सत्तारुढ गठबन्धन भत्काएर प्रतिक्रियावादी गठबन्धनको कसरत भयोः प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ गठबन्धनलाई तोड्ने षड्यन्त्र भइरहेको बताएका छन् ।
सोमवार नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीले दशैँ, तिहार छठ तथा नेपाल सम्वत् ११४२ को अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले वर्तमान सत्तारुढ गठबन्धन तोड्नका लागि अनेकौँ षडयन्त्रहरु भइरहेको दाबी गरे ।
गठबन्धनलाई भत्काएर प्रतिक्रियावादी गठबन्धन बनाउने कसरत भएको प्रचण्डको भनाई छ ।
गठबन्धनभित्र वैचारिक र राजनीतिक रुपले कमजोर पात्रलाई प्रयोग गर्नका लागि खोजि भइरहेको पनि उनले जिकिर गरे ।
वैदेशिक शक्तिहरु गठबन्धन कमजोर पार्ने उपायको खोजिमा लागिरहेको पनि उनले बताए ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विगतका सरकारले रोकेका सबै विधेयकहरु पारित गराउनेतर्फ बर्तमान सरकार लागि परेको पनि बताए ।
निजामती ऐन, प्रहरी ऐन लगायतका ऐनलाई छिटोभन्दा छिटो अगाडि बढाउने उनले बताए । समितिबाट पारित भएका अन्य सबै विधेयकहरुलाई सरकारले अगाडि बढाउने उनले स्पष्ट गरे ।
माओवादी अध्यक्ष प्रचण्ड आगामी निर्वाचन अघि नै बलियो गठबन्धन बनाएर निर्वाचनमा जाने तयारीमा छन् । एक्लै निर्वाचनमा जाँदा लज्जाजनक पराजय ब्यहोर्नुपर्ने भएकाले उनले गठबन्धनको सहारा खोजिरहेका छन् ।
प्रतिक्रिया