूसँगै मिसाए ।
फोरमको उदयसँगै एकपछि अर्को गरी मधेसी दलहरु जन्मिए । अनि, कहिले एकता कहिले विभाजन पनि उत्तिकै भइरहेका छन् ।
मधेसी दलको एकछत्र प्रयास असफल भएपछि…
मधेसी जनतालाई क्षेत्रीय रुपमा उपेक्षित रहेको भनी जनतालाई उठाउन सफल भएको उपेन्द्रको सफल प्रयत्नपछि मधेसमा आफ्नो दलले जित्नुपर्ने एकछत्र प्रयासमा मधेसवादी दलहरु छन् ।
छुट्टाछुट्टै लडेर मधेस कब्जा गर्न नसकिने भएकैले टुक्रा टुक्रीको अवस्थामा रहेका महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी लगायतका नेताहरुले एउटै पार्टी बनाएर पनि अभ्यास गरे । तर शक्तिमा पुग्न जहाँबाट जहाँ पनि जान सक्ने चरित्रका कारण मधेसवादी दलहरुप्रति मधेसी जनता नै विश्वस्त हुन नसकिरहेका बेला माओवादी अध्यक्ष प्रचण्डले उपेन्द्रकै पार्टीसँग एकताको अर्को पासा फालिरहेका छन् । आफूलाई मधेसको मसिहा भन्ने महन्थ ठाकुर र राजेन्द्र महतो मधेसविरोधी रहेको भन्दै प्रचण्डले उपेन्द्रको साथ खोजिरहेका छन् ।
सत्ता राजनीतिको केन्द्रमा प्रचण्ड जहिल्यै पनि रमाउन चाह्ने नेता हुन् । त्यसैकारण पनि उनी उपेन्द्र यादव, माधव नेपाल लगायतका पार्टीहरुसँग एकता गरेर नयाँ कांग्रेस, एमालेको विकल्पको तेस्रो बलियो धार निर्माण गर्न चाहिरहेका छन् । त्यसरी नयाँ धार निर्माण गर्न सके फेरि पनि अर्को पाँच वर्ष सत्ता राजनीतिमा आफ्नो प्रभुत्व कायमै राख्न पाउने प्रचण्डले ठानेका छन् ।
प्रतिक्रिया